आगामी पौषको ११ देखि सुर हुने छैटौं बागलुङ महोत्सवको पुर्व सन्ध्यामा बागलुङ उद्योग बाणिज्य संघले लगानीको वातावरण बनाउने भन्दै बागलुङमा लगानी बहस गर्दैछ । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ, आर्थिक बहस’ नाम दिईएको कार्यक्रममा देशका सफल व्यवसायीहरुको अनुभव जिल्ला तहका व्यवसायीले बटुल्न पाउनेछन् । यसले जिल्लामा लगानीको वातावरण बनाउन र लगानी भित्राउनका लागि सहयोगी बन्ने आयोजकले विश्वास लिएको छ । संघीय सरकारले अघिल्लो वर्षको चैतमा आयोजना गरेको यस्तै कार्यक्रममार्फत १४ अर्बको लगानी प्रतिवद्धता आयो । करिब १५ परियोजनाहरुमा हस्ताक्षर गरिए । तीमध्ये १ सय ६४ मेघावाटको कालीगण्डकी जलविद्युत परियोजना पनि एक थियो । यसमा चीनको युनान सिन्ह्वा वाटर कम्पनीले लगानी गर्ने प्रतिवद्धता जनाएको हो । बागलुङ उद्योग वाणिज्य संघले बिहीबार आयोजना गर्ने बहसको ध्येय पनि केन्द्र सरकारस“ग मेल खान्छ । संयोगले लगानी सम्मेलनको नारा नै उज्यालो बागलुङ समृद्ध बागलुङ रहेको छ । गण्डकी प्रदेशले अहिले देशमा उत्पादन भइरहेको विद्युतको ५२ प्रतिशत हिस्सा ओगट्छ । उर्जा मन्त्रालय विद्युत विकास विभागको तथ्यांक अनुसार अहिले देशमा ८९४.३५९ मेघावाट विद्युत उत्पादन भइरहेको छ । विद्युत विभागका अनुसार यसमा धर्मल प्लाण्ट र सोलार प्लान्टको उत्पादन पनि जोडिएको छ । गण्डकी प्रदेशमा मात्र १५ वटा आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । गण्डकीमा ४ मा ३४ वटा जलविद्युत आयोजनाहरु निर्माणाधीन छन् । यी परियोजनाबाट ६ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । यसमा बागलुङको हिस्सा पनि ठूलै छ । बिधुतका अलावा जिल्लामा सम्भावनाका हिसाबले कयौं क्षेत्रहरु छन् । पर्यन, जडिबुटी, धार्मिक पर्यन र स्थानीय उत्पादन जिल्लाका सम्भावनाका क्षेत्र हुन् । सम्भावना बोकेका धेरै व्यवसायीक क्षेत्रका बिषयमा बहस चल्ने यस्तो अवस्थामा यो कार्यक्रम किन तय गरियो ? नारा अनुरुपको प्रतिफल दिन लगानी सम्मेलन सफल होला ? यही विषयमा केन्द्रित रहेर हामीले आयोजक संस्था बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश क“डेलस“ग लगानी सम्मेलन र तय नारास“ग केन्द्रित भएर सहकर्मी तारानाथ आचार्यले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार संक्षेप ।
लगानी सम्मेलन (आर्थिक बहस केका लागि ?
–धन्यवाद । यसलाई हामी लगानी सम्मेलन भनेका छौं । खासगरी बागलुङमा रहेका लगानीको क्षेत्रका पहिचान गर्ने र ठुला लगानीकर्ताहरुलाई आर्कषित गर्ने हाम्रो ध्येय हो । बागलुङमा साना र ठुला लगानीकर्ता मिलेर काम गर्न के सम्भावना छ त्यसको बिषयमा चर्चा गर्ने र ध्यानाकर्षण गर्ने । नीतिगत रुपमा लगानीको वातावरण बनाउन कसरी सकिन्छ भनेर स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउने हाम्रो कार्यक्रम छ ।
आर्थिक बहसकै लागि लगानीका क्षेत्र के–के हुन सक्छन भनेर केही तयारी छ ?
