राज्य कोरोना भाइरसविरुद्धको लडाईँमा छ । संक्रमितको संख्या बढ्दै गए पनि नेपालमा कोभिड-१९ का कारण कसैको मृत्यु भएको छैन । दक्षिण एसियाली देशमध्ये नेपालमा नै पहिलो पटक कोरोना देखिएको हो । चीनको वुहानबाट आएका नेपालीमा कोरोना देखिएसँगै नेपालले कोरोनाविरुद्धको अभियान थालेको हो । भलै,पहिलो चरणमा नेपालको अभियान भरपर्दो थिएन । वुहानबाट ल्याइएका विद्यार्थीहरु संक्रमित नभएको पाइएपछि सरकारका मन्त्रीहरुले नै देश कोरोना मुक्त भएको र चीनबाट पर्यटक ल्याउने जस्ता हल्का अभिव्यक्ति दिन पुगे । तयारीप्रति सरकार संवेदनशील बन्न सकेन । बेलैमा अन्तर्राष्ट्रिय उडानबाट आउने तथा सीमा नाकामा कडाइ गर्नेतर्फ ध्यान पुगेन । यही कारणले नेपालमा संक्रमण बढ्दै गयो । तर पनि, कोरोना नियन्यत्रमा सरकारले पछिल्लो समय देखाएको सक्रियता दक्षिण एसियाली देशमा अघिल्लो पंक्तिमा नै रहेको छ । कोरोनाविरुद्धको अभियानमा भुटान मात्रै नेपालभन्दा अघि छ । नेपालमा अहिले पिसिआरमार्फत १६ ठाउँमा र देशका सबै जिल्लामा ¥यापिड टेष्ट गरिएको छ । जति बढी टेष्ट गरियो, त्यति नै संक्रमण घटाउन मद्दत पुग्छ । सीमित स्रोत र साधनका बीच सरकारले देखाएको क्रियाशिलतामा औंला उठाइहाल्नुपर्ने अवस्था नभए पनि गर्नुपर्ने कामहरुको फेहरिस्त लामो छ । कोरोना संक्रमणबाट जोगाउन देशमा लकडाउन लागु गरियो । लकडाउन जारी छ । लकडाउन जारी हुँदा यसले समग्र अर्थतन्त्र प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरुले हातमुख जोर्न पाएका छैनन् । उनीहरुलाई राहत त दिइएको छ तर राहत बितरणमा पनि गुनासो गर्ने ठाउँ रहेको छ । देशले कोरोनाबाट कहिले मुक्ति पाउँछ, यसै भन्ने अवस्था छैन । तर, कोरोनाबाट मुक्त भएपछि के गर्ने भन्नेबारे अहिलेदेखि नै योजना बनाउनु अत्यावश्यक रहेको छ ।
यतिबेला तीनवटै तहका सरकारहरु बजेट बनाउने तयारीमा छन् । कोरोनाले समग्र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । अर्थतन्त्रमा पारेको प्रभाव तत्काल समाधान हुने सम्भावना पनि छैन । अर्कोतर्फ यतिबेला राज्यको सबै स्रोत र साधन कोरोना नियन्त्रणमा खर्च भएको छ । राजश्व घटेको छ । निर्माण र उत्पादन क्षेत्र बन्द छ । विदेशबाट रेमिट्यान्स आउन बन्दजस्तै भएको छ । यी सबै परिस्थितिले गर्दा देशको कुला ग्राहस्थ उत्पादन घट्ने निश्चित छ । नेपालले सबैभन्दा बढी भरोसा गरेको पर्यटन क्षेत्र त डाँवाडोल नै भएको छ । पर्यटन उद्योग तत्काल जाग्ने सम्भावना नै छैन । नेपालको मुख्य पर्यटन बजार अहिले पनि कोरोना संक्रमणकै क्षणमा छ । न त्यहाँबाट पर्यटनक आउँछन्, न त ल्याउन नै मिल्छ । पर्यटनसहित औपचारिक र अनौपचारिक सबै क्षेत्रको हिसाब गर्दा लाखौँले रोजगारी गुमाएका छन् । गुमेको रोजगारी फर्काउन, अर्थतन्त्रलाई पुनः सही दिशामा अघि बढाउन सकिएन भने कोराना प्रभाव दीर्घकालीन हुनसक्छ । वैदेशिक रोजगारीमा गएकाहरुले जागिर गुमाएको अवस्थालाई पनि राज्यले नजरअन्दान गर्न सक्दैन । जागिर गुमाएपछि करिब २५ लाख नेपाली स्वदेश फर्कने आंकलन गरिएको छ । उनीहरु देश फर्किएपछि के होला ? यो झन गहन प्रश्न रहेको छ । अत: राज्यले कोरोनापछिको देशको अर्थतन्त्रलाई सही दिशामा ल्याउनेतर्फ अहिलेदेखि नै योजना बनाउनुपर्छ ।

