नेपाल सुन्दर, शान्त अनि बहुजाति, बहुभाषी, बहुसंस्कृति र विविधताले भएको देश हो किनकी यहाँ आठ हजारभन्दा बढि नदिनाला, विभिन्न हिमश्रृंखलाहरु रहेका छन् । विश्वमा शान्तिका दुत मानिने गौतम बुद्धको जन्मस्थल नेपाल निकै नै विशाल अनि सुन्दर छ । आफ्नै मौलिक परम्परा, लोकसंस्कृति, विभिन्न जातजाति साँच्चै नै अनेकतामा एकता छ । ईतिहासको कुरा गर्ने होभने आदिम कालदेखि आधुनिक कालसम्म विभिन्न चरणहरु पार गर्दे समाज र संस्कृतिको जगेर्नासंगै विकासका मुलहरु पनि तिव्र गतिमा बढिरहेको अवस्था छ । त्यसैगरी सामाजिक हिसाबले भन्नुपर्दा त पहिले समाज कसरी विकास भयो ? समाजमा के कसरी विकास हुन पुगे त ? मानिस घुमन्ते जीवनबाट सामाजिक जिवनमा कसरी प्रवेश गरे अनि विभिन्न हातहतियार कसरी निर्माण भए । यी र यस्ता प्रश्नसंगै अन्तरहृदय कैयौं क्षतविछेद भए साँच्चै गम्भीर प्रश्न पनि हो ।
आदिमकालदेखि नै विभिन्न चरण पार गर्दै ढुङ्गाका हातहतियार निर्माण हुँदै आज आधुनिक युगसम्म आइपुग्दा धेरै विकास भएको छ । जसरी शिक्षा ग्रहण गर्नेकै लागि गुरुकुल धाइन्थ्यो, पाटी र अंगार प्रयोग गरिन्थ्यो, त्यसरी नै विकास र विस्तार हुदै आज आधुनिक युग जसलाई विज्ञान र प्रविधिको युग समेत भन्ने गरिन्छ । हिजोको सामन्ती युगदेखि पुँजीवादी युगसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन् । सामान्य हातहतियारदेखि लिएर ठूला–ठूला क्षेप्यास्त्र निर्माण भए जसले शक्तिको बल प्रयोग गरि गरिब र सोझा मानिसलाई दमन गरे, जसले गर्दा अभिजात वर्ग उत्पादनका साधनहरुको मालिक बन्न पुगे र अर्ध दास किसानहरुबाट अतिरिक्त मूल्य असूल गर्दथे । किनभने सामन्तहरु कृषि मालिक भए र गरिब जनतालाई शोषण गरिरहे, त्यसविरुद्व आवाज उठाउँदा कति जनता बन्धक बनाइए, शोषित भए र आफ्नो भुस्वामित्वको लागि अनेक चुनौती सामना गरे । त्यस्तै भुमिसुधार ऐन २०२१ घोषणा भयो तर पनि समाजमा दास प्रथा, जातिय, अमाली, कमलरी प्रथा भने हटेको थिएन तर विस्तारै समाजमा परिवर्तन र विकासहरु आउन थाले, शिक्षाको मुल फुट्न थाल्यो ।
२०४७ सालमा नेपाल अधिराज्य संविधान घोषणा भएसंगै नेपालमा प्रजातन्त्र आयो र देशले आमुल परिवर्तनको नयाँ मोड लियो । त्यसैगरि वि.सं. २०५७ साउन २ गते कमैया प्रथा, २०५३ सालमा मोहियानी हक, ६०६२ सालमा हलिया मुक्त घोषणा, २०६३ सालमा छुवाछूत मुक्त घोषणा, २०७० सालमा कमलरी मुक्त घोषणा जस्ता प्रथाहरुको अन्त्य भयो र २०६२÷०६३ सालको जनआन्दोलनले देशको मुहार फेरियो । यसका साथै राजतन्त्रको पनि अन्त्य भयो र विकास दिगो गतिमा अगाडि बढ्न थाल्यो, जसका कारण विकासका पूर्वाधार विस्तार भए । जमिन, दृश्यावली, नदिनाला तथा अन्य पानीका साधनस्रोत, वन पैदावर, खनिज, जनशक्ति, सांस्कृतिक सम्पदा, पुँजी, सीप, भौतिक पूर्वाधारहरु आदि । आर्थिक तथा सामाजिक पक्षले विकासलाई बढवा दिए, त्यस्तै आर्थिक वृद्धि उच्च, दिगो, फराकिलो तरिकाले आर्थिक, राजनैतिक, शैक्षिक क्षेत्रमा परिवर्तन आयो ।
नेपाल एक कृषि प्रधान देश भएकोले पनि ७४ प्रतिशत जनताले जीवन निर्वाह गर्ने मुख्य पेशा रहेको छ । त्यस्तै नेपालको भौगोलिक विकटताको कारणले गर्दा पनि यहाँको करिब १८ प्रतिशत भू–भाग मात्र कृषियोग्य रहेको र २० प्रतिशत सिचाईँ र अन्य खेतीबाली रहेको छ । त्यस्तै व्यापार व्यवसाय, कलकारखाना जस्ता उद्योग संचालनमा रहेका छन् तर पनि अव्यवस्थित शहरिकरण, बसाइँसराइ, बढ्दो जनसंख्या, वातावरण प्रदुषण आदिले पनि नकारात्मक प्रभाव पारेको अवस्था छ किनकी जथाभावी सडक निर्माण, अनियन्त्रित वनविनाश, बढ्दो आधुनिकीरण, भ्रष्टाचारले गर्दा पनि विकासका कार्यमा बाधा पुर्याएको छ । त्यस्तै असुविधाजनक भुधरातलिय अवस्था, पूँजीको अभाव, दक्ष जनशक्तिको अभाव, राजनीति अस्थिरताले गर्दा पूर्णतया विकास हुन सकेको छैन ।
