आवश्यकताले आविष्कार गराउँछ । गाह्रो÷असजिलोले पाठ पढाउँछ । ठेस लागेपछि मानिस सचेत बन्छ । यो हामीले बुझ्दै आएको विषय हो । कोभिड–१९ को महामारीले हामीलाई धेरै कुरा सिकाएको छ । खासगरि हाम्रो स्वास्थ्य सेवाको अवस्था कस्तो रहेछ भन्नेबारे हामी बढी नै जानकार भएका छौँ । कोरोना सन्त्रास बढेसँगै सिंगो विश्वले कोरोनालाई परास्त गर्ने औजारको खोजी ग¥यो । खोजी जारी छ । तर, कोरोना भाइरसलाई परास्त गर्ने खोप वा ओखती बनाउने सफलता मिलेको छैन । संसारभरका वैज्ञानिकहरुको सारा जोडबलसामु कोरोना भाइरस अझै बलवान देखिएको छ ।कोरोना संक्रमणपछि विश्वमै स्वास्थ्य सामग्रीको हाहाकार भयो । शक्तिराष्ट्रहरुले अन्य मित्रराष्ट्रका सामान नै कब्जा गरे । यता, ओखती तथा स्वास्थ्य सामग्री नपाउँदा समस्या झन बल्झियो । पहिलो पंक्तिमा क्रियाशिल हुने स्वास्थ्यकर्मीहरुले पनि सुरक्षा सामग्री पाउन सकेनन् । प्लाष्टिकबाट बनाइएका र विश्व स्वास्थ्य संगठनले मान्यता नदिएका व्यक्तिगत सुरक्षा कवच ( पीपीई ) लगाएर कोरोनाविरुद्धको युद्धमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुका तस्वीरहरु सार्वजनिक भए । सुरक्षा कवच अभाव हुँदा स्वास्थ्यकर्मीहरु नै संक्रमित भए र मृत्युवरण गर्न अभिषप्त बने । धन्न, नेपालको हकमा अहिलेसम्म यस्ता कुसमाचारहरु सुन्न परेको छैन । कोरोना संक्रमितहरु पनि उपचारपछि घर फर्केका छन् । तर, नेपालमा पनि स्वास्थ्य सामग्रीको पर्याप्तता भने छैन ।
¥यापिड टेष्ट किट ( आरडिटी) को प्रामाणिकताबाट प्रश्नचिन्ह हटेको छैन । ल्याबमा मान्छेको खकार परीक्षण गरिने पद्दति ( पिसिआर) को पर्याप्तता छैन । पिसिआर परीक्षण सुस्त छ । यस्तोमा संक्रमण फैलन नदिन देशमा निजी र व्यक्तिगत तवरले केही प्रयासहरु भने भए । महावीर पुनले पीपीई नै बनाए । इञ्जिनियरहरु सम्मिलित अन्य सामुदायिक र निजी संस्थाहरु पनि कोरोना संक्रमण रोक्न सकिने सामग्री उत्पादनमा लागे । र, यही उपक्रममा सडकदेखि मानिसको शरीरसम्म डिसइन्फेक्टेड मेसिन राख्ने अभियान चल्यो । केन्द्रदेखि स्थानीय तहसम्मले यो विधि अपनाए । विषादी मिसाइएको डिसइफेक्टेडले कोरोना भाइरस नियन्त्रण गर्छ कि गर्दैन भन्नेतिर कसैको ध्यान गएन । नदीमा बग्दै गरेको मान्छेले बगिरहेको सानो काठको टुक्रा समातेको जस्तै डिसइन्फेक्टेडलाई रामबाण मानियो । यसको प्रामाणिकता पुष्टि भएकै थिएन । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको अविश्वासकै बीच देशब्यापी रुपले सडकमै डिसइन्फेक्टेड मेसिनहरु ठड्याइयो । मानिसको शरीरमा विषादी बर्साइयो । किटनाषक विषादी मिसाइएको झोलले किराहरु मार्ने कुरा प्रमाणित नै हो । तर, मानव शरीरमा यसले के प्रभाव पार्छ भन्नेतर्फ ख्याल नहुँदा कोरोना नियन्त्रण गर्ने नाममा अर्को रोग बेसाउने खतरा बढ्यो । यसमा कसैको दोषभन्दा पनि हतारो तथा त्रासले सबैभन्दा ठूलो काम ग¥यो । अहिले आएर यस्तो विषादी मानव स्वास्थ्यको लागि हानिकारक रहेको तथा यसले कोरोना भाइरस नियन्त्रणमा योगदान नगर्ने प्रमाणित भइसकेको छ । तर, धमाधम यस्ता गेटहहरु बनाउन रोकिएको चाहिँ छैन ।
विषादीले मानव स्वास्थ्यलाई हानी गर्ने प्रमाणित भइसकेपछि अब यस्ता कार्यहरु तत्काल बन्द गरिनुपर्छ । मानिसलाई बचाउने नियतले गरिएको कर्मले उल्टो परिणाम दिन्छ भनेपछि डिसइन्फेक्टेड गर्नुको कुनै औचित्य छैन । बरु, कोरोनाबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले सुझाएका उपाय अवलम्बनतिर सबैले ध्यान दिनुपर्छ । पैसा र स्रोतको नाश त छँदैछ, जुन उदेश्य हो, त्यही पूरा नहुने भएपछि उल्टो बाटो तत्काल छाडनु नै पर्छ । देशैभर राखिएका यस्ता मेसिनहरु हटाउन सरकारले नै तदारुकता देखाउनुपर्छ । मान्छेमा डिसइन्फेक्टेड छर्न छाड्नुपर्छ ।

