यतिबेला नेपालको सीमा क्षेत्रमा करिब १५ सय नेपाली अलपत्र छन् । भारतका विभिन्न क्षेत्रमा ज्याला मजदूरी गर्ने उनीहरु भारतमा फैलिएको कोरोना संक्रमणसँगै रोजगारी खोसिएपछि स्वदेश फर्कँदा सीमामै रोकिएपछि अलपत्र बनेका हुन् । कोरोना भाइरसबाट उत्पन्न विषम परिस्थितिबाट सृजित समस्या समाधान गर्न लागु गरिएको ‘लकडाउन’ देखाउँदै नेपाल प्रवेश नदिइएपछि उनीहरु अलपत्र परेका हुन् । दशगजामा उभिएर मातृभूमितर्फ चियाएका उनीहरु राज्यविहीन अवस्थामा पुगेका छन् । महाकालीको भेलमा हेलिएर मातृभूमि टेक्ने (दु)साहस प्रदर्शन गर्नेहरु पनि सुरक्षाकर्मीको घेरामा परेका छन् । भैरहवा क्षेत्रमा मातृभूमि छिर्ने आशामा बसेकाहरुलाई बलपूर्वक भारत नै फर्काइएको छ । उनीहरुको कारुण रुवाबासी सिंहदरबारले सुन्दैन । सिंहदरबारबा बस्नेहरु विश्व स्वास्थ्य संगठनको हवाला दिँदै ‘जो जहाँ छ, त्यहीँ बस्नुपर्ने’ रटान दिइरहेका छन् । यस्तो लाग्छ,‘देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मगलबार मात्रै अमेरिकाले र बुधबार कोरियाले आफ्ना नागरिक लगेको उनीहरुलाई पत्तै छैन । यो गैरजिम्मेवारीको पराकाष्ठा हो, आफ्ना नागरिकप्रतिको घात हो । निर्लज्जता हो ।
अम्बर गुरुङको ‘नौलाख तारा उदाए’ बोलको गीतमा जस्तै सुखको खोजीमा परदेशी भूमिमा गएका हैनन्,यी नागरिकहरु । दशगजामा भेला भएका ती असहायसँग नागरिकताको चिर्कटोले दिएको परिचय हैन, मातृभूमिप्रतिको अगाध आस्था र भरोसा थियो । रोगको डरले भाग्दै आएका उनीहरु आफ्नो जन्मथलो जान चाहन्थे । माटोको सुगन्ध लिन चाहन्थे । जो उनीहरुको अधिकार पनि हो । तर, उनीहरुको अधिकारमाथि राज्यले निर्मम लात प्रहार ग¥यो । उनीहरुको अधिकारमाथि धावा बोल्यो । विदेशबाट रेमिट्यान्स पठाएर अर्थतन्त्र धानिदिने उनीहरुसँग रुनुको विकल्प थिएन । राज्य भएर पनि राज्यविहीन बनाइएकाहरु भक्कानिए। शक्ति प्रदर्शन गर्ने खुवी उनीहरुसँग थिएन । सिंहदरबारसँग पहुँच हुने कुरै भएन । दूरी कायम गर्ने नियम त परको कुरा दशगजामा रात बिताउनेहरुलाई पशुतुल्य व्यवहार गरियो । हो, परिस्थिति संगिन छ । संगिन घडीमा कोरोना रोकथामको लागि अधिकत्म सावधानी जरुरी छ । मातृभूमि टेक्न लालायितहरुलाई देशभित्रैको सीमा क्षेत्रमा क्वारेण्टाइनमा राख्न सकिन्थ्यो । क्वारेण्टाइनमा राख्नुको सट्टा भारततिर नै फर्काउनु भनेको पिँढीमा आएका सन्ततीको लागि ढोका बन्द गरेजस्तो हो । राज्यले जहाँ जस्तो अवस्थामा भए पनि आफ्ना नागरिकहरुको दायित्व लिनुपर्छ । उनीहरुलाई सुरक्षा दिनुपर्छ । बुहानबाट विद्यार्थीको उद्धार गरेको सरकार अहिले किन यतिसाह्रो कठोर भयो ? प्रश्न यहीँनेर छ । ढोकामा आएको शत्रुलाई त बास दिनुपर्छ भन्ने मान्यता बोकेका हामीहरु के त्यति निर्दयी बनेका हौँ र ? अहिलेको सरकारी रवैयालाले यही देखाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा विदेश विभाग सदस्य विष्णु रिजालकै भनाई हेर्ने हो भने पनि राज्य आफ्नो कर्तव्यबाट च्यूत हुँदाको अवस्था हो यो !
राज्य भनेको भूगोल मात्रै हैन । भूगोलको निश्चित सीमाभित्र बसेर आफ्नो हैकम चलाउनु मात्रै सरकारको कर्तव्य हैन। नागरिकप्रतिको दायित्ववोध पनि हो । यो ध्रुब्रसत्यलाई सरकारले बुझ्नैपर्छ । दशगजामा पोखिएको आँसुले पोल्ने मात्रै हैन, आक्रोससमेत जन्माउँछ । जनताको आक्रोस बढ्यो भने सत्ताको लागि महंगो पर्छ । धेरै कुरा बिग्रिसकेको छ अपितु गल्ती सच्याउने मौका छ । अत: सीमा अलपत्र परेका नेपालीहरुलाई स्वदेशको ढोका खोल्ने काममा विलम्ब नगरौँ । मानवीयता र कर्तव्यको ख्याल गरौँ ।

