शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउन एक अवसर

लकडाउन एक अवसर


  • नविन किशोर गैह्रे
  • बैशाख २० २०७७, शनिबार

नेपालमा इन्टरनेट एकातिर सुस्त गतिको छ भने अर्काेतिर अधिकांस विद्यार्थीको पहुँचमा छैन त्यसैले अनलाइन कक्षा सम्भव छैन भन्ने आवाज पनि नउठेको हैन । प्रत्यक्ष सिकाई पद्धतीनै प्रभावकारी नभएको मुलुकमा भर्चुअल सिकाई कति उपलब्धीमूलक होला ? प्रश्न उठ्नु स्वभाभिकनै हो ।

कोरोनाको त्रास जारी छ । बैशाख २५ गतेसम्मलाई लकडाउन थपिएको छ । यो भाइरस बिरुद्धको खोप वा औषधी पत्ता नलागेसम्म विश्व कोरोनामुक्त नहुने निश्चितजस्तै छ । यस्तो अवस्थामा लकडाउन अरु लम्बिने अनुमान गर्न सकिन्छ । केही गरी लकडाउन अन्त्य भैहालेमा पनि जनजीवन सहज हुनेछैन । कोरोनाका कारण हरेक क्षेत्रमा हुने क्षतिलाई जतिसक्दो कम गर्ने उपाय अपनाउँदै यो माहामारी र लकडाउनले ल्याएका अवसरको पहिचान गर्न सकियो भने समृद्ध नेपाल निर्माणको सपना साकार पार्न सहज हुने छ ।
समृद्धिको आधार :
कुनै देशले हासिल गरेको आर्थिक विकास त्यो देशको समृद्धि मापन गर्ने औजार हो । आर्थिक विकास मूलत ः रोजगारीको सिर्जना र नागरिकको समृद्ध जीवनयापनमा केन्द्रित रहने क्रियाकलाप हुन । आर्थिक बृद्धिदर, कुल ग्राहस्थ उत्पादन, रोजगारीको अवस्था, गरीवि दर, मानव विकास सूचकांक, जीवनस्तरमा बढोत्तरी जस्ता सूचकहरुले आर्थिक विकासको मापन गर्दछन् । नेपाल विकासोन्मुख राष्ट्र हो र यसको प्रमुख उद्देश्यमध्ये पनि प्राथमिकतामा आर्थिक विकासनै रहेको छ । उल्लेख्य आर्थिक विकास हासिल गर्नका लागि भूमिका खेल्ने धेरै कारकमध्ये शिक्षा पनि एक हो ।
शिक्षा विकासको ढोका हो । बितेका बीस वर्षको मात्र समीक्षा गर्ने हो भने पनि विकासको यो ढोकालाई मजबुत बनाउन विश्वव्यापी रुपमै धेरै प्रयास भएका छन् । नेपालमा पनि सबैका लागि शिक्षा, दीगो विकास लक्ष्य, विद्यालय क्षेत्र सुधार कार्यक्रम र विभिन्न सरकारी, गैरसरकारी र अन्तराष्ट्रिय गैरसरकारी संस्थाका परियोजनाद्वारा शिक्षाको विकासमा पहल गरिंदै आएको छ ।
शिक्षाले व्यक्तिलाई ज्ञान र सीप दिई विश्व बजारको लागि प्रतिष्पर्धी बनाउँछ । प्रभावकारी उत्पादन र व्यक्तिको बढेको कार्यक्षमताले राष्ट्रको आर्थिक विकासमा सहयोग पुर्याउने नै भैहाले ।
यति मात्र हैन आर्थिक विकासका लागि आवस्यक सभ्य र अनुशासित समाज निर्माण गर्ने कामसमेत शिक्षाले नै गरिरहेको हुन्छ । शिक्षा व्यावहारिक परिवर्तन पनि हो । उद्यमशिलता व्यक्तिमा अन्तैनिहित गुण हो वा शिक्षाबाट प्राप्त गर्न सकिने भन्नेमा बहस गर्न सकिन्छ । तर शिक्षाले व्यक्तिमा उद्यमशील मनोवृत्तीको प्रबर्धन गरिरेको हुन्छ । उद्यमशील नागरिक राष्ट्रको दीगो आर्थिक विकासका मेरुदण्ड नै हुन् ।

