लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अंग्रेजी सम्वतको डिसेम्बर ८ बाट सुरु भएको यो दिवस मनाउने क्रममा पहिलो पटक मर्यादित महिनावारी दिवस पनि बनाइएको छ । मर्यादित महिनावारी दिवस विश्वकै लागि पहिलो हो । लैंङ्गिक हिंसा न्यूनिकरण र मानव अधिकारको लागि मर्यादित महिनाबारी भन्ने मुल नाराको साथ यो दिवस मनाउँदै गर्दा देशका दूरदराजहरुमा महिनावारी बार्ने क्रममा नारीहरुले जीवन गुमाएका प्रसंगहरु पनि उप्किएका छन् । महिनावारी कुनै अपराध नभएर यो नारीमा हुने नियमित प्रक्रिया हो भन्ने विषयको पनि उठान भएको छ । जुन सकारात्मक छ ।
नारीमाथि यो वा त्यो बहानामा हुने हिंसाको श्रृंखला लामो छ । भोग्यबस्तुको रुपमा चित्रित्र गर्ने अनि त्यही अनुसारको व्यवहार गर्ने सामाजिक परिपाटीका कारण नारीहरु हिंसाको सिकार बनेका हुन् । यो वा त्यो बहानामा गरिने नारी हिंसालाई कानूनले बर्जित गरेको छ । तर, नारीमाथि अमानवीय व्यवहार गर्न भने छाडिएको छैन । नारी हरेक पाइलामा हिंसाको सिकार बन्ने गरेका छन् । यो प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । कतिपय अवस्थामा नारीहरु नारीबाटै पनि हिंसामा पर्छन् । पुरुषप्रधान समाजले त सदियौँदेखि नारीमाथि अत्याचार गर्दै आइरहेकै छ । र, यही अत्याचारको एउटा कडी हो, महिनावारी बार्नुपर्ने बाध्यकारी व्यवस्था । देशका सबैजसो भागमा महिनावारी बार्ने प्रचलन छ । कतै महिनावारीको क्रममा केही सहजतता उपलब्ध गराइन्छ भने कतै छुट्टै गोठमा राखेर मृत्युवरण गर्न बाध्य पारिन्छ । छाउपडी प्रथाको नाममा जकडिएको यो सामाजिक कलंक हटाउन धेरै ढिला भएको छ । पश्चिम नेपालको कलंकको रुपमा रहेको यो प्रथा अन्त्यको लागि चालिएका प्रयासहरु पनि निश्प्रभावी देखिएका छन् । कतिपय अवस्थामा शिक्षित भन्ने महिलाहरु नै छाउगोठमा बस्न जानाले पनि समस्याको निराकरण हुन सकेको छैन । विद्यालय जाने किशोरीहरु यो समस्याबाट झनै प्रताडित हुने गरेका छन् । महिनावारीको समयमा विद्यालय नै नजाने, महिनावारी भएपछि विद्यालय छाड्नेजस्ता समस्याका कारण उनीहरुमा परेको मनोवैज्ञानिक असरबारे कहिँकतै अध्ययन भएको पाइँदैन । अब यी विषयहरुमा पनि ध्यान दिनुपर्छ । केही विद्यालय र कलेजहरुले किशोरीमा देखिएको यो समस्या निराकरणको लागि विद्यालयमै निःशुल्क प्याडको व्यवस्था गरेको पाइएको छ । यो सह्रानीय कदम नै हो । यस्ता गतिविधिलाई प्रोत्साहन गरिनुपर्छ ।
मासिकश्राव भनेको कुनै रोग वा अपराध हुँदै होइन । यो नारीको जीवनमा हुने नियमित प्रक्रिया हो । यस्तो बेला उनीहरुलाई घरपरिवारबाट टाढा राख्ने हैन कि परिवारमै राखेर अझ बढी पोषणयुक्त खाना खुवाउनु जरुरी छ । उनीहरुलाई हौसला दिनु पर्ने हुन्छ । तर, नेपाली समाज उल्टो छ । त्यही बेला नारीलाई छुनै नहुने भन्दै घरबाटै टाढा राखिन्छ । गाह्रो काममा नलाउनुलाई सकारात्मक नै माने पनि नारीलाई दुव्र्यवहार गर्नु कुनै कोणबाट पनि न्यायोचित हुँदैन । यो अन्धविश्वास र कुरिति हटाउन अब ढिला गर्नु हुँदैन । ठूलै सामाजिक अभियान चलाउनु पर्छ । मान्छेको मन परिवर्तन गर्न सके यस्ता कुप्रथाहरु जरैबाट उखेलिन्छन् । हैन भने वर्षको एकपटक ‘दिवस’मनाउने र आफै त्यही परिस्थितिमा जकेडिने सम्भावना पनि रहन्छ ।

