बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नारीशक्ति र नारी दिवस

नारीशक्ति र नारी दिवस


  • Dhorpatan News
  • फाल्गुन २६ २०७६, सोमबार

पूर्वीय दर्शनको मुख्यश्रोत वेदलाई पूर्वीय दर्शनको मुख्यश्रोत मानिन्छ । सनातन दर्शनले बह्माण्डमा सक्रिय शक्तिलाई नारीशक्तिको रुपमा चित्रण गरेको छ । नारी अर्थात् प्रकृतिबिना पुरुषशक्ति अपूर्ण हुने मान्यता राख्छन्, साङ्ख्य सिद्धान्त अंगाल्नेहरु । तन्त्रविद्यामा विश्वास राख्ने योगीहरु पनि शक्तिस्वरुपा ‘योगिनी’कै उपासना गर्छन् । षट्कोणमा तलतिर फर्किएको त्रिकोणलाई नारीशक्ति मानिन्छ । दुई त्रिकोणको संयोगबिना षट्कोण अपूर्ण हुन्छ । दुर्गा, पार्वती, काली, उमा, अम्बिका, शीतला, चण्डी, चामुण्डा, मातृका, माया, महामाया, भद्रकालीलगायतका जे नामले उपासना गरिए पनि ती नारीशक्ति वा प्रकृति नै हुन् भन्ने पूर्वीय मान्यता रहेको छ । नेपालीको मौलिक चाड दशैँमा त नवदुर्गाहरू शैलपुत्री, ब्रह्मचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विशेष पूजा नै गरिन्छ । मानिस जन्मनासाथ मातृशक्तिको अनुभूत गर्दछ । पृथ्वीमा टेक्नासाथ उसले पाएको अनुभूतिकै कारण मातृशक्ति सर्वश्रेष्ठ र बलवान शक्ति हो भन्नेमा कुनै द्धिविधा पनि देखिँदैन ।
अर्कोतर्फ, पूर्वीय दर्शनले पञ्चकन्यालाई विशेष सम्मान व्यक्त गर्दछ । अहिल्या, तारा, सीता, मन्दोदरी र दौपदी पञ्चकन्या हुन् । रोचक त के छ भने, पञ्चकन्याको रुपमा पूजित सबै नारीहरु विवाहित हुन् । विवाहित मात्रै छैनन्, पुरुषत्वोलाई चुनौति दिने सामथ्र्य भएका महिला हुन्, पञ्चकन्या । हिजोको समाजले पुरुषार्थलाई चुनौति दिने महिलाहरुलाई पञ्चकन्याको रुपमा स्वीकारेर नारीशक्तिको सम्मान गरेको बुझ्न कठिन छैन ।
तर,समय सीधारेखामा बगेन । पण्डित्याइँ गर्ने केही कथित् धर्मभीरुले शास्त्र भँजाए । नारीलाई दाश बनाउने प्रपञ्च रचे । त्यसको बाछिटा हाम्रा आदिकवि भानुभक्तसम्म आइपुग्यो । वधूशिक्षा त्यसकै उपज थियो । नारीलाई प्रताडित गर्ने यो प्रवृत्ति पूर्वमा मात्रै नभएर पश्चिमा पनि उस्तै रह्यो । अमेरिकाजस्तो देशमा सन् १९२० मा मात्रै नारीहरुलाई मताधिकार दिइयो । अश्वेत नारीले त्यो अधिकार प्राप्त गर्न अझै केही दशक कुुर्नुप¥यो । अहिलेको विश्वमा जति समानताका कुरा गरेपनि नारीमाथिको प्रताडनमा कमी आएको छैन । उनीहरु परिवार, समाज र कुसंस्कारबाट प्रताडित छन् । उनीहरुलाई मनोरञ्जन र विज्ञापनको साधन बनाइएको छ । मनोरञ्जन र समाज परिवर्तनको माध्यम मानिने सिनेमामा दिइने भूमिकामा पनि उनीहरु विभेदमा परेका छन् । नेपालको सन्दर्भमा समान अंश, आमाको नाममा नागरिकताको व्यवस्था गरिएको छ । संविधानकको धारा ३८( ४)ले महिला हकबारे भनेको छ,‘महिलालाई राज्यका हरेक तहमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ’ ,भन्ने स्पष्ट पारेको छ ।, तर, वाध्यतामाबाहेक महिलालाई अधिकार दिने सवालमा राज्य संचालक र दलहरु जिम्मेवार हुन सकेका छैनन् । घरेलु हिंसा, तेजाब आक्रमणलगायतका सबै कष्टको सामना महिलाले नै गर्नुपरेको छ । यही सेरोफेरोमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । नारी अधिकारबारे विभिन्न कोणबाट व्याख्या भएका छन् । एकसेएक व्यक्तिहरु नारी अधिकारको पैरवीमा उत्रेका छन् । चर्चा र जागरणलाई अन्यथा मान्न मिल्दैन तर वास्तविकतमा नारीले कति अधिकार पाए भन्नेबारे अब नयाँकोणबाट विमर्श थालिन्पर्छ । नारी दिवसलाई वर्षको एकदिन कर्मकाण्डी तरिकाले मनाएर यो महिलाको अधिकार स्थापित हुँदैन भन्ने सबैले बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->