आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अर्गानिकमा मन

अर्गानिकमा मन


  • ढोरपाटन संबाददाता
  • माघ ९ २०७६, बिहिबार

बागलुङ, ९ माघ – सदरमुकाम बागलुङ बजारको नयाँ सडक मार्गमा हिरामणी सुवेदीको अर्गानिक कृषि पसल छ । उनको पसलका अधिकांश सामाग्री ताराखोला गाउँपालिका, म्याग्दीका बिभिन्न गाउँ, पर्वतको पाङ र बनौमा उत्पादन भएका फसल राखिएको छ । मुलाको धजरा, केराउ, चना, भट्टमास, सिलम, गुन्द्रुक, मस्यौरा जस्ता सामान खोज्न बजारका अधिकांस त्यहाँ पुग्छन् । बजारमा अहिले आधा दर्जन यस्तै अन्य अर्गानिक पसल खुलेका छन् । ग्रामीण बस्तीबाट झिकाएका बस्नु ल्याएर बेच्दा व्यवसायीले पनि मनग्ये कमाएका छन् ।
‘पछिल्लो समय धेरैले तराईको चामल र तरकारीभन्दा अर्गानिक खोज्न थालेका छन्’ सुवेदीले भने, ‘हेर्दा पुरानो र नराम्रो लागेपनि गाउँमा फलेको भनेपछि पर्खेर खान खोज्छन् ।’ उपभोक्ताले पनि अर्गानिक भनेपछि महंगो तिर्न तयार हुन थालेका छन् । अर्गानिक उत्पादन बढाउन भन्दै गाउँपालिका र नगरपालिकाहरुले पनि लगानी गर्न थालेका छन् । कृषिको आधुनिकीकरण गर्ने र अर्गानिक उत्पादन बढाउने भन्दै किसानलाई तालिम दिने, बीउ र प्रविधिमा लगानी गर्ने समेतको काम थालिएको हो । बागलुङको काठेखोला, बडिगाड र ताराखोला गाउँपालिकाले यो अभियानमा बढी लगानी गरिरहेका छन् । किसानले व्यवसायिक तरकारीसहित नगदेबालीमा पनि हात हालेका छन् । ती सबै क्षेत्रका किसानलाई साथ दिने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । आलु जोनमा समावेश भएकोले ताराखोला र काठेखोलाका किसानले तालिम, भण्डारनका लागि अनुदान लगायतको सेवा पनि पाएका छन् । किसानले आलुमा लाग्ने रोग किराबारे छुट्टै तालिम पनि पाएको बताए ।
किसानको चाहना अनुसार ताजा तरकारी, बाख्रा र गाईभैसी पालन, घाँसखेती तथा भेडा पालन समेतलाई छुट्टाछुट्टै तालिम र अनुदानको व्यवस्था गरिएको हो । ताराखोलाले मात्रै चालु बर्ष २ करोड रुपैयाँ कृषिमा बिनियोजन गरेको छ । यहाँको २ सय रोपनी जमिनमा हाइटेक बिधि तथा प्लाष्टिक घरमा उत्पादन गर्ने तयारी गरेको हो । यहाँ मुला, केराउ र भट्टमास लगायतका तरकारी पनि उत्पादन हुन्छ ।
२५ हेक्टर जमिनमा ओखर लगाउने तयारी छ । त्यसका लागि बिरुवा झिकाउने काम भैरहेको हो । सबै वडाका किसाने थाहा पाउने गरी सार्वजनिक सूचना प्रकाशित भैसकेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । कृषि अनुदान पाउनका लागि स्थानीयले पनि लगानी गर्नुपर्छ । लेकाली बस्तीमा भेडापालनका फार्म खोल्न प्रोत्साहित गर्ने, मध्य खण्डमा बाख्रा पालनमा लगाउने र तल्लो तहमा कुखुराका फार्म संचालनमा प्राथमिकता दिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलु जोन यहाँ सूचिकृत छ । त्यस बाहेक अलैची, किबी र भुईस्याउ उत्पादनमा पनि जोड दिएको घर्तीले बताए । गाउँपालिकाले गरिबी न्युनिकरणका लागि ‘गरिबसँग बिश्वेश्वर’ कार्यक्रम पनि चलाएको छ । उक्त कार्यक्रममार्फत समेत कृषि गतिविधिनै संचालन भएको हो ।
गत बर्ष १५ परिवारले पशुपालन गरेका थिएभने चालु बर्ष ८ घरले पशुपालनमा लगानी गरिसकेका छन् । ‘यो कार्यक्रम पनि राम्रो छ, किसानले चासो दिएका छन्’ घर्तीले भने, ‘दुइजना सामाजिक परिचालकले रोजगारी पनि पाएका छन् ।’ यहाँका किसानले दूध पनि प्रसस्त उत्पादन गर्छन् । बजार पठाउन कठिन भएकोले धेरैले दूधजन्य परिकार बनाउने गर्छन् । घिउका लागि अर्गल र माझखर्च प्रसिद्ध बन्दै गएको उनले बताए । आधुनिक खेती लगाए पनि परंपरागत खेती संरक्षणमा समेत लगानी गरेको उनले बताए । स्थानीय कोदो, मकै र मुलाको संरक्षणमा बीउ संरक्षण गर्नेलाई प्रोत्साहित गरेको हो । बीउ संरक्षण गर्न अनुदान समेत दिने योजना उनले सुनाए । यहाँका किसानले रायो साग र बाँको भन्ने सागको गुन्दु्रक बनाउने गर्छन् । ती पेशा र परिकारको संरक्षण गर्दै स्थानीय रुपमा खुलेका दुइवटा होमस्टेमा बेच्ने व्यवस्था गरिएको हो । यसरी बेच्दा किसानले नगद हात पार्ने, होमस्टेमा आएका पाहुनाले अर्गानिक स्वाद पाउने गरेका छन् । आएका पाहुनाले पनि अर्गानिक खान पाएकोले खुसी भएको स्थानीय तिलकुमारी घर्तीले बताईन् । पाहुनाले खोज्ने कोदोको ढीडो र कुखुरा पनि स्थानीय किसानकै उत्पादन खपत भैरहेको उनले बताइन् । यहाँ बेसाहाबाट कृषि फसल ल्याउने चलन ५ बर्ष अघिदेखि बन्द भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->