आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमित हुनु पाप होइन, घृणा गर्न पाइँदैन

संक्रमित हुनु पाप होइन, घृणा गर्न पाइँदैन


  • डा. सुदीप खड्का
  • चैत्र १९ २०७६, बुधबार

विश्व समुदाय यतिवेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ र बच्नका लागि संघर्ष गरिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । यसबाट हजारौँ नागरिकको ज्यान गएको छ भने लाखौँमा संक्रमण फैलिएको छ । त्यत्तिकै संख्यामा उपचारपछि निको पनि भएका छन् । इबोला भाइरसको औषधि पत्ता लगाएपछि एकाएक संसारभर छाएका जिवाणु वैज्ञानिक डा. सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संलग्न १२ जना वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो । बागलुङ नगरपालिका–२ का स्थायी बासिन्दा खड्का ‘भाइरोलोजिस्ट’ हुन् । अर्थात् विभिन्न भाइरसले फैलाउने रोगविरुद्ध अनुसन्धान गर्ने वैज्ञानिक । प्रस्तुत छ, अमेरिकाको एटलान्ट शहरमा रहेका उनै युवा बैज्ञानिक खड्कासँग ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले कोरोना भाइरस (कोभिड १९), महामारी, वैज्ञानिकहरुले गरिरहेको अनुसन्धान र यसबाट बँच्न सर्वसाधारणले अपाउने विधिका बारेमा गरेको इमेल कुराकानी :

खासमा कोरोना भाइरस के हो ?
–यो एउटा भाइरसहरुको प्रजातिको समूह हो, जसअन्तर्गत गम्भीर रोग लगाउने सार्स, मेर्स र अहिले महामारी मच्चाइरहेको सार्स–२ कोरोना भाइरस पर्छन् । यी सबै गम्भीर स्वासप्रश्वाससम्बन्धि रोग निम्त्याउने भाइरस हुन् ।

कोभिड–१९ के हो र यसका लक्ष्यणहरु के हुन् ?
कोभिड–१९ भनेको हाल बिश्वमा महामारीको रुपमा फैलिरहेको सार्स–२ का संक्रमणका कारण हुने रोग हो । यो भाइरसको संक्रमण भएपछि सुरुवाती चरणमा रुघाखोकी अनि ज्वरोजस्ता सामान्य लक्षण देखिन्छन् भने केही गम्भीर बिरामीमा टाउको दुख्ने, भित्र छाती दुख्ने, सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने हुन्गई निमोनियासम्म हुन सक्छ । तर अधिकांश संक्रमितमा हलुका लक्षण मात्र देखिएर आफै निको हुन्छ ।

कस्ता व्यक्तिलाई गम्भीर लक्षण देखा पर्न सक्छ ?
– यो रोगको गम्भीर लक्षण देखा पर्ने सम्भावना बृद्ध तथा पहिले नै स्वास्थ्य अवस्था कमजोर रहेका मनिसलाई हुन्छ । अझ स्वासप्रस्वास सम्बन्धि गम्भीर समस्या पहिले नै छन् भने त यो भाइरसका कारण हुनसक्ने गम्भीर प्रकारको लक्षण देखिने सम्भावना अधिक हुन्छ । तर कुनै पनि उमेर समूहका मानिसमा यो भाइरसको संक्रमण भने हुन सक्छ ।
यो भाइरस कसरी सर्छ ?
–संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा वा बोल्दा निस्किने मसिना थुकका कणमा यो भाइरस निस्किने गर्दछ । ती संक्रमित कणहरु हावामा तैरिनुका साथै अन्य सतहमा पनि टाँसिएर बस्न सक्छन् । यसरी हावामा तैरिएका भाइरस मिश्रित हावामा सास फेरेमा वा सतहमा टाँसिएका भाइरसनै हात वा अन्य कुनै माध्यमबाट स्वासप्रश्वास प्रणालीमा पुग्न गएमा संक्रमण हुन्छ ।
यो भाइरसबाट बच्न हात किन धुनपर्छ ?
–यो भाइरस हातबाट संक्रमण हुने होइन, संक्रमण त स्वासप्रस्वास प्रणालीबाट हुन्छ । हातले धेरै सतहहरु छोइन्छ । तसर्थ, हातमा यो भाइरस टाँसिने सम्भावना प्रबल हुन्छ । त्यहीँ हातले नाकमुख छोएमा सो भाइरस स्वासप्रश्वास प्रणालीमा पुग्न सक्छ । तसर्थ, मज्जाले हात साबुनपानीले पटक–पटक धुनु पर्छ । हात धुँदा हत्केला मात्रै हैन ,बाहिर सम्पर्क हुने सम्पूर्ण कुइनोदेखिकै भाग धुँदा राम्रो हुन्छ ।

