बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कृषि र निर्माण क्षेत्रलाई खुकुलो पारौँ

कृषि र निर्माण क्षेत्रलाई खुकुलो पारौँ


  • Dhorpatan News
  • बैशाख ३ २०७७, बुधबार

लम्बिँदो लकडाउनले जनजीवन कष्टकर बन्दै गएको छ । कोरोना जित्न लकडाउनको विकल्प छैन तर लकडाउनको विकल्पबारे सोच्नुपर्ने जरुरी भने देखिएको छ । खासगरि कृषि र निर्माण क्षेत्रमा लकडाउनले असर गर्दा किसानहरु खेतिपाती लगाउन अवरोध सृजना भएको छ भने मजदूहरु भोकभोकै रहने अवस्था सृजना भएको छ । कृषि र निर्माण कार्य रोकिँदा कुल ग्राहस्थ उत्पादनमा असर पार्ने त निश्चित नै छ । यो खेतिपातीको बेला हो । गहुँ थन्क्याउने, मकै छर्ने र गोड्ने बेलामा काम गर्न नपाउँदा उत्पादनमा असर गर्ने नै भयो । अर्कोतर्फ निर्माण क्षेत्र ठप्प हुँदा मजदूरहरु हिँडेर नै आफ्नो घर जान बाध्य मात्रै भएका छैनन्, भोकभोकै बस्ने अवस्था पनि आउन थालेको छ । पोखराबाट मजदूरहरुले करिब ७ सय किलोमिटरको पैदलयात्रा तय गरेका छन् । यता बागलुङमा पनि उस्तै छ । पश्चिम रुकुम र दाङसम्म पैदलै हिडेका मजदुरको कथा छ । सहरी क्षेत्रमा जसोतसो बसेका मजदूरहरु पनि काम गर्न नपाउँदा निराश छन् । आर्थिक संकट चुलिँदै गर्दा उनीहरु झन निराश हुने निश्चित छ । हुनेखानेहरुलाई लकडाउनले खासै नछोए पनि जसलाई छोएको छ, उनीहरुको अवस्था कहालीलाग्दो छ ।
भारतले पुनः २१ दिन लकडाउनको समयावधि लम्ब्याएको छ । कोरोना संक्रमितहरु बढ्दै गएपछि भारतले यो निर्णय लिएको हो । यता, नेपाल सरकारले पनि लकडाउन वैशाख १५ गतेसम्म बढाएको छ । भारतसँगको खुल्ला सीमा तथा भारतबाट आएकाहरुमा संक्रमण देखिएपछि सीमा क्षेत्रमा कडाई पनि गरिएको छ । भलै, सीमामा सयौँ नेपाली अलपत्र छन् । उनीहरुमाथि मानवीय व्यवहार नभएका गुनासाहरु पनि सुनिएका छन् । दुःखको बेला देश खोजेकाहरुलाई देशले छिःछिः दूरःदूरः गरेको एउटा अवस्था छ भने, कोरोनाबाट देशलाई बचाउनु अर्को जिम्मेवारी छ । यो जिम्मेबारीलाई राज्यले उचित तरिकाले संवोधन गर्नुपर्छ । सीमामा आएकाहरुलाई देशभित्रकै क्वारेण्टाइनमा राखेर परीक्षणपछि घरजाने व्यवस्था गरिनुपर्छ ।
कृषि र निर्माण क्षेत्रको लागि भने निश्चित सर्त र सुरक्षा व्यवस्था गर्दै कामलाई निरन्तरता दिनुपर्छ । निर्माण क्षेत्रलाई निश्चित सुरक्षा घेरामा राखेर त्यहीँ भएका मजदूरबाट काम गराउँदा यसले कसैलाई हानी गर्दैन । यसको लागि पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलले अपनाएको विधि नै अपनाउन सकिन्छ । बाहिरका मान्छे भित्र पस्न नदिने हो भने संक्रमण फैलने डर रहँदैन र काम पनि रोकिँदैन । यो विधिलाई घर निर्माण र जलविद्युतजस्ता परियोजनामा पनि लागु गराउन सकिन्छ । निर्माण सामग्रीको व्यवस्थापनमा पनि यही पद्धति अवलम्बन गर्न सकिन्छ । त्यसो हुनसके मजदूरहरुले के खाने भन्ने चिन्ता रहँदैन । काम पनि बेलैमा सकिन्छ । पूँजी परिचालन हुन्छ । अर्थव्यवस्था मजबुत बन्छ । गाउँघरतिर अहिले पनि किसानहरु काममै छन् । किसानहरुलाई काम गर्न नदिने हो भने कृषि क्षेत्र ध्वस्त हुन्छ । निश्चित सामाजिक दूरी कायम गरेर कृषि कार्य गर्दा केही बिग्रदैन । सो क्षेत्रमा पनि विदेशबाट आएका तथा शंकाष्पद व्यक्तिहरुको सहभागिता निषेध गर्न सकिन्छ । कोरोना यही भूमिमा उब्जेको भाइरस हैन र संक्रमितसँगको सापिप्यताले मात्रै सर्छ भन्ने सबै नेपालीले बुझेका छन् । यस्तो अवस्थामा विदेशबाट आएकाहरु र संक्रमितहरुलाई भने निश्चित घेरामा राख्नैपर्छ । उनीहरुमाथि निगरानी गरियो र अन्य व्यक्तिको सम्पर्कबाट बञ्चित गरियो भने लकडाउनलाई खुकुलो बनाउँदा खासै बिगार गर्दैन । बरु, सरकारले संक्रमितहरुको पहिचान र उपचारको लागि भने आफ्नो पूरै सामथ्र्य लगाउनुपर्छ । अर्थतन्त्रमा पर्नेसक्ने नोक्सानलाई कम गर्न कृषि र निर्माण क्षेत्रको लकडाउनलाई खुकुलो पारौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->