गुरुलाई मातापिता समान मान्छ, वैदिक सभ्यताले, गुरुलाई मातापिता समान मान्छ । घरमाभन्दा बढी समय गुरुकुल वा गुरुसँग बिताउने भएकाले गुरुआमा÷गुरुमाथि मातापिताको दायित्व पनि थपिएको हुन्छ । विद्यार्थीलाई सहीबाटोमा लगाउने दायित्व पनि शिक्षककै हुन्छ । शिक्षकले विद्यार्थीहरुलाई अभिभावकत्व प्रदान गर्दै ज्ञानगंगामा विचरण गराउन सक्नुपर्छ । गुरुको यही योगदानले ‘गुरु गुँड नै रहन्छ, चेला चिनी बन्छ’ भनिन्छ । उज्यालो बाँड्ने भएकाले नै गुरुको महत्व बढी भएको हो । असल गुरुका अनेकौँ दृष्टान्तहरु छन् । तर, समय त्यस्तो छैन । शिक्षाको व्यापारीकरण भएको छ, गुरुहरु श्रद्धावान हुन छाडेका छन् । कतिपय अवस्थामा त उनीहरु क्रुर नै देखिएका छन् । यसको पछिल्लो उदाहरण बनेकी छन्, काठमाण्डौस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले । उनले ७५ प्रतिशतभन्दा बढी अंक नल्याएको निहुँमा कक्षा ६ र ७ का ३४ जना विद्यार्थीका हात ब्लेडले चिर्न लगाइन । उनको पाशविक व्यवहार सतहमा आयो । उनी आलोच्य भइन र सम्भवत् ः कानूनी कारवाहीको भागेदार पनि बन्नेछिन् । तर, नेपालमा शिक्षक÷शिक्षिकाबाट हुने प्रताडनाको फेहरिस्त लामो छ । कर्माचार्यकोजस्तै व्यवहार गर्ने शिक्षिका÷शिक्षकहरुकै कारण धेरै विद्यार्थीहरुले मानशिक प्रताडनाका साथै विद्यालय नै छाड्ने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार कक्षा १–५ सम्म ३.६, कक्षा ६–८ सम्म ४.४ र ९–१० सम्मका ३.७ प्रतिशत विद्यार्थीले बिचैमा पढाइ छाड्छन् । विद्यालय छाड्ने कारण अरु पनि छन् । कतिले आर्थिक अवस्था त कतिले अन्य पारिवारिक समस्याले पनि पढाई पूरा गर्दैनन् । यीमध्ये कतिले शिक्षकको गलत व्यवहारकै कारण विद्यालय छाडे भन्ने आधिकारिक अध्ययन नभए पनि शिक्षककै कारण विद्यालय छाड्नेहरु पनि छन् भन्न हिच्किचाउन पर्ने अवस्था छैन ।
कलिला नानीबाबु भनेका काँचोमाटो हुन् । उनीरुको भविष्य कस्तो बनाउने भन्नेमा शिक्षिका÷शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । तर, शिक्षक नै गलत भएपछि उनीहरुको भविष्य अन्धकार हुन्छ । नेपालका शिक्षकहरु मनोविज्ञान नै बुझ्दैनन् र बुझे पनि त्यसलाई व्यवहारमा उतार्दैनन् । उनीहरु अहम् बोक्छन्,आफ्नो धारणा विद्यार्थीमाथि लाद्छन् र त्यसबाट परिणाम खोज्छन् । यो सर्वथा गलत प्रवृत्ति हो । साना बाबुनानीको मनोभाव बुझ्दै, खेल्दै सिकाउने बानी हाम्रा शिक्षकहरुसँग छँदैछैन । उनीहरु विद्यार्थीबाट गतिलो उपलब्धी त चाहन्छन् तर गलत प्रक्रिया अपनाउँछन् । विद्यार्थीमाथि बोझ थप्छन् , पिटेर तह लगाउन खोज्छन् । यसले विद्यार्थीहरुलाई गलत बाटो समात्ने बनाउँछ । शिक्षकको गलत प्रवृत्तिमा अभिभावक मतियार बन्नाले समस्या झन जटिल बन्छ । अभिभावकहरु आफ्ना नानीबाबुको मनोभाव बुझ्नेभन्दा पनि कसरी राम्रो अंक ल्याउँछ भन्नेमा ध्यान दिन्छन् । अर्काको बच्चाभन्दा आफ्नो उत्कृष्ट होस् भन्ने चाहन्छन् । वास्तवमा नानीबाबुहरु आफैमा उत्कृष्ट हुन्छन् । उनीहरुमाथि आफ्नो चाहना लाद्न्ु गलत हो । बच्चालाई उसले रोजेअनुसारको व्यवहार गर्न दिनुपर्छ । यसो भनिरहँदा गलत बाटोमा लाग्नबाट जोगाउनुपर्छ । हिंश्रक व्यवहारबाट बालबालिका सुध्रिदैनन् बरु बिग्रन्छन् ।अभिभावक र शिक्षकले बुझ्नुपर्ने कुरो यही हो । बालबालिकासम्बन्धी ऐन, २०७५ मा बाल अधिकार, कसूर तथा सजायको व्यवस्था गरेको छ । शिक्षकको सवालमा कानूनको डण्डा देखाएर मात्रै समस्या समाधान हुँदैन ।शिक्षकको मानशिकता बदलिनुपर्छ । शिक्षकहरुलाई मनोवैज्ञानिक तालीम दिनुपर्छ । मुख्यकुरा त,कस्ता व्यक्ति शिक्षक बन्ने भन्ने मापदण्डमै ध्यान दिनुपर्छ । हिंश्रक व्यक्ति गुरु बन्नैसक्दैन । काँचो माटोमाथि कठोरता बर्जित गरिनुपर्छ ।