के यो भाइरस खानाबाट सर्छ ?
–राम्ररी पकाएको खानाबाट यो भाइरस सर्दैन । तर, जुठो खाएमा, राम्ररी नधोइकन भाडा, चम्चा–काटा, हातमुख पुछ्ने रुमाल इत्यादि एकअर्काले प्रयोग गरेमा यो भाइरस सर्ने जोखिम रहन्छ । त्यसैगरी हेल्मेट, चस्मा, कपडा जस्ता कुराहरु पनि छुट्टा–छुट्टै प्रयोग गरेको राम्रो हुन्छ ।

पञ्जा र मास्कले यो भाइरस रोक्छ त ?
–पञ्जा र मास्क भिडभाडयुक्त ठाउँमा लगाउँदा यो भाइरसको संक्रमणबाट जोगाउन सहयोग गर्ने भए पनि पूर्णरुपमा प्रभावकारी हुँदैनन् । मास्क लगाएपछि घरभित्र छिर्दा जतनकासाथ हटाउनुपर्छ किनकि ध्यान नपु¥याउने हो भने त्यहीँ मास्कमा अड्केका भाइरसहरु पुनः उडेर स्वासप्रस्वास प्रणालीमा पुग्न सक्छन् । हेर्दा सरल भए पनि पञ्जा लगाउने र हटाउने निश्चित बिधि हुन्छ । जुन, नजानेको खण्डमा उल्टो संक्रमणको थप जोखिम हुन्छ । तसर्थ, पञ्जा लगाउनुभन्दा पटकपटक हात धोएको राम्रो हुन्छ ।

अन्य सतहमा यो भाइरस कसरी हटाउने ?
–धेरै छोइने सतहहरु ३ भाग स्प्रिट वा अन्य कुनै अल्कोहोलमा एक भाग पानी मिसाएको समिश्रण, हैद्रोजान पेरोक्सिद, ब्लिच वा केही नभएमा साबुन पानीले धोएर पनि सफा गर्न सकिन्छ ।

यो संक्रमणबाट कसरी बच्न सकिन्छ ?
–संक्रमणबाट बच्न भरपर्दो उपाय भनेको संक्रमित व्यक्ति वा संक्रमण हुन सक्ने ठाउँबाट टाढै बस्नु हो । यो भाइरस आफै सर्दैन, संक्रमित व्यक्तिबाट सर्ने हो । तसर्थ सामाजिक दूरीको पालना गरेर कसैसंग प्रत्क्षय नभेट्ने, भेट्ने परेमा पनि कम्तिमा ६ फिटको दूरी कायम गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ ।

संक्रमण भएमा के गर्ने ?
–संक्रमण भएको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार चल्नुपर्छ । अधिकांश संक्रमितमा साधारण प्रकारको लक्षण देखिएर आफै निको हुन्छ, अस्पताल नगई घरमा एकान्तमा बस्दा हुन्छ ।

के संक्रमण हुनासाथ वा संक्रमण भएको शंका लागेमा अस्पताल भर्ना हुनुपर्छ ? आईसीयु वा भेन्टिलेटर कहिले आवश्यक पर्छ ?
–संक्रमणको शंका लागेका व्यक्तिले पनि स्वास्थ्यकर्मीलाई जानकारी गराउने, घरमै एकान्तमा बस्ने, कसैसंग भेटघाट नगर्ने, तर गम्भीर प्रकारका लक्षण देखिएमा पूर्व जानकारी गराएर मात्रै अस्पताल जाने गर्नुपर्छ । घरमा एक्लै बस्न सम्भव हुँदैन भने तोकिएका क्वारेन्टाएन केन्द्रमा गएर बस्न सकिन्छ । तर तालिमप्राप्त स्वास्थ्यकर्मी नभएको, एक बिरामी, एक कोठा उपलब्ध नभएको वा उचित संक्रमण सुरक्षा व्यवस्था नभएको केन्द्रमा नगएको राम्रो हुन्छ । त्यस्ता केन्द्रमा जाँदा यदि आफूलाई संक्रमण रहेछ भने अरुलाई सर्ने डर हुन्छ । यदि आफूलाई संक्रमण छैन तर अन्य संक्रमित रहेछन् भने उल्टो आफूलाई संक्रमण सर्ने डर हुन्छ । अत्यन्तै गम्भीर जीवन जोखिममा हुने लक्षण देखा परेमा, स्वास लिन नसक्ने भएमा वा पहिल्यै जटिल प्रकृतिको बिमारी छ भने मात्रै आइसीयु वा भेन्टिलेटर आवश्यक पर्छ । त्यो सबै कुरा सम्बन्धित स्वास्थ्यकर्मीले अवस्था हेरेर निक्र्याेल गर्ने कुरा हो । अनावस्यक रुपमा आइसीयु वा भेन्टिलेटरको प्रयोगमा बल गर्दा बास्तबमै जीवन–मृत्युको दोसाँधमा परेका बिरामीहरु सो सेवाबाट बन्चित हुन्छन् ।

