शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरानाको पाठ : बलियो स्थानीयता

कोरानाको पाठ : बलियो स्थानीयता


  • शिवशरण ज्ञवाली
  • बैशाख ४ २०७७, बिहिबार

ढोरपाटनका कार्यकारी सम्पादक रामकृष्ण बोहरा बेलाबेला लेखाइका लागि मलाई फोन गरिरहनुहुन्छ । मेरो पुरानो साइनो छ ढोरपाटनसँग । दश बाह्र बर्षदेखि गन्थन लेखिरहेकै छु । कोरानाको गन्थन लेख्नु भन्ने रामकृष्णको आग्रह छ । कोराना एक त्यस्तो सामाजिक भाइरस रहेछ जसले सारा मानव उन्नति प्रगतिलाई लिलिपुट बनाइदियो । संसारका शासकहरूका घमण्डलाई चकनाचुर बनाइदियो । मानवीय क्षमता र सीमालाई गहिरो गरी बुझ्ने पाठ पढाइरहेको छ । निरकुंशताका विरूद्ध कथित प्रजातन्त्रको वकालत गर्नेहरूलाई इस् तेरो प्रजातन्त्र भनेर लखेटिरहेछ । शासक र जनता दुवै अनुशासित नभएका व्यवस्थामाथि प्रहार गरिरहेछ । अनुशासित बन, म बाट जोगिऊ भनेको छ । अराजकहरू अनुशासित बन्न सकिरहेका छैनन्, अनुशासितहरू कोरानाबाट जोगिएका छन् । तिम्रो जीवन तिमीसँग छ, स्वेच्छा गर भनिरहेको छ । समाधान स्थानीयतामा खोज, घरमै खोज, कोठाभित्रै खोज भनिरहेको छ । बाहिर चहार्न छोड भनेको छ ।
स्थानीयता न जनतालाई मन पर्छ न त शासकहरू नै त्यसमा जोड दिन चाहन्छन् । संसारभरका मानिसहरुको चाहना यायावरीयता हुँदोरहेछ । यता गए सुख हुन्छ कि उता गए सुख भौतारिएको छ, मानव । युरोप अमेरिका पहिला स्वर्ग थिए कोरानाले नरक तुल्याइ रहेको छ । कोरानापछि तङ्ग्रिदा कैयौंले आफ्नो रोजगारी गुमाउने छन् । जब मानिसहरू बेरोजगार हुनेछन् तब उनीहरूले आफ्नो घर सम्झने छन् । आफ्नो माटो समझने छन् । तैपनि तीमध्ये केही बाहिरै रमाउने छन् । स्थानीय औषधी बेलायतका युवराज चाल्र्सले मात्रै होइन सारा संसारभर प्रयोग भइरहेको सुनिन्छ । कोरानाबाट बच्न दुध बेसारको प्रयोग, ज्वानोको प्रयोग, टिमुर र लसुनको प्रयोग, गोमुत्र र स्वमूत्रपानको प्रयोग एसियाली देशहरूले गरेका खबर पनि आएका छन् । चिनियाँहरूले पनि स्थानीय औषधीमै जोड दिए रे । मेरो मामाको सरल सिद्धान्त छ पसिना सिद्धान्त । दिनको एकपटक कुनै पनि हालतमा पसिना बगाउनु है कोराना आउँदैन भन्ने मामाको तर्क छ । मामाको तर्कको वैज्ञानिक पुष्टि डाक्टरहरूले गरेकै छन् ।
स्थानीयता खोज्ने हौं भने हामी कृषक हौं । घरको बारी, करेसामा तरकारी खेती गर्न त हामीलाई कसैले सिकाउन पर्दैन, सिमेन्टका घरको छतमा समेत हामीले खेती गरेकै छौं । स्मरणरहोस्, सिमेन्टेड घर हाम्रा होइनन् किनकी सिमेन्ट मरूभूमिका लागि हो । मौलिकता मास्ने क्रम हाम्रोमा अत्यन्तै तीव्र छ । आयातित कुरा नै हामीलाई प्रिय छ, कोरोनाबाहेक । बाध्यता कोरानाले किन छाड्थ्यो र छाडेन । हाम्रो पुस्ता हाम्रा घरेलु औषधी जान्दैनन् । हाम्रै आमाबाले जानेका कुरा हामी जानेनौं । नजान्नुमै हामीलाई खुब जान्ने लाग्यो । तब न हाम्रा पुर्खाहरूको जीवनशैली ठीक जस्तो लाग्न थाल्यो । हामीलाई जुत्ता लगाएर खान मन पर्छ तर हाम्रा पुर्खाहरू कहिल्यै त्यसो गरेनन् ।
