नेपाली भूमि अतिक्रमित भएको छ । कालापानी, लिपुलेक लगायतका भू–भागलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली भूमि मिचिएको थाहा भएको हो । यद्यपी, नेपाल र भारतबीचको सीमा समस्या नौलो भने हैन । दशगजा मिचिएको होस् वा लिम्पियाधुराको विषय नै किन नहोस्, यी बेलाबेला उठ्दै आएकै विषय हुन् । पछिल्लो पटक भारतले निकालेको नक्सामा नेपाली भू–भाग समेटिएपछि भने यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पायो÷पाइरहेको छ । भारतले नक्सा सार्वजनिक गर्दासम्म नेपाल सरकार मौन थियो । जब संचारमाध्यममा समाचार सार्वजनिक भयो, नागरिक समाजले आवाज उठायो । राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने आवाज मुखरित हुन थाल्यो । सरकारले कालापानी नेपालकै भएको दाबी ग¥यो । पछिल्लो पटक नक्साप्रतिको आफ्नो असन्तुष्टी भारत सरकारसमक्ष कुटनीतिक च्यानलमार्फत व्यक्त पनि भयो । सीमानामा देखिएको समस्या वार्ताकै माध्यमबाट समाधान गरिने सरकारको भनाई रहँदै आएको छ ।
यही बीचमा नेपालका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिए । भारतले नेपाल सरकारको सहमति बिना यस्तो नक्सा निकाल्नै नसक्ने जिकिरसहितको उनको अभिव्यक्तिलाई सरकारका प्रवक्ताले खारेज मात्रै गरेका छ्रैनन्, चुनावी प्रोपोगाण्डा भएको बताएका छन् । नेपाल सरकार आफ्नो एक इञ्च जमिन पनि नछाड्ने र अर्काको एक इञ्च जमिन पनि नलिने पक्षमा भएको सरकारको भनाई छ । भला, यो विषयको कुटनीतिक निरुपण हुन बाँकी छ । हो, अन्तत ः देशको सार्वभौकिताको रक्षा गर्नु सरकारकै दायित्व हो । नागरिकस्तरमा उठेको राष्ट्रियताको भावनाको संवोधन पनि यो विषयको सफल निरुपणबाट मात्र सम्भव छ ।
मुख्य कुरा के भने, राष्ट्रियताको विषयमा देशमा साझा अवधारणा बन्नु जरुरी छ । सत्तापक्षलाई प्रतिपक्षले दोषारोपण गर्ने अनि सत्ता पक्षले प्रतिपक्षले झन धेरै गल्ती भएको छ भनेर दन्त बझानले निकास निस्कदैन । बरु, यसले भाई फुटे, गवाँर लुटे भनेजस्तो अवस्था आउन सक्छ । सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको विषय यो वा त्यो पक्षको कुरा होइन । यो राष्ट्रिय मुद्धा हो । यसमा कुनै पनि द्धिविधा पाल्नु हुँदैन । राष्ट्रियताको विषय बजारमा नाङ्ले पसल राखेर बेच्ने बस्तु हुँदै होइन । यो विषयमा प्रतिपक्षी पनि उत्तिकै संवेदनशील हुनुपर्छ । प्रधानमन्त्रीले सीमाको विषयमा बोलाएको बैठकमा देखिएको मतैक्यता कायमै रहुनु पर्छ । राष्ट्रियतामा चुकेपछि फर्कने ठाउँ बाँकी रहँदैन । देशमा बाह्य शक्तिलाई आमन्त्रण गर्नु भनेको घर पोलेर आगो ताप्नु जस्तै हो भन्ने कुराको सबैले हेक्का राख्नुपर्छ । यो राष्ट्रिय अहम्को विषय हो, यहाँ दलको हार र जीत गौण हुनुपर्छ । अत ः अहिले सरकार र प्रतिपक्षबीच चलेको दन्तबझान अन्त गर्दै राष्ट्रियताको विषयमा सबै एकैठाउँमा उभिनुपर्छ ।