यतिवेला बागलुङ जिल्लामा पनि संक्रमित तथा सम्भावित संक्रमित भेटिएका छन्, यो अवस्थामा के गर्नु पर्ला ?
– संक्रमित तथा सम्भावित संक्रमित जो संक्रमितको नजिक थिए सबै जना एक्लै घरमा बसेर कम्तिमा पनि १४ दिन आफूलाई हेर्नुपर्छ, जसलाई आइसोलेशन तथा क्वारेन्टाइन भनिन्छ । स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेर स्वास्थ्य संस्थाले कोरोनाको टेस्ट गर्नु आवश्यक ठानेमा सो जाँच गराउनु पर्छ । अन्यथा साधारण लक्षण देखिए वा नदेखिए पनि घरमा स्वस्थ्यलाभ गर्नु राम्रो हुन्छ ।

आइसोलेशन तथा क्वारेन्टाइनमा कसरी बस्ने ?
–घरमा सम्भव भएसम्म अन्य सदस्यको आवतजावत नहुने माथिल्लो तल्लाको सबैभन्दा परको कोठामा एक्लै बस्ने । सकिन्छ भने टेबल पंखा झ्याल बाहिर फर्काएर कोठाभित्रको हावा झ्याल बाहिर फाल्ने गरि मिलाउने । कम्तिमा १४ दिनसम्म सबैको प्रत्यक्ष सम्पर्कमा नरहने । कुराकानी गर्दा पनि बन्द ढोका–झ्याल भित्रबाहिरबाट गर्ने । यसो गर्दा एउटै घरमा बस्ने परिवारजनलाई समेत सर्ने सम्भावना न्युन हुन्छ । यहीँ प्रकारले स्थानीय वा ग्रामिण केन्द्रहरु पनि स्कुल लगायतका संरचनामै बनाउन सकिन्छ ।

कोरोना रोक्ने उद्देश्येले सडक आवागमन रोक्नु प्रभावकारी हुन्छ होला ?
–कोरोना रोक्ने निहुँमा सडक नै अबरुद्ध गर्नु मुर्खताको पराकष्टा हो । सडक संजाल, स्वास्थ्य सेवा, सुरक्षा निकाय, आपतकालीन सेवा, अत्यावस्यक सामग्री आपूर्तिजस्ता अन्य सबैकुरा बन्द हुँदा पनि सुचारु रहनुपर्ने सेवाहरुको लागि अत्यावश्यक प्रणाली हो । केही नबुझेका वा अटेरी व्यक्ति छन् भने तिनलाई सम्झाउने वा स्थानीय तहमा नै केही कारबाही गर्नेसम्मको उपाय जायज हुन्छ । तर यस्ता विध्वसात्मक कार्य गर्दा भोलि कोरोना भाइरस फैलिँदा पनि सुत्केरी, अन्य रोगका बिमारी जस्ता मान्छेले अकालमै ज्यान गुमाउनुपर्ने नियति पर्न सक्छ ।
सामाजिक दूरी कसरी सफलतापूर्वक लागु गर्न सकिन्छ होला ?
–अरुलाई घरभित्र हुल्न उद्यत हुनुभन्दा पहिले आफू घरभित्रै बस्ने अनि अरुलाई पनि आफ्नो घरभित्र आउन नदिने गर्दा उचित हुन्छ । सबैले यो नियम पालना गर्न थाल्ने हो भने बाहिर निस्कने मान्छेको जाने ठाउँ कतै हुँदैन । ग्रामीण परिवेशमा र केही अर्थमा सहरीया परिवेशमा पनि विभिन्न कारणले घर बाहिर निस्किनुपर्ने हुन्छ । त्यही भएर सामाजिक दूरी कायम गर्ने भनेको हो, कफ्र्यु लगाएको हैन । पातलो बस्ति भएको ठाउँमा एकअर्कासँग उचित दूरी राखेर वा अझ एक्लाएक्लै आफ्नो अपरिहार्य काम गर्दा कुनै फरक पर्दैन । तर, अनावस्यक रुपमा मनोरंजन, गोष्ठी, खेलकुद, पूजापाठ भजन, हालचाल बुझ्ने लगायतका गतिबिधिमा संलग्न हुन जम्मा हुने कार्यलाई भने निरुत्साहित गर्नेपर्छ ।

