१३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) को आयोजना नेपालमा भइरहेको छ । सागअन्तर्गतका खेलहरुमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ । यो खुसीको कुरा हो । किनकि, खेलकुदले देशबासीलाई एउटै ठाउँमा ल्याउँछ, अनेकतामा एकताको सन्देश प्रवाह गर्छ । राष्ट्रिय भाव बढाउने खेलकुद सबैभन्दा राम्रो माध्यम यही कारणले भएको हो । त्यसैले विश्वका सबैजसो राष्ट्रले खेलकुदको विकासमा विशेष चासो दिन्छन् । अन्तर्राष्ट्रियस्तरका प्रतियागिताहरु आयोजना गर्न मरिहत्ते गर्छन् । नेपालले सागको यो संस्करण सहज रुपले आयोजना गर्ने अवसर पायो । पहिलो साग आयोजना गरेको नेपालको लागि खेलकुदमा गरेको विकास देखाउने अवसर पनि थियो, यो । केही हदसम्म त्यस्तो देखियो पनि । तर, खेलकुदको पूर्वाधार निर्माणको क्रममा यो पटक पनि नेपाल कमजोर देखियो । खेल हुँदै गर्दा निर्माणका कामहरु पनि चल्दै गए । पर्याप्त तयारी नभएको त देखियो नै, यो प्रतियोगिता भइरहँदा खेलाडीहरु कति दुःख र पीडामा रहेछन् भन्ने पनि प्रष्ट भयो । साग आयोजनाकै लागि राज्यले अरवौँ बजेट विनियोजन गरेको छ । तर, देशलाई पदक दिलाउने खेलाडीहरुलाई प्रोत्साहन त के खेल सामग्री समेत उपलब्ध गराउन सरकार चुकेको छ ।
सुटिङको लागि प्रतिष्पर्धीसँग पेस्तोल मागिएको, ट्रायथलनमा लगाउने सुट नै नभएको अनि थोत्रो साइकल चलाउन परेको गुनासाहरु खेलाडीहरुबाट आएका छतन् । यी गुनासा मात्रै पनि हैनन् । सत्य कुरा खेलाडीले बोलेका हुन् । खेलाडीहरु पीडाबीच राष्ट्रको इज्जत बचाउन लागिरहँदा खेल पदाधिकारी र मन्त्रीहरु भने त्यही बजेटबाट दौरा–सुरवाल र कोट लगाउन व्यस्त छन् । सागको लागि छुट्याइएको पैसाले किनिएको दौरा सुरुवाल मन्त्रीको आङसम्म पनि पुगेबाट प्रष्ट हुन्छ, ‘खेलको नाममा राज्यकोषको दोहन भएको छ ।’ खेलका पूर्वाधार बनाउने, खेलाडीको सुरक्षित भविष्यको खोजी गर्ने तथा उनीहरुलाई प्रोत्साहित गर्ने कर्तव्यबाट च्यूत भएर उनीहरुले गरेको यो कार्यले आम नागरिकलाई लज्जित बनाएको छ । दौरा सुरवाल मात्रै हैन, खेल पदाधिकारीहरु यो अवधिमा महंगो भत्ता लिएर हिँडेका छन् । उनीहरुले गरेको खर्चको कुनै पारदर्शिता पनि छैन तर खेलाडीहरुको लागि भने उनीहरुले पर्याप्त पोषणयुक्त खानाको समेत व्यवस्था गर्न सकेका छैनन् । खेल सामग्रीको अभावमा खेलाडीहरुले ज्यान दिएर राष्ट्रको इज्जत बचाएको खवरहरुसँगै यस्ता हर्कतहरु बाहिर आउँदा यसले आम नागरिकलाई निरास बनाएको छ । संस्थागत रुपले देशमा भ्रष्टाचार मौलाएको छ भन्ने ट्रान्सपरेन्सी इण्टरनेसनललगायतका संस्थाको प्रतिवेदन त्यसै आएको हैन भन्ने पनि यी घटनाले पुष्टी गरेका छन् ।
खेलकुदको नाममा ब्रम्हलुट गर्ने छुट कसैलाई छैन । खेलकुद क्षेत्रमा भएका यी गलत कामको निर्मम समीक्षा हुनुपर्छ । मन्त्रीदेखि अन्य खेल पदाधिकारीहरुबाट गलत भएको हो कि हैन, छानविन गरिनु पर्छ र दोषीलाई हदैसम्मको कारवाही गरिनुपर्छ । अर्कोतर्फ खेलाडीको जीवनयापनबारे पनि सोच्ने बेला आएको छ । खेलाडीहरु राष्ट्रका गहना हुन् भन्ने तर उनीहरुको हितमा सिन्को नभाँच्दा खेलाडीसँग पलायन बाहेक अरु कुनै विकल्प बाँकी हुँदैन । खेलकुदलाई पवित्र थलो बनाउने हो भने खेलाडी संरक्षणमा राज्यले ध्यान दिनुपर्छ । खेल सामग्री मागेर खेल्नु पर्ने बाध्यताबाट बाहिर निकाल्नुपर्छ ।

