समयको लय नब्रिगेको भए यतिबेला एसईईको परीक्षा सकिइसकेको हुन्थ्यो । बजारमा निस्केका विद्यार्थीहरु ‘ब्रिजकोर्ष’ गरिरहेका हुन्थे । भर्ना अभियानपछि निजी र सामुदायिक दुबैखाले विद्यालयहरुले नियमित पठनपाठन चलाइरहेका हुन्थे । माध्यमिक शिक्षा परिषद (एसईई) को परीक्षा नरोक्ने भन्दै गरिएका तयारीहरु अन्तिम समयमा आएर स्थगित गरिए । परीक्षा दिन झरेका सातु सामल जोहो गरेर परीक्षा केन्द्र झरेका विद्यार्थीहरु घर फर्कन बाध्य भए । बेलैमा निर्णय नगर्दाको परिणाम थियो, त्यो । तर, मान्छेको जीवनभन्दा ठूलो केही हुन सक्दैनथ्यो र हैन पनि । परीक्षा रोकियो । परीक्षा नरोक्ने अडानमा रहेको त्रिभुवन विश्वविद्यालयले पनि अन्ततः आफ्ना सबै शैक्षिक कार्यक्रमहरु बन्द ग¥यो । बन्दाबन्दीको अवस्था कायमै छ । सरकारले तोकेको लकडाउनको समयसीमा वैशाख २५ गतेपछि पनि परीक्षा र शैक्षिक कार्यक्रम के हुने भन्नेमा अन्यौलता कायमै छ । भीडभाड नियन्त्रण कोरोना फैलिन नदिने अचुक उपाय भएकाले कथंकदाचित् लकडाउन खुकुलो भयो भने पनि शैक्षिक क्षेत्र कसरी संचालन गर्ने, कस्तो मापदण्ड अपनाउने भन्नेमा द्धिविधा हुनु स्वभाविक हो । वैशाख २५ नजिकिँदै गर्दा यो प्रश्न झन कौतुहलपूर्ण भएको छ । शैक्षिक क्यालेण्डर भत्किएको छ । एसईई र अन्य परीक्षाहरु संचालन गर्नुपर्नेछ । भर्ना अभियान रोकिएको छ । नयाँ विद्यार्थीलाई विद्यालयसम्म ल्याउने अभियान पुनः संचालन पनि गर्नै पर्नेछ । यी कामहरुको लागि कस्तो समयसीमा कायम गर्ने, लय बिग्रेको शैक्षिक क्यालेण्डरलाई कसरी समायोजन गर्ने भन्ने चुनौति पनि छँदैछ ।
मुख्यकुरा त, पठनपाठन अवरुद्ध हुँदा लाखौं विद्यार्थीहरुको भविष्य अन्यौल बनेको छ । छुटेको पाठ कसरी पूरा गर्ने, शैक्षिक लयलाई कसरी पूर्ववत् अवस्थामा फर्काउने भन्ने चुनौति एकातिर छ भने संकटको बेला कस्तो शैक्षिक मोडलबाट अध्ययन÷अध्यापन गराउने भन्ने बहस पनि छेड्नुपर्ने भएको छ । लकडाउनकै बीचमा केही विद्यालय र विश्वविद्यालयहरुले अनलाइन कक्षा संचालनको प्रयत्न गरे । बालबालिकाहरुलाई पढाईमै केन्द्रित गराउन अनलाइन कक्षाहरुको योगदानलाई नकार्न सकिँदैन । यसरी हेर्दा अनलाइन कक्षा संचालनलाई अन्यथा मान्ने ठाउँ थिएन । पोखरामै पनि केही विद्यालयहरुले अनलाइन कक्षा चलाए । अनलाइन कक्षाका विरुद्धको जनमत पनि सानो थिएन । पर्याप्त स्रोत साधनको अभावमा चलाइने यस्ता अनलाइन कक्षाहरुको पहुँचबाट ठूलो तप्का बाहिर रहेको भन्दै महानगरमा उजुरी प¥यो । यही उजुरीका आधारमा महानगरले अनलाइन कक्षा बन्द गरायो । प्रविधिमा नेपाल निकै पछि छ । सबैको पहुँचमा इण्टरनेट छैन । इन्टरनेटको अभावमा अनलाइन कक्षा चल्दैन र चलाउन सकिँदैन । इण्टरनेट महँगो त छँदैछ । वर्तमान अवस्थाको आँकलन गर्दा अनलाइन कक्षा सबै विद्यार्थीहरुको पहुँच छैन नै । अर्कोतर्फ इण्टरेटबाट साना बाबुनानीलाई के सिकाउने ? यसै त बालबालिकामा देखिएको मोबाइल फोनको लत डरलाग्दो छ । उनीहरुको सृजनशीलतामा ह्रास आएको अध्ययनहरुले नै देखाएका छन् । अनलाइन कक्षाको नाममा बालबालिकालाई मोबाइलको ‘दाश’ बनाउँदा यसले के परिणाम निकाल्ला भन्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन र हुँदैन । अतः अनलाइन कक्षा चलाउनै हो भने यो विषयमा व्यापक बहस छेडिनुपर्छ ।
प्रविधिलाई नजरअन्दाज गर्न सकिँदैन । बाटो छेकेर समस्याको समाधान निस्कने पनि हैन । लामो समय यस्तै अवस्था रह्यो भने के गर्ने भन्नेबारे सबैले सोच्नु नै पर्छ । इ-लर्निङ यो अवस्थाको लागि सहायक हुनसक्छ । तर, निश्चित मापदण्ड र कार्यविधि बिना भने तत्कालको लागि यस्ता कक्षा संचालन झन प्रत्युत्पादक बन्न सक्छ । दुईखाले जनशक्ति उत्पादन गर्दै आएको नेपालको शिक्षा प्रणालीमा इण्टरनेट कक्षाले थप मलजल त गर्दैन भन्नेतर्फ सरोकारवाला निकायहरुले गम्भिरतापूर्वक सोच्नैपर्छ। कम्तिमा पूर्वाधारको पर्याप्तता, नेपालको सामाजिक, आर्थिक अवस्था र पहुँचबारे सोचेर मात्रै यो विषयमा थप अगाडि बढ्नुपर्छ ।

