आज २५६४ औँ बुद्ध जयन्ती । लकडाउनको बीचमा परेकाले यो पटक बुद्ध जयन्ती भव्य हुने छैन । सामाजिक दूरी र सुुरक्षा कायम गर्दै बुद्धपूजा गर्नुपर्ने भएको छ । बागलुङ, पोखरा र देशभरका बुद्ध बिहार र गुम्बाहरुले यही शैलीले बुद्ध जयन्ती मनाउने जानकारी दिएका छन् । उभौँली पर्व पनि आज नै हो । लकडाउनकै बीच बुद्ध जयन्ती मनाउँदै गर्दा बुद्धका वचनहरुको सान्दर्भिकता झन बढ्दै गएको देखिएको छ । बुद्धले सिकाएको भातृत्व, प्रेम, शान्ति, अहिंसाका पाठहरु मात्रै हैन आचार सुधारसम्मका सबै वचनहरु अहिले पनि उत्तिकै हितकारी र मननयोग्य रहेका छन् ।
बुद्ध दर्शन कुनै धर्म हैन । यो त जीवन पद्धति हो । सर्वव्यापी, सर्वस्वीकार्य दर्शन धर्म, ठाउँ र सम्प्रदाय विशेषको लागि मात्र नभए सम्पूर्ण मानव जातिको हितको लागि हो । भलै, शाक्यमुनी बुद्ध नेपालमा जन्मे । लुम्बिनीमा जन्मेका सिद्धार्थ कालान्तरमा बुद्ध भए । उनी विश्व ब्रह्माण्डको सबै मानवजाति, प्राणी जातिको समस्याको समाधान गर्ने पथप्रर्दशक बने । यो नेपालीको लागि गर्वको विषय हो । कपिय अवस्थामा बुद्ध भारतमा जन्मेको तर्क पनि गरिन्छ । यो सत्य होइन । सिद्धार्थको जन्म नेपालमै भएको हो । उनले ज्ञान भारतीय भूमिमा पाएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले बुद्ध नेपालमा जन्मेको भनिसकेपछि यो विषयमा लामो बहस जरुरी छैन । बरु, नेपालले बुद्ध जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारलाई बढी जोड दिनुपर्छ । संसारका धेरै मानिसलाई नेपालबारे थाहा छैन । नेपालबारे थाहा नहुँदा बुद्ध कहाँ जन्मे भन्नेमा अन्यौलता हुनु अस्वभाविक हैन । यो अन्यौलता चिर्ने दायित्व नेपालकै हो । नेपालले केही वर्षदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमार्फत् यो कार्यको थालनी गरेको छ । बौद्ध विश्वविद्यालय स्थापना भएको छ र बौद्ध दर्शनको अध्ययन र अनुसन्धान अघि बढेको छ । तर, गति सुस्त छ । अब यो सुस्ततालाई गति पनि दिनु परेको छ ।
बुद्ध दर्शनले नछोएको कुनै विषय छैन । मानवीय स्वभाव, वातावरणको संरक्षण तथा शान्तिको कामना यसका विशेषता हुन् । अहिंसा र शान्तिले नै विश्व सुन्दर बन्छ भन्ने बुद्ध वाणि रहेको छ । बुद्धले जो ब्यँुझिएको छैन, लोभी, दिग्भ्रममा रहने, अरूको डाहा गर्ने, झुटो बोल्ने, सही गलत थाहा नपाउने व्यक्ति, समुदाय एवं राष्ट्र गलत र विनासको बाटोमा जाने बताएका छन् । यसैगरि सामाजिक मान्यताको जगेर्ना र कार्यान्वयन, भ्रष्टाचार मुक्त समाज, समाज विकासको लागि विभेदरहित समावेशिता सिद्धान्त, वर्गीय पक्षधरता, हत्या हिंसाको अन्त्य र शान्तिको कामना जस्ता विषयहरु पनि बुद्ध दर्शसँग नै जोडिएका छन् । बुद्ध दर्शनले हरेक वस्तु नासवान छैनन् यसको अवस्था मात्र फेरिन्छ तर उपयोगिता सधैँ कायम रहन्छ भन्ने मान्यता राख्छ । यो कुरा वैज्ञानिकहरुले पनि स्वीकारेका छन् । उनीहरुले पनि कुनै पनि वस्तु अपरिवर्तनीय छैन र सबै परिवर्तनशील छन् भन्ने बुद्ध वाणिलाई पच्छ्याउँछन् । यस मानेमा बु्द्ध दर्शन वैज्ञानिक दर्शन पनि हो । बुद्ध मूर्तिपूजाका विरोधी थिए । उनी प्रामाणिक कुुरामा विश्वास गर्थे । शरीरको चेतनालाई ध्यानको माध्यमबाट विकसित गर्न सकिन्छ भन्थे । उनले सिकाएका ध्यान विधिहरुको सार्थकता यो महामारीमा पनि उत्तिकै देखिएको छ । तन र मन शान्त पार्न विपश्यनाजस्ता ध्यान विधिहरु हितकारी देखिएका छन् । बुद्ध विद्धान थिए, उनका वचन वैज्ञानिक अवधारणमा आधारित छन् । उनका वचनहरुलाई मन्त्र मानेर पूजा गर्नुभन्दा पनि व्यवहारिक प्रयोगमा ल्याउने प्रयत्न गर्नुपर्छ । मुख्य कुरा त, बुद्ध वचनहरुलाई जीवन पद्धति बनाउन र उनको जन्मथलोको प्रचार गर्दै पर्यटकीय केद्र बनाउन राज्यले सोच्नैपर्छ ।

