लकडाउन ५० औं दिनमा चलिरहँदा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोनाले कसैलाई नचुँडे पनि संक्रमितको संख्या बढ्दा खतराको घण्टी झन चर्को भएको छ । संक्रमित बढ्दा लकडाउन खकुलो पार्ने सरकारी कदममै पुनरावलोकन गर्नुपर्ने खाँचो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा लकडाउन अझ कडा बनाउनुपर्ने धारणा राखेका छन् । मान्छेको जीवनको मूल्यका अगाडि अन्य कुरा गौण हुने उनको भनाई छ । हो, मान्छेको जीवनको मूल्य हुँदैन बाँचे देख्न पाइन्छ र यो समय बाँच्नु नै ठूलो उपलब्धि हो ।
नेपालमा कोरोना जहाड चढेर भित्रियो । संक्रमितहरुले कोरोनामाथि विजय हाँसिल गरे । सरकारका सुरक्षाका तयारीहरु फितला थिए र छन् । पहिलो संक्रमण देखिएपछि चाल्नुपर्ने कदम र सुरक्षा प्रबन्धप्रति संवेदनशील बन्न सकिएन । परीक्षण बढाएमा संक्रमितको संख्या बढ्छ भन्ने आँकलनलाई पनि वेवास्ता गरियो । विश्व स्वास्थ्य संगठनले प्रमाणित नै नगरेको आरडीटी परीक्षणलाई नै आधिकारिक मानियो । यो सरकारको गल्ती थियो । अर्कोतर्फ, ओखतीबिनै कोरोनामाथि विजय पाएका नजिरहरुबाट ‘कोरोनाले नेपालीलाई छुन नसक्ने’ मान्यताको विकास गरिदियो । लकडाउन लम्बिँदा अर्थतन्त्रका सबै क्षेत्र प्रभावित बनेकै थिए । घरभित्र गुम्सिएका मनहरुको सडकमा आउने चाहना स्वभाविक थियो । संक्रमण खासै नफैलिएको र अर्थव्यवस्था बिग्रेकाले सरकार उदार भयो । लकडाउन खुकुलो बन्यो । विज्ञहरुले संक्रमितको संख्या सयबाट उकालो लागेमा स्थिति भयावह बन्न सक्नेतर्फ संकेत नगरेका हैनन् । परीक्षणको सुस्तता र विश्वसनीयताबारे आवाज नउठेका पनि हैनन् । तर, यी सबै विषयहरुलाई राजनीतिक खिचातानीले छायाँमा पारिदिए । कोरोनाबाट तंग्रिएर पुरानै लयमा फर्कने तयारी हुँदा एकाएक संक्रमितको संख्या बढ्दै गयो । स्वदेश फर्कन चाहनेहरुको भारतीय सीमा क्षेत्रमा लाइन लाग्यो । तीमध्ये केही भागेरै नेपाल आए । उनीहरुले संक्रमण फैलाउन सहयोगी भूमिका निभाए । कोरोना बाहिरबाट आएकाहरुबाट स्थानीयहरुमा स¥यो । पर्सा, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरुमा कोरोना संक्रमण रात दुई र दिन चारगुणाको दरले फैलिएको छ । संक्रमित बढ्दा हाम्रा अस्पतालहरुको क्षमताले उपचारलाई धान्न सक्ने कुरै भएन । संक्रमण अझ बढ्दा नेपालको स्वास्थ्य क्षेत्रसँग निरीहताबाहेक केही हुनेछैन भन्ने देखिइसकेको छ । अत: कोरोनाको बढ्दो संकटबाट पार पाउन सरकारले गम्भीर कदम चाल्नैपर्नै अवस्था आएको छ ।
संक्रमण फैलिएको क्षेत्रलाई बन्द गरि त्यहाँका सबैको परीक्षण गर्ने, उनीहरुको उपचारको प्रबन्ध मिलाउने तथा भइरहेका स्वास्थ्य संस्थाहरुलाई सुदृटिढकरणतर्फ ध्यान दिनुपर्ने भएको छ । अहिलेको गतिबाट कोरोना नियन्त्रण सम्भव छैन । सीमा नाकामा कडाई गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । यसो भनिरहँदा सीमामा रोकिएका नागरिकहरुलाई अनागरिक भएको अनुभूतिबाट मुक्ति भने दिनैपर्छ । उनीहरुलाई देश भित्र्याएर क्वारेण्टाइनमा राख्नुपर्छ । संक्रमण फैलिएका ठाउँहरुबाट अन्य ठाउँमा आवतजावत् बन्द गराउनुपर्छ । निर्माणलगायत खकुलो पारिएका क्षेत्रहरुमा संक्रमण फैलने खतरालाई नजरअन्दाज गर्नै मिल्दैन । लकडाउन नै रामबाण होइन रहेछ र परीक्षणको दायरा बढाउनुपर्ने रहेछ भन्ने पछिल्लो घटनाक्रमले प्रष्ट भएको छ। संकट चुलिँदै जाँदा नागरिकले पनि आफ्नो कर्तव्य र दायित्वको ख्याल राख्नुपर्छ । आफू बाँच्ने र अरुलाई बचाउने अभियानमा सरकारलाई साथ दिनुपर्छ । यो आलोचना मात्रै गर्ने समय हैन, सहकार्य र सहयोग गर्ने बेला पनि हो । अत : पछिल्लो समय बढेको संकटबाट मुक्तिको लागि सरकारले स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन र प्रयोग गर्नुपर्छ भने नागरिकले आफूलाई पूर्ण अनुशासनमा बाँध्नैपर्छ ।

