सरकारको दुई बर्षे कार्याबधी पुरा भएको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा भन्ने हो भने पहिलो बर्ष आधार बर्ष र दोस्रो बर्ष निर्माण सुरुवातको बर्षका रुपमा परिचय बनाएको छ । यो अबधिमा सरकारले गरेका केही काम प्रशंसा गर्न योग्य रहे भने केही काम आलोचनाको पात्र बने । संघिय संरचना अनुसार बनेका तीन तहमा सरकार बनेका छन् । प्रदेशका तथा संघ सरकारको दुई बर्ष कार्यावधि पुरा भएको भए पनि स्थानीय सरकारको कार्यावधी भने झण्डै तीन बर्षको हाराहारीमा रहेको छ । सरकारका काम हेर्दा वा मुल्यांकन गर्द कुनै एक तहको कामको मात्रै मुल्यांकन गरियो भने त्यो संघीयताको मर्म बिपरित हो । तीनै तहले बनाएका योजना, गरेका काम र बनेका नीतिगत व्यवस्थाहरुको एकमुष्ठ मुल्यांकन हुँदा मात्रै देशभरको बिकासको गतिको मुल्यांकन गर्न सकिन्छ ।
देश संघीयतामा गएको भए पनि केन्द्रिकृत मानसिकता नेतृत्वदेखि सर्वसाधारणको तहसम्म कायम छ । हाम्रो समुदायमा टोल छरछिमेकमा भएका काममा पनि हामीले केन्द्र तथा प्रदेशमा गएका जनप्रतिनिधिको कामको हिसाबमा मात्रै मुल्यांकन गरिरहेका छौं । त्यो तहमा नेतृत्व गर्ने पंक्तिले पनि जस अपजसको भारी आँफैले बोक्न तम्सिने गरेकाले पनि मुल्यांकनको आधार केन्द्रले गरेका वा प्रदेशले गरेका कामको मात्रै बन्ने गरेको छ । लामो समयको संक्रमणपछि बनेका सरकारले जनताले चाहेको जस्तो वा देशको आवश्यकता अनुसारको काममा ध्यान नपु¥याएको कुरा जगजाहेर कुरा हो । तर हामीले सोचेको जस्तै कुनैपनि काम नभएको वा सुरुवात नै नभएको भन्ने पक्कै होईन । हामीलाई आधारभुत तहको विकास चाहिएको छ । तर संघीयता जस्तो बिशिष्टीकृत व्यवस्था अपनाएर सोही अनुसारको विकासको बाटोमा हामी रहेका छौं । नेतृत्वले बुझाउन नसकेको वा जनताको तहबाट स्वीकार हुन नसकेको यो बिषयमा अव बहस आवश्यक छ । सरकारमा रहेकाहरुले जनसाधारण भन्दा आफ्नो र आफ्नाको विकासमा समय लगाएको कुरा सर्वबिधित कुरा हो । यो दुइ बर्ष वा स्थानीय सरकारको तीस्न बर्षको कार्यकालको मुल्यांकन गर्दा त्यस्ता कमीकमजोरीहरुको निर्मम समिक्षा आवश्यक हो । सरकारले ल्याएका योजनामा हामीले सतही समिक्षाबाहेक निर्मम समिक्षा गर्नै सकेका छैनौं ।
स्थानीय तह देशका तिन तहका सरकारको आधार भूभाग जस्तै हो । स्थानीय सरकारमा भएका कमजोरीका कारण उपल्लो तहका सरकारमा आक्षेप लाग्छ र त्यो स्वभाविक पनि हो । स्थानीय सरकार हाम्रो नजिकको र जिम्मेबार सरकार हो । त्यसैले सरकारका हरेक बषृको समिक्षामा अब हामीले केन्द्रिकृत मानसिकताको समिक्षा होईन संघीय व्यवस्था अनुसारको बनेका सरकारको समिक्षा अलग–अलग हिसावले गरौं । सम्बन्धित सरकारका काम कर्तव्य र अधिकारको बिषयमा ज्ञात रहौं । कमीकमजोरी हरुमा सुझाव सल्लाह र खवरदारी समेत गर्न नभुलौं । हामीले देखाएको बुद्धिमत्ताले नै देशमा संघीय व्यवस्थाको दिगो व्यवस्थापन हुन सक्छ । जनतालाई सरकारका धनी बनाउन ल्याईएको संघीय व्यवस्था हामी जनता आँफै र सरकारका कारण अभिषाप नबनोस् । सरकारका कामको समिक्षा सहि ढंगबाट होस् । यसैमा जनता र देशको भलो हुन्छ ।

