कोरोना भाइरस ( कोभिड –१९) ले विश्वजस्तै नेपाललाई पनि गाँजेको छ । एकपछि अर्को गर्दै कोराना संक्रमणका नयाँ घटनाहरु सार्वजनिक हुँदै गएका छन् । यसले आम नागरिकमा संन्त्रास पैदा मात्र गरेको छैन,राज्यको तयारीप्रति पनि र्औंला ठड्याउन थालिएको छ । देशमा ‘लकडाउन’ लम्बिँदै गर्दा तल्लो वर्गका मानिसहरुको घरमा चुल्हो बल्न बन्द भएको छ । यी तमाम् समस्याहरु एकातिर छन् । देशमा संक्रमण बढ्दै गएसँगै संक्रमित व्यक्तिबारे विभिन्न हल्ला र अफवाह फैलाउने र उनीहरुलाई मानशिकरुपले विक्षिप्त पार्ने गलत प्रवृत्ति सुरु भएको छ । फलानो वा फलानी कै कारण गाउँ र सहरमा कोरोना पस्यो र हामी असुरक्षित भयौँ भन्ने गुनासाहरु व्यापक हुँदै गएका छन् । ती गुनासा र आरोपहरु सामाजिक सञ्जालसँगै सबै ठाउँमा फैलिएको छ । अर्कोतर्फ अस्पताल भर्ना भएका संक्रमितहरुलाई उचित उपचार पनि नदिएको सार्वजनिक भएको छ । अस्पतालले उपचार नदिए कस्ले दिने ? यसले गर्दा कोरोना भाइरसलाई जित्न संघर्ष गरिरहेकाहरुको मानशिकतामा गहिरो असर पु¥याएको छ । उनीहरु विक्षिप्त बन्ने र जीवनभर मनमा गहिरो चोट बोक्ने परिस्थिति निर्माण भएको छ । कोरोना समयले निम्त्याएको त्रासदी हो । यो त्रासदीले दिएका पीडामा समयले नै मल्हम लगाउला भन्ने आशा जिवितै छ । तर, संक्रमित माथि लगाइएका आक्षेपहरुले बनाएका घाउहरु कसरी निको होलान् ? भन्नेबारे कहिँकतैबाट ध्यान दिइएको छैन ।
देश रेमिट्यान्सले धानिएको छ । लुकाउनै पर्दैन, सरकार विदेश जान प्रोत्साहित गर्छ । फलानो देशमा बिना शुल्क रोजगारको अवसर सृजना गराएँ भन्नेलाई सफलताको मानक ठान्छ । देशमा रोजगारी नहुँदा विदेश जानु मान्छेको बाध्यता हो । बाध्यताको भारी बोकेर विदेशिएकाहरु स्वदेश फर्कनु पाप हैन, उसको नैसर्गिक अधिकार हो । विश्व कोरोनाले ग्रस्त हुँदा विदेशिएकाहरुले देश र घरपरिवार सम्झे । उनीहरु मातृभूमि फर्के । फर्केकाहरुको अवस्थाबारे जानकारी राख्न नसक्नु र उनीहरुलाई फर्कनासाथ क्वारेण्टाइनमा बसाउने व्यवस्था नगर्नु सरकारको दोष हो । कमजोरी हो । त्यही कमजोरीका कारण नेपालमा कोरोना भाइरस पसेको सत्य पनि हो । तर, त्यसो भनिरहँदा विदेशबाट फलानो वा फलानी आएरै कोरोना फैलियो भन्नु निन्दनीय हो ।
ढाडस दिनुपर्ने बेला लगाएका लाञ्छनाहरुले संक्रमितको मनोबल घटाउँछ । मनोबल घट्दा शरीरको रोग प्रतिरोधात्मक शक्तिमा पनि ह्रास आउँछ । यसले संक्रमितको जीवन धरापमा पर्नसक्छ । कोरोना लाग्नु भनेको मृत्यु नै हुनु होइन । कोरोना लागेका सबै यमराजको प्यारो बनेका पनि छैनन् । दृढ इच्छाशक्ति, उचित उपचारबाट कोरोनालाई जित्न सकिन्छ । संक्रमितहरुलाई अब जितको बाटो देखाउने हो । मनोबल गिराएर हतोत्साही बनाउने हैन । उनीहरुबाट संक्रमण फैलन नदिन अपनाउनुपर्ने सचेतताप्रति ख्याल गर्ने हो । उपचारको उचित व्यवस्थापन गर्ने हो । संक्रमितको मानशिक अवस्था खल्बल्याउने प्रवृत्ति आफैमा निन्दनीय हो । जे हुनु हो, भइसक्यो । अब, उनीहरुलाई नयाँ जीवन दिनु नै आफन्त ,समाज र राज्यको कर्तव्य हो । कसैमाथि लाञ्छना लगाएर कोरोना भाग्ने हैन ।कोरोनाबाट बच्च अपनाउनु पर्ने सावधानी अपनाऊँ तर संक्रमित र उनका परिवारलाई मानसिक तनावमा नपारौँ । बरु, उचित प्रबन्ध र उपचार व्यवस्थाको लागि सरकारलाई घच्घच्याऊँ । स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्रीको व्यवस्थासहित उपचारमा लाग्ने वातारण बनाऔँ । सामूहिक भावनाका साथ यो मानवमाथिको संकटबाट मुक्ति खोजौँ ।