शिक्षकले अलिअलि जानेको भनेकै शिक्षाको कुरा हो । नेताहरू जस्तो सबैकुरा जानिदैन ! एकदिन क्याम्पसको चौरमा उभिएका थियौं । भित्रबाट बिबिएसका हुलका हुल विद्यार्थीहरू बाहिरिए । मेरा अग्रज मित्रले यिनीहरुले पढेर के हुन्छ भन्ने ठानेर पढे होलान् भनी जिज्ञासा राख्नुभयो । मैले तपाईं किन पढाउनु हुन्छ ? भनेर प्रश्न गरे । उहाँले जागिरका लागि पढाको भन्नु बाहेक अर्को थोक भन्न सक्नुभएन । त्यही छलफल हुँदा नेपालको शिक्षाको जग बसालेको नयाँ शिक्षा योजनाको योगी नरहरिनाथले विरोध गरेको कुरा आयो । योगी नरहरिनाथका बारेमा आजसम्म बुझ्न नसक्नु आफैका लागि लाजमर्दो कुरा हो । त्यही नयाँ शिक्षा नीतिका कारण तत्कालीन व्यवस्था त खतम भयो नै देशको समेत दुर्दशा भयो । आफ्नो मौलिकतामाथिको पहिलो प्रहार थियो, त्यो शिक्षा नीति । राष्ट्रियताको अग्रमोर्चामा रहेका राजा महेन्द्र शिक्षा व्यवस्थाका निर्माणमा भने नराम्ररी चुकेको देखिन्छ । महेन्द्रीय गलत शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो । फलतः बेरोजगार युवाहरु राजनीतिमा लागे ।
यो क्रम पंचायतको अन्त्यदेखि २०६२÷०६३ को आन्दोलनसम्म आइपुग्यो । सशस्त्र र निशस्त्र दुवै प्रकृतिका आन्दोलनमा शिक्षित बेरोजगारको उल्लेख्य सहभागिता रह्यो । त्यसकारणले गर्दा राजनीतिक व्यवस्था अस्थिर बन्न पुग्यो भने मुलुक पटकपटक प्रयोगशाला बन्यो । यो क्रम अझ चलिरहने निश्चित छ । हिजो राजनीतिक मुद्दामा मानिसहरूको आकर्षण थियो तर आज वितृष्णा छ । निराशाको स्वरूप बदलिएको छ । युवाहरू राजनीतिक आन्दोलनमा छैनन्, पलायनमा छन् । युरोप अमेरिका मोह छ । पैसा नै सर्वस्व भयो । बाउआमाले खाइनखाइ जोगाएको मूल्यवान् सम्पति रूपैयाँ खर्चेर युवाहरू पलायन भएका छन् । चालिस लाख खर्चेको नदेख्ने तर उसले दश लाख पठाको देख्ने बानीमा नेपाली अभ्यस्त भका छन् । पाँच हजार पनि खपत गर्न नसक्ने शिक्षाले सर्वनाश बनाएको छ । यसो भन्दै गर्दा प्रश्न उठ्छ शिक्षा कहाँनेर त्रुटिपूर्ण भयो त ? नेपाल कृषिप्रधान मुलुक हो । बजारमा बस्ने नेपालीहरूले घरका छतमा, कौसीमा सीमित स्रोत साधनका बीचमा पनि खेतीपाती गर्नुले कृषिप्रतिको मोह पुष्टि हुन्छ तर हामीले यो परम्परागत रूपमा सिकेका हौं । अबको बजारमा बस्ने पुस्ताले किताब बाहेक अर्थोकबाट सिक्ने अवसर छैन । परम्परामा जीवनदर्शन हुन्छ, औषधीमूलो हुन्छ । सिर्जना हुन्छ, स्वास्थ्य हुन्छ । बौद्धिक र शारीरिक श्रम हुन्छ । वर्तमान शिक्षाले थोरै बौद्धिक श्रम बाहेक अर्थोक केही गराउँदैन । शारीरिक श्रम नहुँदा मानिसहरू कुण्ठित भएका छन् । शारीरिक श्रम बिना बौद्धिकताले गुणात्मकता प्राप्त गर्न सक्दैन ।
