प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वस्थ छैनन तर उनको सक्रियता सह्रानीय छ । उनी स्वयंको आइतबार सार्वजनिक अन्तर्वार्तालाई आधार मान्ने हो भने, प्रधानमन्त्री अहिले पनि १६ घण्टा क्रियाशिल हुन्छन् । बालुवाटर बसेर देश चलाउँछन्, सामाजिक सञ्जालमा फैलिएका सूचना हेर्न भ्याउँछन् अनि पार्टीका गतिविधिहरुप्रति पनि उत्तिकै क्रियाशिलता जताउँछन् । प्रधानमन्त्रीको क्रियाशिलतालाई अन्यथा लिनुपर्ने कुनै कारण छैन । कोरोना महामारीबाट मुक्तिको लागि जनताले उनीबाट यस्तै क्रियाशिलताको अपेक्षा गरेका छन् । तर, जनचाहना एउटै हो,‘क्रियाशिलता परिणाममुखी होस् ।’ सरकारले लगाएको लकडाउनको पूर्ण पालना पनि संकटको यो घडीमा हामी सरकारसँगै छौँ भन्ने नै हो । सरकार संकट मोचकको भूमिकामा हुनैपर्छ । प्रधानमन्त्रीले अन्तर्वार्ताको क्रममा जनताबाट सहयोगको अपेक्षा राख्नु अन्यथा थिएन । तर, केही विषयमा भने प्रधानमन्त्रीको अभिव्यक्ति पद सुहाउँदो देखिएन । उनले लकडाउनको बेला भोकभोकै र खाली खुट्टा सयौँ किलोमिटर यात्रा गर्नेहरुप्रति सहानुभूति मात्रै देखाएनन् नै त्यसमा सञ्चार माध्यमको भूमिकामा षड्यन्त्र देखे । हिजो सिडियोको आदेशमा प्रहरीबाट यातना भोगेका प्रधानमन्त्रीले दुबैको हवाला दिँदै उनीहरुले थाहा नपाएको कुरा पत्रकारले कसरी थाहा पाए ? भन्ने प्रश्न तेस्र्याए । पत्रकारको गतिविधिमाथि उनले आशंका व्यक्त गरे । यसले उनी कतै यसअघि आफुले नै भनेजस्तै असहिष्णु र अविवेकीहरुको सल्लाहमा चलेका त छैनन् भन्ने प्रश्न खडा गराइदिएको छ । सरकारका अंगहरुले पत्रकारले पाएपछि मात्रै धेरै खबर पाउने गरेका छन् भन्ने कुरा प्रधानमन्त्री स्वयमले बुझ्न ढिला गर्नु हुदैन ।
राज्यले कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाले पनि कार्यान्वयन गर्ने निकायले ढिला गर्दा समस्या भएको कुरा कसैबाट छिपेको छैन । कोरोना भाइरस विरुद्ध लकडाउनको हतियार उचालेको सरकारले मजदूर र गरिखानेहरुबारे समयमा नै थोरै मात्र सोचेको भए, उनीहरु हिँडेर सयौँ किलोमिटर टाढा जाँदैनथे । संचारमाध्यमहरुले त जस्ताको तस्तै सडकका मान्छेको दुःख देखाएका न हु्न् । यही दुःख देखेर केही स्थानीय तह र मन हुनेहरुले उनीहरुलाई खाना र बासको व्यवस्था मिलाएका पनि हुन् । पार्टीकै अर्का अध्यक्ष प्रचण्डले समेत अप्ठेरोमा परेकाहरुलाई घरसम्म छाड्नुपर्ने र नागरिकलाई सीमामा त्यसरी राख्नु उचित नभएको समेत बताएका थिए । संचारमाध्यमले गरेको यो सह्रानीय कार्य सरकारको विरोध थिएन र हैन पनि । सीमामा थुनिएका नागरिकहरुलाई देश भित्र्याएर यतैको क्वारेण्टाइनमा राखेको भए प्रधानमन्त्रीको राष्ट्रवादी छवि झन उचो हुने निश्चित थियो । नागरिकलाई सीमामा अलपत्र नछाड् भन्नुलाई विरोध मात्रै हो भन्ने प्रधानमन्त्रीले जसरी बुझे, त्यो युक्तिसंगत थिएन । कोरोनाविरुद्धको अभियानकै क्रममा ओम्नी समूहसँग भएको सम्झौताबारे कुरा उठाउनु मिडियाको गल्ती थिएन ।
गल्ती गर्नेलाई कारबाही गर्छु भन्ने प्रधानमन्त्रीले यो विषयलाई नियामक निकायले हेर्ने त बताए तर संकटको बेला हात बाँध्ने काम नगर्न पनि भने । तर एक्सनमा उनी देखिएनन् । यसले प्रधानमन्त्री एक्लै अगाडि हिँड्न खोजेको आभाष भयो । उनी आम नागरिकबाट मात्रै नभएर पार्टी पंक्तिबाट पनि आलोचित बने । आलोचनाको श्रृंखला जारी छ । तर, प्रधानमन्त्री डेग चलेका छैनन् । संचार माध्यमप्रति तुष देखाउँदैमा समस्या समाधान हुँदैन । संचार माध्यमलाई मौन राख्न खोज्नु उल्टो बाटोको यात्रा हो भन्ने बुझ्नु पर्दछ । प्रधानमन्त्री ओली आफैमा लामो त्याग र बलिदानीबाट बनेका नेता हुन् । आशा छ, प्रधानमन्त्रीले पक्कै पनि उल्टो बाटो रोज्ने छैनन् । सकारात्मक सुझावलाई विरोध होइन, सुधारको लागि आलोचना सम्झने छन् । र, मिडियाले देखेका कुरामा एक्सनमा उत्रिएर परिणाम निकाल्ने छन् ।