शिक्षक अरु काम नपाएपछि गरिने पेशाको रुपमा विकास भयो । शिक्षक उत्प्रेरित हुनै सकेनन् । अति आवस्यक नपरेसम्म शैक्षिक अध्ययन र अनुसन्धान हुँदै भएनन् । ज्ञान वा सीपका स्रोत किताबबाट गेसपेपरमा र गेसपेपरबाट शिक्षकले दिने नोटमा खुम्चिए । परीक्षा मर्यादित हुन छाडे ।

हुन के पथ्र्याे, भयो के ?
शिक्षा ज्ञान वा सीपसँग जोडिन पथ्र्याे । विद्यार्थीले सम्बन्धित विषयमा हासिल गरेको ज्ञान वा सीपलाई प्रयोग गरेर श्रम गर्न सक्नु पथ्र्याे । यसरी गरेको श्रमबाट व्यक्तिको आयआर्जन हुन पथ्र्याे र त्यो आर्जनलाई पूँजीको रुपमा लगानी गर्दै थप रोजगारी र आर्थिक गतिविधिका माध्यमद्वारा अरु पूँजी निर्माण गर्दै जानु पर्दथ्यो । शिक्षक पेशा समाजको सबैभन्दा मर्यादित पेशा बन्नु पर्दथ्यो । अध्ययन र अनुसन्धानका माध्यमबाट प्राप्त नतिजालाई पृष्ठपोषणको रुपमा लिंदै शिक्षालाई वैज्ञानिक बनाउँदै लग्नु पर्दथ्यो । नेपालको शिक्षा प्रणालीले विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सक्नु पर्दथ्यो । तर भयो ठिक उल्टो ।
पुरानो शिक्षा प्रणालीको उपादेयता सकियो भनेर २०२८ मा नयाँ शिक्षा पद्धती ल्याइयो । १० वर्ष पुग्दा नपुग्दै त्यसलाई असफल मानियो र अर्को प्रणाली अपनाइयो । त्यसपछि पनि अहिलेसम्म आइपुग्दा धेरै पटक शिक्षा प्रणाली परिवर्तन भयो तर कुनै पनि नीति वा पद्धतीले शिक्षाको उल्लेखित उद्देश्य प्राप्तिको दिसा लिन सकेन । २०४६ को राजनैतिक परिवर्तन पछि अवलम्वन गरिएको अर्थव्यवस्थाका कारण शिक्षामा व्यापारिक लगानीले व्यापकता पाउन थाल्यो । सामुदायिक विद्यालयको क्रमश ः खस्कँदो स्तरले नीजि विद्यालयले फस्टिने मौका पाए । लगानीकर्ताको ध्यान मुनाफा कसरी धेरै कमाउने भन्नेमा र विद्यार्थीको ध्यान परीक्षा कसरी पास गर्ने भन्नेमा केन्द्रित हुन थाल्यो । शिक्षक अरु काम नपाएपछि गरिने पेशाको रुपमा विकास भयो । शिक्षक उत्प्रेरित हुनै सकेनन् । अति आवस्यक नपरेसम्म शैक्षिक अध्ययन र अनुसन्धान हुँदै भएनन् । ज्ञान वा सीपका स्रोत किताबबाट गेसपेपरमा र गेसपेपरबाट शिक्षकले दिने नोटमा खुम्चिए । परीक्षा मर्यादित हुन छाडे ।