–बागलुङ जिल्लाको बिभिन्न क्षेत्रलाई समेटेर हामीले कार्यपत्र (डकुमेण्ट्री) प्रस्तुत गर्छौं । त्यसको आधारमा रहेर तीन जना सफल व्यवसायीहरुले आफ्नो अनुभव राख्नु हुन्छ । साना व्यवसायी र लगानीकर्ताहरुले पनि आफ्नो धारणा त्यसमा राख्नुहुन्छ ।
लगानी सम्मेलनको मुख्य उदेश्य के हो ?
–नेपाल सरकारले बनाएका बागलुङभित्र पर्ने ठुला आयोजनाहरु जस्तो कालिगण्डकी बि, उत्तरगंगा जलाशययुक्त आयोजना लगायतका धेरै सम्भावना भएका आयोजनाहरुमा राज्यको ध्यान नपुगेको र ध्यान पुग्दा पनि राज्यको लगानीले मात्रै सम्भव नहुने क्षेत्रहरुमा निजी सरकारी साझेदारीमा केही गर्न सकिन्छ भनेर सम्भावना खोज्ने हाम्रो ध्येय हो । स–साना योजनामा हामी परम्परागत शैलीले लगानी गरेका छौं । ति योजनाहरुमा नयाँ तरिकाले लगानी गर्नका लागि पनि यो बहसले सहयोग गर्छ । हामी साना व्यवसायीले लगानी गर्न नसक्ने ठुला योजनामा ठुला व्यवसायी लगानीकर्ताको ध्यानाकर्षण गर्ने हाम्रो उद्देश्य हो । बागलुङबाट बिभिन्न पेशा व्यवसायको शिलशिलमा बाहिर रहेका व्यवसायीको ध्यानाकर्षण गराउन र बिदेशमा रहेका बागलुङका व्यवसायीलाई आफ्नै क्षेत्रमा लगानी गर्न पनि यो बहसमाार्फत प्रेरित गर्ने हाम्रो लक्ष छ । बागलुङ व्यवसायीक गन्तव्य हो भन्ने सन्देश दिने मुख्य उद्देश्य हो ।
यहाँहरुको बहसमा उर्जा बाहेकका कस्ता व्यवसायिक क्षेत्रको बिषयमा बहस हुन्छ ?
–एउटा कुरा त हामीले यो बहसमा केवलकारको कुरा गर्छाैं । धार्मिक पर्यटकीय गन्तव्यहरुमा केवल कार पु¥याउने कुरा हुन्छ । ठुला होटल रिसोर्टहरु सञ्चालनको लागि हामीले ठुला व्यवसायीको ध्यानाकर्षण गर्छौं । सपिङ महलहरुको बिषयमा चर्चा गर्छौं । एउटा व्यवसायी वा पर्यटक यहाँ आउँदा उसले चाहेको कुरा खरिद गर्न पायो भने त्यो यहाँ भुल्छ । त्यसका लागि पर्यटक वा व्यवसायीको लागि आवश्यक सबै कुरा हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि राज्यले नीतिगत सुधार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । नीजि क्षेत्रले लगानी गर्ने र यसलाई ब्रण्डीङ गर्नेकाम गर्नुपर्ने हुन्छ । बागलुङ जिल्लाका चौतर्फी सम्भावना बिषय खोजेर नै हामीले आर्थिक बहस गर्दैछौं । बहसको शिर्षक हेर्दा उर्जासँग सम्बन्धित जस्तो छ । उर्जाकै बिषयमा मात्र चर्चा हुन्छ वा त्यसको अर्थ फरक छ ? यो नारा उज्यालो भन्नाले बत्तिको उज्यालो मात्रै होईन । सबै हिसाबले जिल्ला उज्यालो हुनुपर्छ र बनाउनु पर्छ भनेर नारा तय गरिएको हो । यसमा धेरै सम्भावनाको खोजी र त्यस्ता परियोजनामा लगानीकर्ताको घोषणाको सम्भावना पनि रहेको छ जसका लागि हामी आन्तरिक तयारीमा छौं ।
आर्थिक बहसमार्फत लगानी प्रतिवद्धताको आशा पनि गर्नु भएको होला ?
