बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानलाई राहत देऊ

किसानलाई राहत देऊ


  • Dhorpatan News
  • फाल्गुन २५ २०७६, आइतबार

केही दिनअघि पोखरा र आसपासको क्षेत्रमा आएको असिना र हावाहुरीले तरकारी, गहुँ लगायतका बालीहरुमा ठूलो क्षति पु¥यायो । हावाहुरीको मौषम बल्ल सुरु भएको छ । किसानहरु पुनः यस्तै विपत्तिको आइलाग्ने हो कि भन्दै त्राहीमाम छन् । कृषि बीमाको कुरा हुँदै आए पनि सबै किसानहरु बीमाको पहुँचमा छैनन् । खेतबारीमा लगाइएको अन्नबाली नासियो भने पुर्पुरो समात्नुबाहेक उनीहरुसँग विकल्प छैन । सरकारी निकायहरुले कहिलेकाहिँ क्षतिपूर्तिको व्यवस्था गरे पनि त्यो पर्याप्त छैन । यसले गर्दा किसानहरु आफ्नो कर्मप्रति निरुत्साहित बन्ने गरेका छन् । यो त, हावाहुरी र असिनाको कुरो भयो । कहिले रोपेको मकैमा घोगा नलाग्ने, कहिले धान नै नपसाउने जस्ता समस्याबाट पनि किसान पीडित बन्दै आएका छन् ।
केही समयअघिसम्म लमजुङसहित गण्डकीका धेरै जिल्लाका किसानहरुले सुन्तलाबाट मनग्ये आम्दानी लिएका थिए । तर, दुर्भाग्य झर्ने र बोट मर्ने रोगले सुन्तला खेति सखाफ भयो । लमजुङकै कुरा गर्दा सुन्तला खेतिका लागि कहलिएका स्याउत, धिमिरेलगायतका गाउँहरुमा अहिले सुन्तलाका बुटा नै देखिँदैनन् । सुन्तला मासिएको छ । सुन्तला मासिँदा त्यसको प्रत्यक्ष मार किसानलाई परेको छ । सुन्तला के कारणले मासियो र पुनः सुुन्तला खेति सम्भव छ वा छैन भन्नेतिर कसैको ध्यान पुग्न सकेको छैन । सुन्तला खेतिको जागरणकै बेला लमजुङसहित गण्डकीका सबैजसो जिल्लाहरुमा कफी खेतिको लहर आयो । किसानहरुले कफीका विरुवा लगाए । तर, पछिल्लो समयमा कफीमा पनि समस्या देखिएको छ । कफीमा देखिएको अज्ञात रोगका कारण बोट र विरुवा मर्न थालेका छन् । गण्डकी प्रदेशका ९ वटा जिल्लामा लगाइएका कफीका हाँगाको टुप्पो सुकेर मर्न थालेका छन् । प्राविधिक टोलीले रोगको कारण पत्ता लगाउन प्रत्यत्न गरे पनि रोकथाममा असफलता हात लागेको छ । अहिले गण्डकीका ९ वटा जिल्लामा मात्रै अज्ञात रोगबाट करिब ६ करोड रुपैयाँ नोक्सान परेको कफी किसानहरुले बताएका छन् । उनीहरुले रोगको निदान र राहतको माग गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रिय कार्यालय पोखराका निमित्त प्रमुख चन्द्र पुरीका अनुसार प्रदेशका कास्की, गोरखा, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, स्याङजा, तनहुँ र नवलपुर गरी ९ जिल्लाका वगानको क्षति ५ करोड २३ लाख र नवलपुर बाहेक ८ जिल्लाका कफी नर्सरीको क्षति ९७ लाख भन्दा बढी छ । सानो पूँजीसहित कफी खेतिमा हात हालेका किसानहरुले यति ठूलो रकम घाटा व्यहोर्नु भनेको सानो कुरा हैन । अतः सरकारले कफी किसानहरुको क्षतिको तत्काल मूल्याङ्कन गरि उनीहरुलाई राहत दिनुपर्छ । किसानहरुलाई राहत दिएर मात्रै पनि राज्य र कृषि कार्यालयले उन्मुक्ति पाउने अवस्था छैन । विभिन्न बालीहरुमा लाग्ने रोगको पहिचान, त्यसको उपचार तथा किसानलाई सोही कर्ममा टिकाइराख्नको लागि राज्यले अल्प र दीर्घकालीन रणनीति पनि बनाउनैपर्छ ।
कफी, अलैँची, फलफूलजस्ता नगदे बाली लगाउन प्रोत्साहन दिँदै यस्ता बालीहरुमा देखिने रोगको प्रकोप नियन्त्रणको लागि राज्यले ‘टास्कफोर्स’ बनाउनुुपर्छ । कृषिको आधुनिकी तथा व्यावसायिकरण गर्नेतर्फ राज्य अब जिम्मेवार बन्नैपर्छ । किसानका दुःख सुनिएन भने त्यसले राज्यको कुल ग्राहस्थ उत्पादनमा असर मात्रै पु¥याउँदैन, कृषिकर्मबाट पलायन हुने दर पनि बढाउँछ । यसो हुँदा देश आयातमा निर्भर हुन्छ । देशको अर्थतन्त्र नै परनिर्भर बन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->