कोरोना भाईरस (कोभिड–१९) को सकस दिन दुई गुना रात चौगुनाले बढेको छ । परीक्षणको दर बढ्दै जाँदा संक्रमितको संख्या भयावह बन्दै छ । विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने संक्रमितको पहिचान गर्न १४ दिन एकान्तबासमा बसेकाहरुलाई जाँच गर्दा उनीहरुमा कोरोना रहेनरहेको बिषय प्रष्ट हुन्छ । पछिल्लो समय आएका केही बिज्ञप्तीहरुले यसको समायावधि र संक्रमित पुष्टि हुन लाग्ने समयको हावापानी र देशअनुसार फरकहुने भनेर संगठनले खुट्टा त टेकेको छ तर उसको भाषा अनुसारको व्यवहार नेपाल र नपालीले गर्न सकेका छैनौं । कोरोनाको रोकथाम र नियन्त्रणका लागि हाम्रो देशमा भैरहेको लकडाउनको समयावधि आज दुई महिना पुगेको छ । यत्तिका धेरै दिनसम्म पनि हामीले कोरोना संक्रमितको पहिचान सकेर लकडाउनलाई खुकुलो पार्न सकेका छैनौं । बरु उल्टै लकडाउनमा कडाई गर्नुपर्ने अवस्थामा आउदैछ । परीक्षणको दर र दायरा बढ्दै जाँदा संक्रमित थपिएका तथ्यांकहरुले हाम्रो बिचमा थप चुनौती खडा गरेको छ ।
सुरुका केही संक्रमितहरु बिदेशबाट आएका देखिए । पछिल्लो समय संक्रमण देखापरेका अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा आएकाहरु छन् । तथ्यांक हेर्दा लुकी छिपी भारतबाट आउनेहरुका कारण संक्रमणको दर भुसको आगो बनिरहेको छ । सुरुवातमानै सिमामा कडाइ गर्न नसकेका कारण लुकीछिपी भित्रिनेहरु बढे । लुकेर आएकाहरु कसरी कस्को सम्पर्कमा पुगे भनेर पहिचान गर्न सरोकारवाला निकाय चुके । जसका कारण अहिले संक्रमण भुसको आगो जस्तो भएको छ । अहिले भारत सरकारले त्यहाँको रेलवे सेवा खुल्ला गरेको छ । तर उद्योग कलकारखाना तथा घरायासी काममा कार्यरत भारतमा रहेका नेपालीहरुको काम रोकीएको छ । बिनाकाम बिना तलवमान बिदेशमा बस्ने कुरा कठिन कुरा हो । उनीहरु देश भित्रिनका लागि सिमासम्म आएर बसेका छन् । त्यहाँबाट पछिल्लो दुईदिन यता नेपाल प्रहरी र सिमाका स्थानीय सरकारले देखाएको सकृयताका कारण उनीहरु जिल्ला जिल्लामा पुगेका छन् । भारतबाट बिभिन्न नाकाहुँदै गण्डकी प्रदेश भित्रिनेहरुको संख्या ठुलो छ । उनीहरु आफ्नो घर आउँदैछन् । सिमानाका सरोकारवालाले व्यवस्थापन गरेर पठाएका हाम्रै भाईबन्दुहरु आफ्नो मुकाम वा नजिकको शहरमा पुगेर रोकीनु परेका घटनाहरु सार्वजनिक भैरहेका छन् । यसलाई ब्यवस्थापन गर्न चुक्नु हुदैन ।
आफ्ना नागरिक उद्धारमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरुमा देखिएको उदासिनता दुःख लाग्दो छ । स्थानीय प्रशासनको समन्वय पनि खुशी लाग्दो छैन् । सवै प्रकृया पार गरेर बिभिन्न कठिनाईहरुका विच आफ्नै दैलो नजिक आएका नागरिकको उद्धार गर्नु स्थानीय तहको दायीत्व हो । उनीहरुको उद्धार र व्यवस्थापनमा बागलुङका केही र अन्य जिल्लाका केही स्थानीय तहले देखाएको उदाशिनता प्रश्न उठ्ने खालको छ । सिमा भित्र आईसकेका र समस्या रहेका नागरिकलाई स्थानीय तहले व्यवस्थापन गर्नै पर्ने हुन्छ । यस्तो अवस्थामा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ नै । यो समय अरुलाई देखाउने र खोज्ने समय होइन, आफ्नै ठाउँ र क्षेत्रबाट लागीहाल्नु पर्दछ । राहतदेखि सामान्य उद्धारका काममा समेत केन्द्र सरकारकै भरपर्ने कुराले हाम्रो प्रणाली माथि नै प्रश्न उठाउछ । संकटको समयमा अफ्ठेरोमा परेका नागरिकको उद्धार, राहत र व्यवस्थापनमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकार र मध्यमार्गी बाटोमा रहने प्रदेश सरकारले आफ्नो भूमिका देखाउने बेला पनि हो यो । संविधानले प्रत्याभूत गरेका अधिकार कुण्ठित नहुनेगरी जस्तोसुकै मुल्य चुकाएर भएपनि नागरिकको हितमा लाग्नुपर्दछ ।