–हामीले ढोरपान क्षेत्रमा पर्यकीय क्षेत्र बिकसको लागि के गर्न सकिन्छ भनेर डिपिआर बनाउनका लागि लगानीको घोषणा हुन सक्छ । भैरवस्थान भकुण्डेको बिकासको कुरा छ । अहिले सम्भाव्यता अध्ययन नगरी बिकास र लगानी सम्भव छैन् । अहिले हामीले यो ठाउँमा यो चिज छ र त्यहाँ कस्तो हिसाबले लगानी गर्न सकिन्छ भनेर खोज्दै छौं । प्राबिधिक हिसाबले सरकारी र व्यवसायीले अध्ययन गरीसकेपछि तब लगानीको वातावरण बन्छ । नेपालमा सबैभन्दा ठुलो समस्या जग्गाको छ । राज्यको जग्गा छैन् । व्यक्तिको जग्गा ठुला योजनालाई लिन गाह्रो छ । नीतिगत रुपमा सुधार गरेर ठुला आयोजना बनाउँदा जग्गाको समस्या नहोस् भनेर गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीलाई हामीले यो सम्मेलनमा प्रमुख अतिथी बनाउँदै छौं । नीतिगत सुधार र व्यवसायीको इच्छा शक्ति बढाउन सकियो भने लगानीको प्रतिबद्धता आउँछ ।
सहभागिताको हिसाबले कस्ता–कस्ता व्यवसायी सहभागि हुँदै हुनुहुन्छ ?
–हामीले स्थानीय व्यवसायीहरुमा बिभिन्न क्षेत्रगत हिसाबले निमन्त्रण गरेका छौं । जिल्लाका व्यवसायी साथीहरु, छिमेकी जिल्लाका उद्योग बणिज्य संघमा रहनुभएका साथीहरु, बिषयगत व्यवसायसँग जोडिएका साथीहरु । सञ्चारकर्मी साथीहरुको कार्यक्रममा सहभागीता रहने छ । हामीसँग प्रमुख बक्ताको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष हाम्रो जिल्लाका स्थानीय पनि हुनुहुन्छ चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपर मार्केटका अध्यक्ष एवं एमडी मिन बहादुर गुरुङ लगायत प्रमुख बक्ता रहनु हुनेछ । प्रभु बैंकका सिईओ हाम्रै बागलुङको हुनुहुन्छ अशोक शेरचन उहाँले कार्यक्रमको सहजीकरण गर्नुहुने छ । त्यसमा अरु सहभागीहरु भवानी राणा केन्द्रिय अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष लगायतका ठुला व्यवसायीको पनि कार्यक्रममा सहभागिता रहने छ ।
सम्भावनाका हिसाबले बागलुङ धार्मिक पयर्टनमा उर्वर हो भनिन्छ । के छ यहाँहरुको सुचीमा यो बिषयमा समाबेश भयो कि भएको छैन ?
–मैले अघिनै उद्घोष गरिसकेँ । हामीले क्षेत्रगत हिसाबले धार्मिक पर्यननका क्षेत्रमा लगानी बढाउनका लागि जस्तो केवलकारको बिकास गर्न सक्छौं जुन व्यवसायसँग जोडिन्छ । पर्यटकीय हिसाबले सम्भावना भएका सबै क्षेत्रको बिषयमा बहसमा छलफल हुन्छ ।
यो बहस आन्तरिक लगानीमा केन्द्रित हुन्छ वा बाह्य लगानी भित्राउनमा केन्द्रित हुन्छ ?
–दुवै हुन्छ । हामी साना लगानीकर्ताहरु, हामीसँग थोरै थोरै लगानी गर्ने रकम भएर पनि रचनात्मक काम गर्न पाएका छैनौ । त्यो तरिका नभएर पनि हुन सक्छ । बहसमा आईडिया शेयर हुन्छ । अहिले कर्पोरेट बिजनेज भन्ने छ । जुन संयुक्त रुपमा लागनी गरेर व्यवसाय गर्ने त्यसका लागि पनि सहयोग पुग्छ ।
गैरआवासिय नेपाली र बैदेशीक रेमिट्यान्सलाई लगानीसँग जोड्ने सम्भावना के छ ?