कृषि शिक्षा कृषि प्रधान मुलुकको उन्नतिको आधार हो । तर हाम्रो शिक्षाले कृषि शिक्षा दिन सकेन । फलतः दुई चारका लागि दिनुपर्ने शिक्षा आम जनतामा लागू गरियो । तर न पढ्ने उत्साहित भयो न पढाउने नै ? शिक्षाले माटोको माया दिन सक्नुपथ्र्याे । माटोको माया दिन नसक्ने शिक्षाले मानिसलाई निराश बनेर भौतारिन बाध्य बनायो । ढाँट छलमा पोख्त बनायो । छात्रवृत्तिमा पढ्न गको डाक्टर उतै लुकेर बस्छ । खेल्न गको खेलाडी, नायक नायिका, गायक गायिका सबै उतै लुक्ने बनायो । सक्ने बडाबडा देश जाने, नसक्ने शहर पस्ने बनायो । यो मेकाले शिक्षाको परिणाम हो ।
अन्यत्र उत्पादन घटे पनि गाउँमा यसपालि उत्पादन बढ्ने निश्चित छ । युवापुस्तामा कोरानाले सिर्जना गरेको बन्दले छटपटी बनाएको छ । बाबजुद गाउँ भरिएका छन् । गाउँमा खेतखलो बारीमा कृषि काम भइरहेको छ । केही मिडिया गाउँमा कृषि काम गरे भनेर कोहोलो हालिरहेका छन् । सरकारले कृषि काम गर्न हुन्छ भनेर जवाफ दिइरहनुपरेको छ । गाउँ आफै क्वारेन्टाइनमा छ । एक घरबाट अर्को घर पुग्न दश मिनेट लाग्छ । सामाजिक दुरी कायम छ । रेडियो टेलिभिजनबाट अनलाइनबाट प्रेषित हुने त्रासद समाचार र त्यसको अनावश्यक विश्लेषणमा भुल्नु पर्ने बाध्यता छैन । वरिपरि रमणीय र हरियाली बातावरण छ । पैसाका लागि दौडधुप छैन । तर बिडम्बना यस्तै गाउँमा बस्न र निम्नस्तरको काम गरेर पिआर लिन विदेश पुग्ने युवाहरुलाई यो महत्व बुझाउन सकिएन । नेपाली अर्थतन्त्र कमजोर हुँदा त्यसको अनुचित लाभ विदेशले लियो । निर्यातमा होइन आयातमा मुलुक चलिरहेको छ । श्रमबिनाको शिक्षा कति अपुरो हुन्छ भन्ने कुरा अरबले सिकाइरहेका छन् । दशबाह्र बर्ष नेपाल पढेर गको युवाले दुई तिन वर्षमा श्रम सिकेर आउँछ ।
मेरो घरमा तिन लिचीको बोट छन् । हामी ससाना हुँदा अर्घाखाँचीबाट ल्याएर खाल्टो खनेर रोपेका थियौं, हामी दुई भाइले । आज ती विरुवाले निकै राम्रो फल दिइरहेका छन् । ती विरुवाको माया मलाई सबैभन्दा बढी लाग्छ । केही महिना पहिला आमा क्यानडाबाट आउनु भो । छ महिना बस्दा आमालाई घरको सबैभन्दा बढी माया थियो । बारम्बार चिन्ता लिनुहुन्थ्यो । माटोमा गरेको श्रमले नै यस्तो माया लागेको हो । त्यसतो श्रम शिक्षा खोइ ?
नेपालको संविधानमा माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । तर स्थानीय तहका जनप्रतिनिधिहरूले त्यो अधिकार प्रयोग गर्न आँट गर्न सकेका छैनन् । आफ्नो तहको आवश्यकतामा आधारित शिक्षा लागू गर्न सकिन्छ भन्ने विश्वास उनीहरूलाई छैन । राज्यले स्रोतको सही प्रयोग गरेर आवश्यकता पहिचान गर्ने आँट उनीहरूमा छैन । उनीहरूले त्यसको सार बुझेनन् । यतिबेला बौद्धिक खालका कृषिमन्त्री र शिक्षामन्त्रीहरू हुनुहुन्छ । उहाँहरूका बीचमा कृषि शिक्षाका लागि सहकार्य हुनु आवश्यक छ । कृषि शिक्षा सरलीकरण गर्नु आवश्यक छ । त्यसो भए स्रोत वितरण तल्लो तहसम्म पनि हुनसक्छ । तल्लो तहसम्म स्रोत वितरण नहुँदासम्म र युवाहरूलाई मुलुककै श्रममा नलगाउँदासम्म देश विकास सम्भव छैन । कोरानाजस्ता महामारीबाट बच्ने आधार पनि यही बाटोबाट सम्भव होला । आखिर युरोप अमेरिकाको हालत पनि देखियो नि ! तसर्थ स्थानीयलाई माया गरौं, विकल्प अर्को छैन । चेतना भया !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->