विश्वविद्यालय राजनैतिक भागवण्डामा चल्न थाले । कर्मचारी, शिक्षक नियुक्ति र प्रवेश परीक्षामा अनियमितताका घटना छरपष्ट हुन थाले । नेपालको शिक्षा क्षेत्र तीब्र गतिमा ओरालो लाग्यो र अपेक्षित परिणाम प्राप्त गर्न सकिएन । विद्यालय होस वा विश्वविद्यालय शिक्षा, राष्ट्रिय र अन्तराष्ट्रिय श्रमबजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तीको उत्पादनमा अपवादलाई छोडेर पूर्णतः असफल छ ।
नेपालका विश्वविद्यालयबाट दीक्षित अधिकांस विद्यार्थी श्रम बजारमा प्रवेश गर्दा कुहिरोको कागजस्ता हुन्छन् । उनीहरुसँग न बजारको आवस्यकता अनुसारको ज्ञान वा सीप हुन्छ न उनीहरुले हासिल गरेको ज्ञान र सीप बजारमा खपत हुन सक्छ । परिणाम विश्वविद्यालयको डिग्री हासिल गरेको व्यक्ति बैदेशिक रोजगारीको लागि म्यानपावरका दैला धाउन थाल्छ वा अवसादको चपेटामा पर्छ ।
लकडाउनले देखाएको अवसर :
कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले नेपालको शिक्षा व्यवस्था ठप्प बनेको छ । लाखौं विद्यार्थी विद्यालय वा कलेज जानबाट बञ्चित छन् । निकै महत्व राख्ने एसईई, कक्षा ११ र १२ र सीटीईभीटीका लगाएत अन्य परीक्षा स्थगित छन् । अवस्था प्रतिकुल छ तर कालो बादलको वरीपरी चाँदीको घेरा हुन्छ भनेझैं यो लकडाउनले सुनौलो अवसर पनि सँगै लिएर आएको छ ।
लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि दूरशिक्षाको महत्व महसुस भएको छ । अनलाइन कक्षा शुरु भएका छन् । एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर रेडियो र टीभीमार्फत कक्षा सञ्चालन भएका छन् । कतिपय शैक्षिक संस्थाले आफ्नै एप्लिकेशन र वेबसाइट बनाएर त्यसैबाट कक्षा चलाएका छन् । एप्लिकेशन र वेबसाइट नभएका संस्थाले जुम, गुगल मीट, स्काइप र फेसबुक मेसेञ्जरजस्ता एप्लिकेशनमा कक्षा शुरु गरेका छन् । ढिलो चाँडो नेपालमा शैक्षिक गतिविधिमा सूचना प्रविधिको यति व्यापक प्रयोग हुनुनैं थियो । लकडाउनले चाँडै गरायो ।
नेपालमा इन्टरनेट एकातिर सुस्त गतिको छ भने अर्काेतिर अधिकांस विद्यार्थीको पहुँचमा छैन त्यसैले अनलाइन कक्षा सम्भव छैन भन्ने आवाज पनि नउठेको हैन । प्रत्यक्ष सिकाई पद्धतीनै प्रभावकारी नभएको मुलुकमा भर्चुअल सिकाई कति उपलब्धीमूलक होला ? प्रश्न उठ्नु स्वभाभिकनै हो ।

शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा बदनाम हुँदै गएको नेपालको शिक्षा क्षेत्रलाई अहिले समीक्षा नगरे कहिले गर्ने ? हामीले लागु गरेको पाठ्यक्रम कति सान्र्दभिक छ ? राष्ट्रिय वा अन्तराष्ट्रिय श्रम बजारको आवस्यकतालाई यसले कति सम्बोधन गर्न सक्छ ? गम्भीर मन्थन गर्ने र आवस्यकता अनुसार समय सान्दर्भिक हुने गरी परिमार्जन गर्नेतर्फ जिम्मेवार निकायले सोंच्नु जरुरी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ९६५ घरपरिवारसँग मोबाइल फोनको सुविधा भएको, ती मध्ये ६१५ ले स्मार्ट फोनको प्रयोग गर्ने र ५९५ ले मोबाइल फोनबाट इन्टरनेट चलाउँछन् भन्ने तथ्यांक छ । त्यस्तै ३४५ ले ब्रोडब्याण्ड र वाइफाईको प्रयोग गर्छन् । कम्प्युटर वा ल्यापटप प्रयोग गर्ने व्यक्तिलाई जोड्दा इन्टरनेटका प्रयोगकर्ताको संख्या अझ धेरै हुन्छ । यो तथ्याङ्कले यद्यपी नेपालमा डिजिटल डिभाइड कायम रहेपनि सरकारको सानो प्रयासले धेरै कम हुनसक्ने आशा जगाउँछ । देशका हरेक स्थानमा सहुलियत शुल्कमा गुणस्तरीय इन्टरनेटको पहुँच विस्तार गर्ने र विद्यार्थीलाई मोबाइल र ल्यापटप खरीद गर्न सहुलियत वा अनुदान दिने हो भने इन्टरनेटको विस्तार अझ धेरै हुनेछ । त्रिभुवन विश्वविद्यालयले बनाए जस्तो अनलाइन कक्षा सञ्चालन सम्बन्धी आचारसँहिता र निर्देशिका अन्य संस्थाले पनि बनाउँदा प्रभावकारिता बढ्नेछ ।
पाठ्यक्रम, शिक्षण र मूल्याँकन सम्पूर्ण शैक्षिक क्रियाकलापका आधार हुन् । एउटामा मात्रै कतै केही कमी भयोभने समग्र प्रणाली खल्बलिन्छ । शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा बदनाम हुँदै गएको नेपालको शिक्षा क्षेत्रलाई अहिले समीक्षा नगरे कहिले गर्ने ? हामीले लागु गरेको पाठ्यक्रम कति सान्र्दभिक छ ? राष्ट्रिय वा अन्तराष्ट्रिय श्रम बजारको आवस्यकतालाई यसले कति सम्बोधन गर्न सक्छ ? गम्भीर मन्थन गर्ने र आवस्यकता अनुसार समय सान्दर्भिक हुने गरी परिमार्जन गर्नेतर्फ जिम्मेवार निकायले सोंच्नु जरुरी छ । प्रत्येक विद्यार्थी र शिक्षकले पाठ्यक्रमले राखेको उद्देश्यमा स्पष्ट भई सोही अनुसारको शिक्षण विधि अपनाउन आवस्यक छ । मूल्याँकनबाट प्राप्त नतिजालाई पृष्ठपोषणको रुपमा लिने र सुधार गर्न पर्ने ठाउँमा सुधार गर्दै लाने सैद्धान्तिक कुरालाई प्रत्येक सरोकारवालाले व्यवहारमै उतार्ने पद्दतीको विकास गर्न अत्यन्त जरुरी छ । लकडाउनको समाप्तीपछि विदेशमा रहेका लाखौं युवाहरु स्वदेश फर्कने छन् । ती युवालाई नेपालमै उद्यमी बनाउने हेतुले सीप विकास योजना बनाई कार्यान्वयन गर्न सक्ने हो भने नेपालको राष्ट्रिय पूँजी निर्माणमा ठूलो सहयोग मिल्ने छ ।
उपसंहार
धेरै मुलुकले कठिन र जटील परिस्थितिलाई अवसरको रुपमा लिएर कार्य गर्दा अहिलेको विकास हासिल गरेका हुन् । नेपालमा पनि शिक्षा क्षेत्रमा प्याराडाइम सिफ्ट गर्न अहिलेको लकडाउनले गतिलो पाठ सिकाएको छ । शैक्षिक गतिविधीमा सूचना प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षालाई रोजगारी वा उद्यमशीलतासँग जोड्ने गरी आमूल परिवर्तन गर्ने यो अवसर यदी अहिले खेर फाल्यौं भने धेरै ढिलो हुनेछौं । यो अवसरलाई छोपेर व्यवहारिक शिक्षाको प्रभावकारी कार्यान्वयन गर्यौं भने कोरोना महामारी पछिको नेपाल साँच्चिकै समृद्ध नेपाल र नेपाली साँच्चिकै सुखि नेपाली हुनेछन् ।
twitter : navin_kiran
(लेखक आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ–१३, स्याङ्जाका प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->