–हामीले सम्भावना बाहिर ल्याईदिएपछि बिदेशमा रहेका नेपालीलाई लगानी गर्न प्रसस्त बाटो खुल्ने छ । मुख्य कुरा त नीतिगत सुधार आवश्यक छ । जस्तो हाम्रो बागलुङबा जापानमा रहेका युवाहरुले थामानेटामा रिसोर्ट खोल्न जग्गा लिन खोज्नुभएको छ तर अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन् । मुख्यत हामीले सम्भावना देखाउँछौं बाहिरको लगानी भित्राउनका लागि राज्यले वातावरण बनाउनु पर्छ । अहिले नीतिगत कुरा स्थानीय सरकारले पनि गर्न सक्छन् । जस्तो पूर्वाधार निर्माण, नीतिगत सुधार आदिमा सहयोग गर्न सक्छन् । स्थानीय र केन्द्र सरकारको मध्य भागमा रहेर मध्यस्थताको काम प्रदेश सरकारले गर्न सक्ने भएकाले बहसमा प्रदेश सरकारको उपस्थिती महत्वपूर्ण हुन्छ ।
अक्सर यस्ता सम्मेलनमा गरिने प्रतिवद्धताहरु घोषणामै सीमित भएका छन् ? तपाईँको हकमा यो नहोला कसरी भन्ने ?
–हाम्ले बिषेश परियोजना बारेमा प्रस्ताव गरेका छौं । घोषणालाई कार्यान्वयन गराउनका लागि हामीले स्थानीय पालिकाहरुसँग सहकार्य गरेर, हाम्रो इकाई नै स्थापना गरेर कार्यान्वयनका लागि पहल थाल्छौं । महत्वपुर्ण बिषयलाई हामी यसै छो्दैनौं ।
कयौं चुनौतीका बिचमा सम्मेलनले सोचे अनुरुपको प्रतिफल देला ?
–ठुला योजना बागलुङमा भित्रिएका छैनन् । सरकारले दिएका कतिपय योजनामा पनि झिनामसिना कुराले अल्झिएको अवस्थामा छन् । म बागलुङबासीलाई के आग्रह गर्न चाहन्छु भने जिल्लामा बन्ने ठुला योजनाहरुले हामीलाई ठुलो अवसर दिएको हुन्छ । सानामसिना कुरामा अल्झीँदा योजनाहरुमा समस्या पैदा हुन्छ । योजना बन्दा रोजगारीको सिर्जनादेखि हरेक क्षेत्रबाट आर्थिक प्रगतिको बाटो खुल्छ । समुदाय सकरात्मक सोचले लाग्ने हो भने चुनौती छैनन् । पूर्वाधारको बिकासमा कुनै समस्या छैनन् । पूर्वाधार छन् । यसमा प्रदेशको काम पनि सकरात्म देखिन्छ ।
साना र ठुला व्यवसायीको समन्वय र लगानीमा सझेदारी कस्तो छ ?
–यहाँका साना व्यवसायीमा नयाँ सुरुवात गर्ने चाहना हुने तर आर्थिक हिसावले वा भनौ लगानी गर्ने हिसाबले ठुलो स्रोत नहुने समस्या छ । ठुला व्यवसायी र साना व्यवसायीको साझेदारी तीन तहका सरकारसँगको सहकार्यको वातावरण निर्माण गर्नकै लागि हामी यो सम्मेलनको आयोजना गरेका हौं ।
अन्तमा छुटेको बिषय केही छ ?
–यो निकै महत्वपुर्ण कार्यक्रम हो । सबैलाई हामीले यो कार्यक्रममा सहभागि गराउन सक्दैनौं । यो कार्यक्रम रेकर्ड गरेर राखेर हामीले छुटेका सबैको लागि पुन अरु कार्यक्रमहरुको आयोजना गरेर छलफल र बहस गर्ने छौं । सयका लागि यहाँलाई धन्यवाद ।





