पोखराको वडा नम्बर १५ र ३३ मा जनप्रतिनिधिहरुकै अगुवाईमा बाहिरबाट आएको तरकारी नष्ट गरियो । बाहिरी जिल्लाबाट ल्याइएको र तरकारीबाटै कोरोना संक्रमण हुने जिकिर गर्दै गरिएको सो कार्यबाट व्यवसायीहरुले ठूलो घाटा व्यहोरे । जनप्रतिनिधिहरुको यो निर्णय हेर्दा सामान्य देखिए पनि यसले ठूलो अर्थ राख्छ । हचुवाको भरमा गरिएको यो निर्णयले किसानहरुलाई निरुत्साहित मात्रै गर्दैन, समाज असहिष्णु हुँदै गएको सन्देश पनि दिन्छ ।
हो, देशमा यतिबेला कोरोना कहर छ । कोराना संक्रमण फैलिन नदिन संघीय सरकारले लकडाउको आदेश जारी गरेको छ । लकडाउनका कारण सवारी साधन चलेका छैनन् । भारतबाट भित्रिएका तरकारी र फलफूलकै माध्यमबाट कोरोना संक्रमण फैलने हल्ला पनि चलाइएको छ । विश्व स्वास्थ्य संगठनले फलफूल र तरकारीबाट कोरोना नसर्ने प्रष्ट पारेको छ । अत्यावश्यक मानिएको तरकारी र फलफूलमा नेपाल आत्मनिर्भर हुन सकेको छैन । फलफूलदेखि खाद्यान्न आयात गर्नु नेपालको बाध्यता हो । देशमै उत्पादन हुने भए कृषिजन्य सामानमा अर्काको भर पर्नुपर्ने थिएन । तरकारी र फलफूल हाम्रो आवश्यकताले आयात भएको हो । कोरोना नै भित्रिने भए यसमा रोक लगाउन पनि सकिएला । तर,नत संघीय नत प्रदेश सरकारले नै अन्तरदेशीय वा अन्तर प्रदेशस्तरीय व्यापारमा रोक लगाएको छ । सरकारले रोक नलगाएको अवस्थामा बजारको माग हेरि आयात गर्नु पाप हैन । अर्कोतर्फ नेपालमै उत्पादन भएका किसानका उत्पादनहरु बारीमै कुहिएका र मूल्य नपाएको गुनासाहरु सुनिएका छन् । घनाबस्ती भएको ठाउँमा तरकारी र फलफूलको भाउ आकासिएको छ । उनीहरु महंगोमा किन्न बाध्य छन् । बजारमा हिजोदेखि कब्जा जमाएको विचौलियाको समूहले यो बेलामा पनि नाफा लिन छाडेको छैन । यो अवस्थामा अमूक समूह वा जनप्रतिनिधिको नाममा तरकारी र फलफूल नष्ट गर्नु ज्यादति बाहेक केही हैन । व्यवसायीले लगानी गरेर ल्याएको सामान जफत गर्ने र नष्ट गर्ने अधिकार कोही कसैसँग छैन । यो गुण्डागर्दी नै हो । यस्ता गुण्डागर्दीले अराजकता बढाउँछ । भोलि कसैले हल्ला चलाएकै भरमा कोही व्यक्तिलाई गाउँठाउँ निकाला गर्ने अवस्था आउने सम्भावना रहन्छ ।
नेपालमा कृषि क्रान्ति र आत्मनिर्भरताको नारा खुबै चलाइएको छ । विदेशबाट आएकाहरुलाई पनि कृषि क्षेत्रमै रोजगारी दिने भनिएको छ । कृषकका उत्पादनले बजार नपाउने, बेला न कुबेला उनीहरुले बजार पठाएका सामानहरु नष्ट गर्ने प्रवृत्तिले कृषिलाई प्रोत्साहन गर्दैन । यसले त कृषि कर्ममा लाग्नेहरुलाई निरास पो बनाउँछ । अत ः कसैले लहडमा गरिएका यस्ता गलत कामलाई बेलैमा निरुत्साहित गर्नुपर्छ । व्यक्तिको व्यापार गर्न पाउने अधिकारको रक्षा गर्नुपर्छ भने कृषिकर्मप्रति रुचि बढाउनेतर्फ ध्यान दिनुपर्छ । जनप्रतिनिधिहरु भनेका छाडेका साँडे हैनन्, उनीहरुले पनि नीति नियम मान्नुपर्छ । भीडको पछि लागेर गलत काम गर्ने छुट कसैलाई छैन । अहिले रोगको त्रास देखाएर गरिएको यो कार्यभित्र लुकेको दम्भलाई बेलैमा निरुत्साहित गरिएन भने यसले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउनेतर्फ पनि ध्यान दिनैपर्छ ।