संक्रमण भएपछि के जुन स्वास्थ्य संस्थामा जाँदा पनि यो रोगको उपचार हुन्छ ?
–संक्रमित भएको खण्डमा वा शंका लागेमा तुरुन्तै स्वास्थ्यकर्मीको सुझाब लिनुपर्छ । तर, सबै स्वास्थ्यकर्मी वा स्वस्थ्य संस्थाले यो संक्रमणपछि उपचार गर्न सक्दैनन् । स्वासप्रश्वाससबाट सर्ने रोग भएकाले उचित सुरक्षा पोसाक नलगाई उपचारमा संलग्न हुँदा उल्टो स्वास्थ्यकर्मीलाई नै संक्रमण हुन्छ । संसारभर यथेष्ठ व्यवस्था तथा अनुभव हुँदाहुँदै पनि थुप्रै स्वास्थ्यकर्मीको यो संक्रमणबाट मृत्य भएको छ । तसर्थ, स्वासप्रस्वासको सरुवा रोग सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी हुनु आवस्यक छ । सबै अस्पतालमा यो रोगको उपचार गर्न आवश्यक पर्ने बिशेष व्यवस्था पनि हुँदैन । अनावश्यक दबाब दिएर अनुभवहिन स्वास्थ्यकर्मी वा अस्पतालमार्फत उपचार गराउन खोज्नु भनेको आफ्नो साथसाथै उपचारमा संलग्न स्वास्थ्यकर्मीको र अझ अस्पताल आउने अन्य बिरामी–आगन्तुकहरुको ज्यान पनि जोखिममा पार्नु हो ।

अन्तमा, यहाँका नागरिकलाई केही भन्न छ कि ?
–पहिलो त हात धुनुस अनि घर मै बस्नुस् । यदि तपाई स्वास्थ्यकर्मी होइन भने संक्रमित वा सम्भावित संक्रमितलाई भेट्ने, उनीहरुको जाँच–पड्ताल गर्नेजस्ता कार्य गर्दै नगर्नुस् । यदि तपाई तालिमप्राप्त हुनुहुन्न भने केवल मास्क र पन्जाले मात्र तपाईँलाई जोगाउँदैन । बिरामी वा संभावित संक्रमितलाई बाहेक अन्यलाई भने पूर्ण रुपमा आफ्नोतर्फबाट गर्न सक्ने सहयोग गर्नुस् । प्रमाणित तथा सम्भावित संक्रमितको हकमा भने संलग्न स्वास्थ्यकर्मीलाई सहयोग गर्नुस् । कुनै पनि बहानामा स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिनुहोस् । यता तपाई दबाब दिन लाग्दा उता अर्को बिरामीको ज्यान जान्छ । कुनै पनि औषधि वा अन्य उपचार पद्वति प्रमाणित भएको खण्डमा विश्व स्वास्थ्य संस्था जस्ता आधिकारिक निकायले सूचना जारी गर्ने नै छन् । अन्यथा, कुनै पनि अप्रमाणित बिधि उल्लेख गरिएका समाचार नपत्याउनुहोस् अनि सामाजिक संजालमा पनि सम्प्रेषण नगर्नुहोस् ।
आफुले बुझेका कुरा सक्नुहुन्छ भने अरुलाई पनि बुझाउनुुहोस तर अनुमानका भरमा केही पनि कुरा सम्प्रेषण नगर्नुहोस् । हो, बागलुङमा संक्रमण देखिएको छ, अब गम्भीर भएर सम्पर्कमा आएका प्रत्येक व्यक्ति आइसोलेशनमा बस्नैपर्छ । अति आवस्यक नपरी घर बाहिर निस्कने कार्य गर्नु हुँदैन । सामाजिक संजालमा संक्रमितप्रति देखिएको असंवेदनशील तथा अशोभनीय प्रतिक्रिया नै काफी छ ,किन संक्रमितहरु देखिन चाहदैनन् भनेर । संक्रमित हुनु पाप होइन, घृणा गर्न पाइँदैन । सक्नुहुन्छ भने सामाजिक सद्भाव देखाउनुहोस, ममता देखाउनुहोस्, आफ्नोतर्फबाट जनचेतना बाँड्नुहोस, कुनै रुपमा अफ्ठ्यारोमा परेकालाई सहयोग गर्नुहोस् । सक्नुहुन्न भने चुप लाग्नुहोस, दैलो थुन्नुहोस् अनि घरै बस्नुहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->