बागलुङको गलकोट क्षेत्रमा पर्ने ‘घुम्टेलेक’ प्राकृतिक रुपले समृद्ध छ । त्यसले मान्छेको मन बहलाउन सक्छ । प्रकृतिप्रेमीलाई भावुक बनाउने सामथ्र्य राख्छ । प्रचार र भौगोलिक विकटताले ओझेलमा परेको यो लेकसँग अलौकिकता त छ नै, मान्छेको आस्था पनि जोडिएको छ । हो, त्यही घुम्टेको लेकमुनि यतिबेला अन्तर्राष्ट्रियस्तरका मूर्तिकारहरु भेला भएका छन् । त्यहाँको हरिचौर टेउवामा निर्माणाधीन अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्रको लागि उनीहरु ढुंगामा छिनो चलाउँदै छन् । निर्जिव ढुंगालाई आकृति दिनेमध्ये १० जना विदेशी र बाँकी ५ जना नेपाली छन् । १५ दिनको बसाईमा उनीहरुले पाषाणलाई आकार दिनेछन् । उनीहरुको १७ वटा सृजना त्यहीँ सजाइने छ । उनीहरुले बनाएका मूर्तिहरुले नै अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालयको आकार दिन सुरु गर्नेछ । मानव निर्मित त्यो संग्रहालय पनि मन बहलाउनेहरु, कलाबारे जानकारी चाहनेहरु तथा सृजनामा रम्नेहरुको लागि गन्तब्य बन्नेछ । यही आशाले गलकोट कला प्रतिष्ठानले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो ।
संसारमा केही सहरहरु प्रकृतिका कारण चर्चित छन् त केही सहरहरु संस्कृतिका कारण दर्शनीय बनेका छन् । हामी रोम एकैदिनमा बनेको हैन भन्दै रोमको वैभवशाली विरासतको कुरा उठाउँछौँ । प्रकृतिले नै निर्माण गरिदिएको नेपालजस्तो देशलाई जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ हो भन्छौँ ।संस्कृतिबिना पनि प्रकृतिको आफ्नै आकर्षण हुन्छ । एकान्त चाहनेहरु प्रकृतिसँग रमाउन सक्छन् । प्रकृतिसँग मान्छेको भावना जोडिन्छ ।संस्कृतिसँग मानवीय जीवन जोडिएको हुन्छ । मान्छेको दैनिकी, आस्था, रितिथिति जोडिएको हुन्छ । प्रकृति मान्छेले प्राप्त गरेका निधि हो भने संस्कृति मानव निर्मित । प्रकृति र संस्कृति दुबैले परापूर्वकालदेखि मानिसहरुलाई आकर्षित गर्दै आएका छन् । प्राकृतिक सौन्दर्य ठाउँहेरि फरक हुन्छन्, पहाडमा पाइने सौन्दर्य, हिमालमा र हिमालमा पाइने सौन्दर्य मधेममा पाइँदैन । यो विविधता हो । मानिसको संस्कृतिमा भूगोलको प्रभाव त हुन्छ नै तर कतिपय अवस्थामा संस्कृतिले फरक भूगोलसँग पनि तादाम्यता मिलाउने क्षमता राख्छन् । मुख्यकुरा संस्कृति र प्रकृति दुबैले मानिसलाई भुलाउने, आनन्दित बनाउने क्षमता राख्छन् । अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय यही उदेश्यमा समर्पित रहेको छ । यो आफैमा सह्रानीय काम हो ।
नेपाल यतिबेला नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको छ । भ्रमण वर्षलाई नै लक्षित गरि आयोजित यो कार्यशालाले पक्कै पनि नेपालमा साहशिक मात्र होइन, खोज र अनुसन्धान गर्नेहरु, मूर्तिकलाप्रति मोह राख्नेहरुलाई पनि आकर्षित गर्नसक्छ । हामीले लामो समयदेखि नेपाललाई साहशिक पर्यटनसँग मात्रै जोडेका छौँ । अब नेपाललाई मूर्तिकला,चित्रकारिता, योग, ध्यानजस्ता अन्य विधाको पर्यटनसँग पनि जोड्न सक्नुपर्छ । गलकोटबाट यो सुन्दर कामको सुरुवात भएको छ । सुसंस्कृत समाज भनेको कला, संस्कृति, आफ्नै भेषभुषा, संग्रहालय, पुस्तकालयसहितको हुन्छ । नेपाल संस्कृतिमा धनी भए पनि त्यसलाई अन्तर्राष्ट्रियकर तथा पर्यटनसँग जोड्न असमर्थ देखिँदै आएको छ । अर्कोतर्फ, हामी कलाप्रति अलि बढी अनुदार हुँदै आएको पनि सत्य हो । सरकारले यी र यस्ता कामहरुलाई प्रोत्साहन गर्नुपर्छ ।
तर, यसो भनिरहँदा पोखराको कोमागाने पार्कमा बनाइएका यस्तै मूर्तिहरुको बेथितिलाई पनि सम्झनै पर्छ । बढो हल्लासहित त्यहाँ पनि विभिन्न कलाकारले मूर्ति बनाए । ढुंगामा छिनो चलाए । तर, अहिले त्यो ठाउँ अलपत्र छ । कलाकृतिहरुको संरक्षणप्रति कसैको चासो छैन । गलकोटको कला संग्रहालय यस्तो अवस्थामा नपुगोस्, यो कामना गरौँ ।

