आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रित्तो कार्यालयमा किसान कहिलेसम्म धाउने ?

रित्तो कार्यालयमा किसान कहिलेसम्म धाउने ?


  • ढोरपाटन संबाददाता
  • पुष ८ २०७६, मंगलबार

बागलुङ, ८ पुस – सामान्य परिचय दिंदा नेपाल कृषि प्रदान देश हो । नेपालका झण्डै ७० प्रतिशत जनता अहिलेपनि कृषि पेशा गर्छन् । नेपाली हरुको जीवनस्तर पनि कृषि पेशाबाटै अगाडि बढेको हो । औद्योगिकीकरण नभएकोले कृषि उपजबाटै नेपालीले जीवन धानेका छन् । तर बागलुङमा दुइ बर्षदेखि कृषि कार्यालय समेत नभएर किसानले हैरानी खेपेका छन् । जिल्लामा रहने कृषि बिकास कार्यालय र इलाका स्तरमा हुने कृषि सेवा केन्द्रबाट दैनिक र नियतिम सेवा पाएका बागलुङका किसान अहिले सेवा पाउने ठाउँ नभेटेर हैरान छन् । पटक पटक सेवा खोज्दै आएका किसान रित्तो हात फर्कन बाध्य छन् । ‘पहिला ईलाका स्तरमै सेवा पाइन्थ्यो, अहिले सदरमुकाम पुगेर पनि केही पाईदैन’ गलकोटकी किसान शिवकला खत्रीले भनिन्, ‘कार्यालय समेत नभएपछि किसानले के आस गर्नु ?’ जिल्ला कृषि बिकास कार्यालय रहेको ठाउँमा अहिले बागलुङ नगरपालिका छ । उक्त कार्यालयमा झुण्डीएको कृषि ज्ञान केन्द्रको कोठा सधै रित्तो छ ।
कृषि सेवा केन्द्रहरु पनि सबै खारेजी भए । सदरमुकामा आउँदा पनि किसानले बीउ र सेवा सुविधा तथा सल्लाह केही पाउन छाडेका छन् । कार्यालयमा दैनिक दर्जनबढी किसान बिभिन्न समस्या लिएर आउँछन् तर अलमल्ल पर्दै फर्कन्छन् । कुनैपनि किसानले मेरो काम भयो भनेर खुसी भएको देख्नै नपाएको स्थानीय थानेश्वर सुवेदीले बताए । ‘म पनि पटक पटक पुग्दा धेरै किसानले निरासा मात्र देखाए’ सुवेदीले भने, ‘कृषि प्रदान देश भन्ने, कृषि कार्यालय किन खारेज गरियो थाहै छैन ।’ आबस्यकता नपर्ने कार्यालय जस्ताको त्यस्तै रहेपनि महत्वको कार्यालय खारेज गरिएकोमा उनले रोष प्रकट गरे । मिमिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापालाई पनि यो कुरा मन परेको छैन । उनले समेत कृषि कार्यालयलाई राज्यले बेवास्ता गरेको दुःखेसो पोखे । ‘कृषि प्रदान देश, नेपालकै पहिलो किसान परिचयपत्र पाएको व्यक्ति भएर होला, कृषि कार्यालय खारेज हुँदा दुःख लागेको छ’ थापाले भने,‘कार्यालय पुनर्जिवित गर्नुपर्छ ।’ कृषि ज्ञान केन्द्र पर्वतमा पुगेर पनि उनले यो माग गरेको बताए । कार्यालय खोज्दै आएका किसानको उजुरी लिइदिने सहयोगी समेत नभेटिंदा किसानले आफ्नो कार्यालयको महसुस समेत गर्न नपाएका हुन् । तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले चार बर्षअघि बागलुङका गंगाबहादुर थापालाई नेपालकै पहिलो किसान परिचयपत्र समेत दिएका थिए । कृषिमा अग्रणी जिल्ला भन्दै उनले पहिलो परिचयपत्र यहाँ आएर बिरतण गरेको बताएका थिए ।
