पोखरामा स्वर्गीय रवीन्द्र अधिकारीको स्मृति दिवस चलिरहेको छ । प्रथम स्मृति दिवसको सन्दर्भमा उनकै वरपर रहेर कलाकारले चित्रहरु बनाइसकेका छन् । गतवर्षको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।बहालवाला पर्यटनमन्त्री अधिकारीसँगै सो हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको थियो । मृत्यु आफैमा भयावह हुन्छ । अझ,दुर्घटनाबाट भएको मृत्युले चीरकालसम्म परिवार र शुभेच्छुकहरुलाई झस्काइरहन्छ । रवीन्द्रको पहिलो स्मृति दिवसको वरपर पोखरेलीले उनलाई अझ बढी सम्झिरहेका छन् । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्दै संघीय संसदमा पुगेका रवीन्द्र स्वप्नद्रष्टा थिए,पोखरेलीका प्रिय थिए र उति नै प्रखरवक्ता पनि थिए । वक्ताको रुपमा भन्दा पनि उनलाई पोखरेलीले विकासका अभियन्ताको रुपमा बढी सम्झनेछन् । साना–साना समस्या सुल्झाउन अघि सर्ने,जनताको काममा झर्को नमान्ने र आफ्नो धरातल नबिर्सने गुणले पनि उनी चीरस्थायी छन् र रहनेछन् । मान्छेका रुपमा उनका पनि दोष थिए होलान् तर उनी पोखराका गहना थिए भन्नेमा चाहिँ कुनै विवाद छैन ।
हो,उनै रवीन्द्रको स्मृति दिवस मनाउँदै गर्दा उनी चढेको हेलिकोप्टर दुर्घटनाको प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा गठित छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २७ वर्षीय पाइलट प्रभाकर केसीको कमजोरीका कारण दुर्घटना भएको औंल्याइएको छ । उच्च हिमाली भेगमा अक्सिजन कम हुँदा महुशस हुने युफोटियाका कारण पाइलटले निर्णय क्षमता गुमाएको प्रतिवेदनको निष्कर्ष छ । पाइलट प्रभाकर केसी योग्य हुँदाहुँदै पनि अगाडिको सिटमा दुई जना यात्रु राख्दा उनीहरुको तौलको मापन राम्रोसँग नगरेको ,प्रतिकूल मौसम पनि कारक भएको, भिजिबिलिटी कम भएकोजस्ता तर्क पनि गरिएको छ । हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।
दोषी ठहर भएका पाइलट यो संसारमा छैनन् । उनीले गल्ती गरे होलान् त्यो आफ्नो ठाउँमा छ तर आफै मरौँ भन्ने उनको चाहना पक्कै थिएन । यसमानेमा यो दुर्घटना भवितव्य नै हो । तर, भवितव्य भन्दैमा यो घटनामा पाइलटलाई मात्र दोष दिएर उम्कने अवस्था भने छैन । पाइलट कुशल थिए तर उनको उमेर कम थियो । उनी प्रतिकूल मौषममा आफ्ना मालिकसहित विभागीय मन्त्रीसहितका जिम्मेवार व्यक्तिहरुलाई लिएर उडान भर्दै थिए । त्यस्ता व्यक्तिहरु सवार रहेको अवस्थामा सायद पाइलटले मौषमको प्रतिकूलताबारे जानकारी गराउन सकेनन् वा चाहेनन् । यो उनको मात्रै दोष थिएन । जागिरे मानिशिकताको उपज थियो । त्यस्तो अवस्थामासँगै रहेका नागरिक उड्डयन प्राधिकरणका व्यक्तिहरुले स्थितिको आँकलन गर्नुुपथ्र्यो । तर,दुर्भाग्य त्यो हुन सकेन । हामीले देशका होनाहार व्यक्ति गुमायौँ ।
दुर्घटना हुन्छ,प्रतिवेदन आउँछ,प्रतिवेदनले औंल्याएका सुधारका क्षेत्रहरुलाई भने नजरअन्दाज गरिन्छ । यो नेपालको उड्डयन मात्र नभएर अन्य क्षेत्रको पनि रोग हो । ताप्लेजुङ दुर्घटनाले हामीलाई दिएको सन्देश पनि यही हो । त्यही ताप्लेजुङमा यसअघि पनि होनाहार मान्छेहरु दुर्घटनामा परेका थिए । पछिल्लो उडानको क्रममा अघिल्लो दुर्घटना र वातारणीय अवस्थालाई नजरअन्दान गर्नु गल्ती थियो र हो । तर,अब भने त्यसो गरिनुहुँदैन । प्रतिवेदनले औंल्याएका कमजोरीलाई सुधार र पालना गराउनेतर्फ नियमनकारी निकाय कडा बन्नुपर्छ । सामान्य व्यक्ति सवारभन्दा हाइप्रोफाइल व्यक्ति सवार हुँदा किन दुर्घटना निम्तियो भन्ने मनोवैज्ञानिक कारण पनि खोजिनुपर्छ ।

