
बागलुङ,३ माघ – माघे सक्रान्तिमा कालीगण्डकी नदी किनारका लाखौं मानिसले नुहाएर चोखो भएको सन्देश दिए । मगरसक्रान्ति नुहाउँदाका फाइदा धार्मिक ग्रन्थहरुमा लेखिएको छ ।दामोदर कुण्ड, कागवेनी, गलेश्वर, मालढुंगा, जैमिनीधाम, रिडी रुरु क्षेत्र र देवघाटधाममा लाखौं मनिसले नुहाएर पबित्र भएको महसुस गर्ने नदी भने आँफै सुरक्षित छैन । नदी किनारमा दैनिक रुपमा नुहाउने देखि भारतीय पर्यटक नदीकै दर्शन गर्न पनि आउने गर्छन् । विश्वमै शालीग्राम शिला पाइने एकमात्र नदीको रुपमा कालीगण्डकी सूचिकृत छ ।तर पछिल्लो समय नदी भने प्रदुषित बनिरहेको छ । त्यस बारेमा बेला बेला आबाज पनि उठ्छ । तर राज्यका मुख्य निकायनै संरक्षणमा जुट्न सकेका छैनन् । नदी संरक्षणको कुरा गर्दा ढुंगा र बालुवा उत्खनन्को बिषय उठ्छ । तर त्यो मात्र नभई नदीमा दैनिक मिसाईने फोहोर प्रदुषणको अर्को ठूलो कारक हो । संरक्षणकर्मीहरुका अनुसार सभ्यता नदीको पानीमा मात्र सिमित छैन ।
नदी किनारमा रहेका दर्जनौ घाटमा जलाईने शव र त्यसपछि नदीमै मिसाउने फोहोरले पवित्रतामा असर पारिरहेको छ । ‘हामी अगाडि बढ्दा वालुवा व्यपारी बिरुद्धमा लागेझै भएको छ, तर नदीको संरक्षण सबै मिलेर गर्नुपर्छ भन्ने हो’ धौलागिरी पर्यटन समितिका अध्यक्ष खिमानन्द कंडेलले भने, ‘कालीगण्डकी नदी र नदीमापाईने शालीग्राम संरक्षणका लागि काम गरिएको भन्ने बुझ्ने मानिस थोरै मात्र रहेछन् ।’ शालीग्रामलाई पनि बालुवाको भाउमा बेचिएको उनको भनाई छ ।
किनारका सदरमुकाम र बजार क्षेत्रको फोहोर कालीगण्डकीमै मिसाईएको छ । कालीगण्डकी नदीमा मिसिने काग खोला देखि म्याग्दीखोला, मोदीखोला, बडिगाड लगायतका जलाधार क्षेत्र पनि संरक्षण भए मात्र नदी संरक्षण बन्ने शालीग्राम संग्राहलयका अगुवा ऋािष प्रपन्ननाचार्यले बताए ।ती खोलाहरु पनि प्रदुषित बनिरहेका छन् । उनका अनुसार नदी संरक्षणले जलचर पनि सुरक्षित हुन्छन् । प्रदुषणले सबै जलचल मर्ने भएकोले सुरक्षित बनाउने तर्फ सबैको चासो बढ्नु आवस्यक भएको उनले बताए । यहा“का धार्मिक क्षेत्र, सास्कृतिक परंपरा र शालीग्रामको दर्शनका लागि मात्र हजारौं बिदेशी पर्यटक भित्राएर आम्दानी गर्ने अबस्था प्रदुषणको कारण अलपत्र पर्न थालेपछि संग्राहलय बनाउने निष्कर्षमा पुगिएको उनले बताए । नदी किनारका बस्ती, खेतपाखो र बन समेत संरक्षण गर्नुपर्ने उनको सुझाव छ ।
पुराणहरुमा पनि कालीगण्डकी नदी किनारका बस्तीमा पहिलो पटक मानव सभ्यता बिकास भएको प्रपन्नाचार्यले बताए । ‘संसारमा कालीगण्डकी नदीमा मात्र शालिग्राम भेटिन्छ, यो चानचुने कुरा होइन ।’ शालीग्राम दक्षीण भारतमा लाखौंमा खरिद बिक्री हुन्छ । नेपालमा भने नदी दोहन मार्फत बाटो पुर्ने काममा प्रयोग भएको उनले बताए । नदी प्रदुषण र दोहन तथा कला र संस्कृतिमा पश्चिमा प्रभाव बढीरहेपछि संरक्षणको महाअभियान थालिएको छ । यो अभियानमा नदी आसपासका सबै जातजाती, धर्म र संस्कृतिको संरक्षणमा जोड दिइएको छ । राज्य तहको अगुवाई नभएसम्म जनस्तरबाट गरिने कामले मात्र पूर्णता नपाउने उनले बताए । ‘सरकारलाई अधिकार सम्पन्न कालीगण्डकी सभ्यता संरक्षण प्राधिकरण गठन गर्न माग गरेका छौं’ कंडेलले भने, ‘राज्यले अपनत्व लिएन भने दशकपछि नदी सभ्यता लोप हुनेछ ।’ कालीगण्डकी नदी धार्मिक पर्यटनका लागि नेपालकै उत्कृष्ठ गन्तव्य भएको उनले बताए । संरक्षण अभियानमा केही समय देखि धौलागिरी क्षेत्रका चार जिल्लाका संमन्वय अधिकारी देखि पर्यटन समितिका पदाधिकारीहरु सक्रिय छन् । नदी सभ्यता भित्र मानिस बाहेक चरा, जनावर र जलचरको पनि जीवन गाँसिएको भन्दै संरक्षण अभियानमा सबैको साथ चाहिएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
मंसिरमा बागलुङमा निर्माण गरिएको शालीग्राम संग्राहलयले सभ्यताको सानो झलक देखाएको छ । नदी कुरुप बन्दै गएकोले रोदन देखाउने गरी अभियान र संग्राहलय व्यवस्थापन समितिले डकुमेन्ट्री बनाउन थालेको छ । त्यसका लागि बजेट अभाव भएको प्रपन्नाचार्यले बताए । ‘नदीलाई नदीकै स्वरुपमा बग्न दिएमा मात्र सफा हुन्छ, सा“घुरो बनाउ“दा ढल बन्छ’ उनले भने, ‘फोहोर छान्ने प्रकृया नदीले गरिरहेको छ ।’ कालीगण्डकीमा ¥याफ्टीङ संचालन मात्र पर्यटक आर्कषणको काम भएको उनले बताए । बागमती संरक्षणमा अहिले राज्यले करोडौं खर्चेको स्मरण अब नेतृत्वमा आउनुपर्ने उनले सुझाए । कालीगण्डकी करिडोरले भारतका हिन्दुलाई मुक्तिनाथ र चीनका बौद्धमार्गीलाई लुम्बिनी लैजान सक्ने बाटो खुलेको छ । यो मार्गबाट ३ सय ४२ किमीमा चीन र भारत जोडिन्छ । ट्रयाक खुलेर चौडा पनि पारिएको यो सडक कालोपत्रे हु“दा पर्यटक आर्कषित हुने ढुंगानाले बताए । करिडोरको बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले ट्रयाक खोलेको छ । नदी सभ्यता हरायो छोटो बाटोले मात्र पर्यटक नआउने उनको तर्क छ ।