०७२ सालको भुकम्पको सन्दर्भलाई हेर्ने होभने भताभुङ्ग भएका भग्नावशेष, क्षतविच्छेद भएका सडकहरु पुननिर्माण गर्ने ऐन कानुन बने पनि अहिलेसम्म कार्य सम्पन्न भएको छैन । त्यसैगरी प्रत्येक वर्ष बजेट छुट्टाइन्छ तर सडकको हालत भने उस्तै, जथाभावी सडकमा डोजर लाउनाले विकास भन्दा विनासको मार्गतिर लम्किएको छ किनकी विकासका नाममा भएका मनपरी गतिविधि त हामीले झेल्दै आएका छौ र कहिलेसम्म यी र यस्ता समस्या झेल्ने ? यहाँ गाउँमा सामान्य धारो बनाउनेदेखि लिएर राज्य तहसम्म भष्टाचारले जरा गाँडेको अवस्था छ किनकी विकास नै विनाशको पाटो भएको छ, जहाँ पुग्नुपर्ने हो त्यहाँ विकास भएको छैन । वास्तवमा भन्ने हो भने नेपालका त्यस्ता विकट जिल्ला जहाँ सडकको अभाव छ, खाद्यान्नको अभाव, भोकमरि, गरिबी, सुस्वास्थ्य तथा सुविधाको अभाव छ त्यहाँ विकासको पहुँच पुगेकै छैन ।
राज्यले विकट जिल्लामा विकास पु¥याउनु पर्ने हो तर पछिल्लो समयमा भने अव्यवस्थित तरिकाले सडक निर्माण भएका छन् जसले गर्दा उत्पादनयोग्य भूमि माँसिएका छन् । आज कृषि प्रधान देश भइकन पनि खाद्यन्नहरु बाहिरी देशबाट आयात गरिन्छ, कति योग्य भूमि तथा जमिन बाँझै भएका छन्, जसले गर्दा कैंयौ किसानहरु मर्कामा परेको अवस्था छ । अचम्म लाग्छ जथाभावी डोजर लगाइन्छ, शाखा बाटो खुलाइन्छ, वन विनासले बर्सेनि बाढीपहिरो जाने गर्दछ । तराईका जिल्लाकै कुरा गर्दा वर्षा याममा भारतले कोशी व्यारेजका ढोका नखोलीदिँदा कैयौं जनता बिचल्लीमा परेका छन् । आज साँच्चिकै देशको अवस्था अस्तव्यस्त भएको छ किनकी देशमा हत्या, हिंसा, बलात्कार तथा लुटपाट जस्ता गतिविधि खासै नौला होइन तर नियम कानुन भने बलियो बन्न नसकेको हो कि ? वा सतिले सरापेको देश हो जे गरेनि हुन्छ भन्ने मानसिकता हो खै बुझ्न सकिएन । अस्ती भर्खर मात्र डोल्पा जिल्लामा एउटी महिलामाथि डोजरको बकेटले प्रहार गरियो, यो कस्तो नैतिक क्रियाकलाप होला सोचौ त ? के विकास गर्ने भन्दैमा मानिसमाथि नै जाइलाग्ने यो कस्तो अमानवीय व्यवहार होला । यस्ता उदाहरण त कैंयौ छन् जो आफुमा भएको अन्याय सहेर बसेका छन् तर यो घटनाले भने आफुविरुद्ध आवाज उठाएको छ ।
आज विकासका नाममा नैतिक पतन हुने काम भैइरहेको छ, जहाँ आवश्यक नै छैन त्यहाँ किन गाउँपालिका र नगरपालिकाले अव्यवस्थित सडक निर्माणको लागि स्वीकृत दिईरहेको छ । वास्तवमा मान्छे धेरै सुविधाभोगी हुन्छ, दुई पाईलो हिड्न पनि गाह्रो हुन्छ र त यी हाम्रा उत्पादनयोग्य खेती मासिन्छ, अनावश्यक सडक निर्माण हुन्छ, पहरा, डहरा र अनाकन्टार ठाउँहरुमा बाटो खनिन्छ । जसले गर्दा पहिरो तथा सडक दुर्घटना पनि नगन्य मात्रामा भइरहेका छन् । वर्षेनि बाढी पहिरोका कारण मानिसलाई सास्ती भइरहेको हुन्छ । यसरी जथाभावी बाटो खन्नाले हाम्रा पुस्तेनी जग्गा जमिन धरापमा परेका छन् । तसर्थ यी र यस्ता गतिविधिमा राज्यले तुरुन्तै रोक लगाओस् र जहाँ शिक्षा, स्वास्थ्य, सडक, रोजगार तथा खाद्यान्न अभाव, गरिबी छ त्यस्ता जिल्लामा विकासका पुर्वाधार विस्तार गरोस् । यसका साथै जथाभावी डोजर लगाउने, अनियन्त्रित तरिकाले सडक निर्माण गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरियोस् र सम्बन्धित ठाउँहरुलाई लक्षित गरि निर्माण कार्य अगाडि बढाउनुको आजको आवश्यकता हो ।




