प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा संवोधन गर्दै ‘कोराना महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ’ भएको बताए । उनले अबको लडाइँको जीत पनि उनीहरुकै हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठामा अडेको भनेका छन् । सत्य हो, कोभिड-१९ विरुद्धको युद्धको अग्रमोर्चामा स्वास्थ्यकर्मीहरु नै रहेका छन् । अदृष्य भाइरसलाई हतियारले जित्न सकिँदैन । सकिने भए आणविक शक्तिसम्पन्न राष्ट्रहरु किन महामारीको चपेटामा पर्थे र ? सेता र हरिया बस्त्रधारी स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट मात्रै कोरोनामाथि विजय प्राप्त हुन्छ । प्रधानमन्त्रीले संवोधनमार्फत नै स्वास्थ्यकर्मीको भूमिकाको सह्राना गरेका छन् । युद्धको पहिलो मोर्चामा रहनेहरुलाई भत्ता, बीमा, स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिने आश्वासन दिएका छन् । राष्ट्रका कार्यकारीले संवोधनमार्फत प्रशंसा गर्नुअघि नै स्वास्थ्यकर्मीहरु युद्धको मैदानमा छन् । त्यो पनि पर्याप्त सुरक्षा सामग्री बिना ! उनीहरुले ज्यानलाई हत्केलामा राखेका छन् । सबैलाई थाहा छ, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को अभावमा संक्रमणको खतरामा पर्ने अग्रमोर्चामा रहनेहरु नै हुन् । अग्रमोर्चामा रहनेहरु नै संक्रमणमा परे भने त्यसले हजारौँलाई संक्रमित बनाउन सक्ने खतरा एकातर्फ छ भने ज्यान हत्केलामा राखेर काम गर्दाको मनोदशा कस्तो होला भन्ने कुरा झन महत्वपूर्ण छ । विश्वको अनुभवले परिस्थिति विषम छ भन्ने प्रमाणित गरेको सन्दर्भमा अग्रमोर्चामा रहनेहरु निश्चय पनि सुरक्षा र सुविधाको पहिलो हकदार छन् । प्रधानमन्त्रीको संवोधनमा त्यसको संवोधन हुनु खुुसीको कुरा हो ।
तर, पैसा र सुविधा मात्रै सबै कुरा होइन । पर्याप्त सुरक्षा सामग्री बिना, प्लाष्टिक लगाएर, मास्क नपाएर उचचारमा खटिएकाहरुको मानमर्दन कसैले पनि गर्नु हुदैन् । कसैबाट भयो भने पनि स्विकार्य हुनुहुदैन । सरकार र जिम्मेवार निकायमा रहेकाले त यसो गर्नु नै हुदैन् । यतिबेला सबै स्वास्थ्यकर्मीहरुको बिदा रद्ध गरिएको छ । उनीहरुले बिदा पाउँदैनन् । राजीनामा स्वीकृत हुँदैन । राज्यले उनीहरुलाई एकअर्थमा बलपूर्वक युद्धमैदानमा होमिन निर्देशन दिएको छ। तर, पर्याप्त हतियार बिना । संकटको घडीमा हिप्पोक्रेटिक ओथ लिएका डाक्टरहरु आफ्नो दायित्वबाट भाग्न मिल्दैन । चिकित्सा पेशा मात्रे हैन, सेवा पनि हो । राष्ट्र र मानवजातिलाई अप्ठेरो पर्दा मन, वचन र कर्मले सेवामा समर्पित हुने भएकैले चिकित्सकको अगाडि शीर नुगाइने हो ।
युद्धमा खटिनेहरुको मनोबल उकास्नु पर्छ । उनीहरुलाई प्रोत्साहित गरिनुपर्छ र आफ्नो दायित्व अनि कर्तव्यप्रति जिम्मेवार बनाउनुपर्छ । हतियार नदिने र मर्न जाऊ भन्ने शैलीमा गरिने निर्देशनले कसैको पनि मनोबल बढाउँदैन । उनीहरुलाई निरास बनाउँछ । हारेको मनोबलले युद्ध जितिँदैन । सुरुको चरणमा लाइसेन्स खारेज र कारबाहीसम्मका हौवा फैलाएर सरकारले त्यही गर्न नहुने काम ग¥यो । जुन जायज मात्रै नभएर मानवीय दृष्टिले पनि गम्भीर त्रुटि थियो । अब यो त्रुटिलाई सच्याउनुपर्छ । अहिलेसम्म पनि चिकित्सकहरुसँग पर्याप्त सुरक्षा सामग्री छैनन् । प्रधानमन्त्रीको संवोधनमा उल्लेख गरिएका सुरक्षा सामग्रीहरु आपतको बेला एकदिनको लागि पनि अपर्याप्त हुनसक्छन् । स्वास्थ्यकर्मीको सुरक्षा गर्न सकिएन भने महाविपत्तिबाट उम्कन सकिँदैन ।अतः चिकित्साकर्मीहरुलाई पर्याप्त सुविधाका साथै उपकरणहरुले लैस बनाउनैपर्छ । अपर्याप्ततामा पनि क्रियाशील स्वास्थ्यकर्मीलाई सवैले स्यालुट गर्नैपर्छ । अहिलेका युद्ध जित्ने बलिया हतिरयार नै उनीहरु हुन् । सवैले सहयोग गरौ र हौसला प्रदान गरौं ।

