बागलुङ,२१ कात्तिक – बागलुङको बलेवा क्षेत्रका किसानले खेलमा लगाएको धान पाक्ने बेला भएको छ । पहेँलपुर फाँटमा कहिले छिटो त कहिले ढिलो गरी धान पाक्छ । तर यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न समेत १८ औं शताव्दीमा चलेका सांस्कृतिक परम्परा पुरा गर्नुपर्छ ।
साविकका छ वटा गाउँ विकास समितिलाई १८ औं शताव्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छ वटै गाविसका किसानका लागि धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको थियो । बलेवामा बाईसेचौबिसे राजाका पाला बिक्रम संवत् १८४२ मा स्थापना भएको बलेवा काल भैरवको इतिहासका अध्ययता डा. आरुणी आचार्यले बताए ।
धान काट्नका लागि स्थानीय भाषामा पुली अर्थात् संस्कृत भाषामा धान्य छेदन र नयाँ चामल प्रयोग गर्नका लागि स्थानीय भाषामा न्वाई अर्थात् संस्कृत भाषामा नबान्न प्रासनको मिति तोक्ने चलन रहेको बलेवाका ज्योतिष लेखनाथ पौडेलले बताए । दुई सय बर्ष भन्दा पहिला चलेको सोही संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ ।
‘हामीले जान्दा धान्यछेदन र नवान्न प्रासनको मिती कोटले तोक्ने चलन थियो’ पौडेलले भने ‘अहिले पनि छ वटै वडाका गन्यमान्य जम्मा भएर मिति तोकिन्छ ।’ नवदुर्गाको नवमीका दिन बलेवा कोटमा बिषेश पुजाआजापछि ज्योतिषहरुको समुहले पुली र न्वाईको मिति तोक्ने चलन छ । हरेक बर्ष नवमीको दिन तोकिने न्वागी र पुलीको मिति जान्नकै लागि बलेवा क्षेत्रका सर्वसाधारण उक्त दिन भैरवस्थानमा रहेको बलेवा कोट पुग्ने गरेको बागलुङ नगरपालिका–१२ अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठकले बताए ।
‘दिन हेरेर ज्योतिषहरुले कोटलाई दिनुहुन्छ, कोटले घोषणा गर्छ’ पाठकले भने ‘बलेवा क्षेत्रमा यो परम्परा कायम रहेको छ ।’ कोटले तोकेको दिन पुली नलिने र न्वाई नखानेहरु निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वाई खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलन रहेको छ । ‘कोटले तोकेको दिन सबैले मान्ने गरेका छन्’ पाठकले भने ‘नमान्नेलाई समाजले राम्रो मान्दैन् ।’
बैदिक बिधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरुको सामना गर्नुपर्ने विश्वास रहेको ज्योतिष लेखनाथ पौडेल बताउछन । दशैंको पुर्णिमाका दिन भुमे देवताको पुजा हुने स्थानमा दहिको ठेकी नातो बाँधेर राख्ने र पुलीका दिन त्यहीँ ठेकीलाई बाजा बजाउँदै खेतको गह्रासम्म पु¥याएर पुली लिने प्रचलन रहेको पौडेल बताउछन । भुमे देवताको पुजा हुने स्थानमा नातो सहितको दहिको ठेकी राखेपछि त्यो समुदायभित्र पुली नलिँदासम्म बाजा बजाउन नहुने प्रचलन समेत कायम रहेको उनले बताए ।
पुली र न्वाई स्थानीय जातको धानमा मात्रै लागु हुने गरेको भएपनि पछिल्लो समय बिकासे हाइब्रिड धानहरु लगाएका किसानले समेत सोही संस्कृति पछ्याई रहेको पाठकले बताए । न्वाई र पुलीको दिन नमान्दा कुनै कारवाही त छैन तर पहिले–पहिले चलेको सामाजिक बहिस्कारको त्रासले सबैले मान्दै आएको पाठकले दाबी गरे । सूचना र सञ्चारका साधनहरुको बिकास हुनुपूर्व परम्परागत कटुवाल पेसामा रहेकाहरुले कोटले तोकेको मिति बस्तीहरुमा पु¥याउँथे भने पछिल्लो समय मोबाईल फोन र सामाजिक सञ्जालमार्फत समेत तोकीएको मितिको बिषयमा जानकारी गराईने गरेको वडाध्यक्ष पाठकले बताए।
नवरात्रको समयमा बलेवा कोटमा हुने पुजा पहिले राज्यले र त्यसपछि सर्वसाधारणले गर्ने चलन रहेको छ । फुलपातीको दिनदेखि दशमीको बिहान दुर्गा बिसर्जन हुनुपुर्व बलेवा कोटअन्र्तगतका साविकको गाविस र अहिलेका वडाहरुले बिहानमा पहिलो पुजा गरेपछि मात्रै सर्वसाधारणको पुजाका लागि कोट खुल्ला हुने गरेको छ । बलेवा क्षेत्रमा साविकको अमलाचौर, पैञ्युपाटा, नारायणस्थान, भकुण्डे, रायडाँडा र कुश्मीशेरा गाविस पर्छन् । छ गाविसमध्ये कुश्मीशेरा जैमिनी नगरपालिका र बाँकी सबै बागलुङ नगरपालिकाका वडाहरुमा परिणत भएका छन् ।