तत्कालिन जिल्ला कृषि बिकास कार्यालय संघियता कार्यान्वयनसँगै खारेजीमा परेको हो । पर्वतमा रहेको कृषि ज्ञान केन्द्रमार्फत बागलुङको ढोरपाटन सम्मको कार्यक्रम हेर्ने जिम्मा छ । बागलुङको उक्त कार्यालय नगरपालिकाले कब्जा गरेर बसेको एक बर्ष भयो । कार्यालयको एउटा कोठामा ज्ञान केन्द्रको सम्पर्क कार्यालयको बोर्ड झुण्डीएको छ । तर उक्त कार्यालय जहिले पनि रित्तै हुन्छ । कोठा खुला भएपनि कर्मचारी भेटिंदैनन् । ज्ञान केन्द्र प्रमुख पर्वत कार्यालयमा बस्छन् । केन्द्र प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीले ८६ कर्मचारी घटेर ६ जनामा सिमित भएको बताए । ‘कर्मचारी छैनन्, दुइ जिल्ला हेर्नुपर्छ, पटक पटक मन्त्रालय पनि धाउनु पर्छ’ रेग्मीले भने, ‘अहिले पनि म सचिव भेट्ने पखाईमा पोखारमा छु ।’ उनले कार्यक्रम धेरै भएपनि जनशक्ति नभएपछि किसानलाई सेवा दिन नसकेको बताए । एक जना सहयोगी राखेर निवेदनहरु संकलन गर्ने काम मात्र भएको उनले बताए । बागलुङमा आलु र सुन्तला जोन छ । धान, तरकारी लगायतका ब्लक र दर्जनबढी पकेट क्षेत्र छन् । सुन्तला जोनका कर्मचारी म्याग्दीमा बस्छन् । आलु जोनको लागि मात्र गलकोटमा कार्यालय छ । अन्य सेवाका लागि किसानले कुनै सेवा नपाएको गुनासो गरे । ‘पहिला पहिला कृषि प्राविधिक, बिषयगत अधिकृत र बरिष्ठ कृषि बिकास अधिकृत समेतको सेवा पाइन्थ्यो’ तरकारी ब्लक व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘अहिले स्थानीय तहको प्राविधिकले मात्र हेर्नुपरेपछि किसानमा निरासा थपिएको छ ।’ उनीहरुलेसेवा सुबिधा समेत समयमा पाउन नसकेर हैरानी खेपेको गुनासो गरे ।
बर्षे र हिउँदेबालीमा रोग किरा लाग्दा सामान्य प्राविधिक सेवा समेत नपाएको किसानहरुको गुनासो छ । ‘यो बर्ष हाम्रो धानबारीमा पनि फौजी किरा लागेको थियो, समस्याको समाधान भएन’ तित्याङका राजु थापाले भने, ‘उत्पादन पनि घट्यो, यो गुनासो गर्ने ठाउँ समेत पाईएन ।’ धेरै ठाउँमा धानको रोग किराबारे समाचार आएपनि आँफूले सल्लाह समेत नपाएको गुनासो गरे । गलकोटका गुमानसिंह खत्रीको अर्कौ गुनासो छ । उनले व्यवसायिक तरकारी खेती थालेको १५ बर्ष भयो । बर्षेनी कृषि कार्यालयबाट अनुगमन गरेर उत्पादन बढाउन सल्लाह दिन्थ्यो । देखा परेका नयाँ रोगबारे अगुवा किसानको भेलामा तालिम दिएर पठाउथ्यो । दुइबर्षदेखि उनीहरुले कृषि कार्यालयको अधिकृत देख्नै पाएका छैनन् । ‘आफैं प्राविधिक, आँफै किसान बनेर काम गरेको छु’ उनले भने, ‘तालिम पनि छैन, प्रविधि पनि छैन ।’ ग्रामीण किसानले अनुदानमा पाउने यन्त्रिक हलोपनि पाउन छाडेको गुनासो बढेको छ । स्थानीय तहबाट पाउने भनेपनि व्यवसायिक रुपमा बिक्री मात्र भएको किसानको गुनासो छ । संघियताको मर्म अनुसार सबै स्थानीय तहमा कृषि शाखा रहने व्यवस्था छ । तर बागलुङका सबै तहमा कृषिको अधिकृत स्तरको कर्मचारी छैन । करारमा राखिएका नाप्रास (खरिदार)ले सामान्य तथ्यांक संकलनको काम मात्र गरिरहेका छन् । ‘मैले जानेबुझेको सल्लाह दिन्छु, तर रोग किरा बारे जटिल समस्या आयो भने पर्वतको कार्यालयमै जानकारी पठाउने हो’ बागलुङ नगरपालिकाकी कृषि प्राविधिक छलुता बरुवालले भनिन्, ‘बजेट पनि छैन, कार्यक्रमपनि छैन, नगरपालिकाले जता पठायो त्यतै जाने गरेकी छु ।’ तालिम र प्रविधिका लागि बजेट समेत नभएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->