पोखराका फाँटहरुमा धान रोपाइँ सुरु भएको छ । ताल किनारका बुडुवाहरुबाट सुरु भएको रोपाइँको श्रृंखला साउन र समय प्रतिकूल भए भदौसम्म तन्किन सक्छ । सिंचाईको कमीले वर्षात्मा भर पर्नुपर्ने बाध्यताका कारण रोपाइँ लम्बिने हो । नत्र, यतिबेला देशका सबैजसो खेतका ब्याडहरुमा धानको बीउ लहलहाएका छन् । ढिलो रोपिने पाखो र टारीको लागि ब्याड सम्याउने काम भइरहेको छ । वर्षौंदेखि मानो रोपेर मुरी उब्जाउने महिना भन्दै पुकारिन्छ, असारलाई । धानलाई प्रमुख खाद्यान्नको दर्जा दिइएकाले पनि असारको महत्व बढेको हो । केही वर्षयता नेपालमा धान उत्पादन बढेको पनि देखिन्छ । तथ्याङ्कले धान उत्पादन बढेको देखाए पनि नेपाल चामल आयात गर्न अभिषप्त रहेको छ । चालु आर्थिक वर्षको १० महिनामै २८ अर्बको चामल नेपाल भित्रिएको छ । वर्षेनी यो उपक्रम बढ्दो छ । जनसंख्या बढ्दा उपभोग बढ्छ, उपभोग बढ्दा माग बढ्छ । मागलाई नेपाली उत्पादनले धान्न नसक्नु एउटा पाटो छ भने उत्पादकत्व किन बढाउन सकिँदैन भन्ने प्रश्न अर्कोतर्फ रहेको छ ।
सरकारले कृषिलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । कृषिप्रधान देशको सुगा रटाई गरेका व्यक्तिहरु बूढो हुँदा पनि कृषिमा आत्मनिर्भर बन्न नसक्नु दुःखद पक्ष हो । यसरी हेर्दा, कृषि क्षेत्रको विकासको लागि लिइएका नीति नियमहरुमा कहिँकतै पक्कै खोट छ । सिंचाईको उचित व्यवस्था नहुनु, उन्नत मल, बीउ र प्रविधि अप्राप्य हुँदा पनि कृषिप्रधान देश बेसाहा खान बाध्य छ । धान रोपाइँ सुरु भएको छ तर देशभर यतिबेला मलको अभाव देखिएको छ । युरिया, डिएपी र पोटास चाहिने समयमा पाइँदैन । मल नपाउँदाको पीडा एकातिर हुन्छ भने अर्कोतर्फ यसले उत्पादकत्व घटाउँछ । कतिसम्म भने, सरकारले चाहिएको बेला उन्नत बीउ पनि उपलब्ध गराउन सक्दैन । यो पटक लकडाउनकै बीचमा पनि बीउ नपाएको गुनासो खासै सुनिएन । स्थानीय पालिकाहरुले लकडाउनकै बीचमा भए पनि किसानहरुलाई बीउ उपलब्ध गराउन महत्वपूर्ण भूमिका निभाए । तर, आयातमा निर्भर रहेको मल समयमा पाइने हो कि हैन भन्नेमा अहिले पनि आशंका छ । धान रोप्दा नै चाहिने मल नपाइएको गुनासो आउन थालेको छ । सरकारले कलकत्ताबाट मल नेपाल हिँडेको बताए पनि कहिले आइपुग्छ र त्यसले माग पूरा गर्छ कि गर्दैन भन्ने प्रष्ट भइसकेको छैन । किसानहरु बिस्तारै आधुनिक प्रविधितर्फ तानिएका छन् । परम्परागत धानका बीउहरु मासिएका छन् भने नयाँ र धेरै उत्पादन दिने धान खेती हुन थालेको छ । नयाँ बालीले मल, कीटनाशक औषधि बढी खोज्छ । ठीक समयमा ठीक मात्रामा मल,र ओखती हाल्न सकिएन भने उत्पादन घट्छ,रोगले गाँज्छ । त्यसैले यी अत्यावश्यक सामग्रीेको बेलैमा जोहो हुनुपर्छ । तर, सरकार यो मामलामा सधैंँ उदासिन देखिँदै आएको छ । यसले कृषि कर्ममा लाग्नेहरुलाई हतोत्साही बनाएको छ ।
देश कोरोना कहरमा छ । राजश्वका स्रोतहरु खुम्चिँदा कृषिबाट कुल ग्राहस्थ उत्पादनमा बढी योगदान गर्नुपरेको छ । कृषिलाई प्राथमिकता दिएको साँच्चिकै प्रमाणित गर्न पनि किसानलाई समयमा आवश्यक मल, बीउ अनि विषादी पु¥याउन सक्नुपरेको छ । हो, हामीले प्राङ्गारिक कृषिलाई पनि अंगालेका छौँ । हिजो प्राङ्गारिक कृषि र रैथाने बीउबाट थोरै उत्पादन भएको भन्दै नयाँ कृषि प्रणाली अपनाउन उत्प्रेरित गरेको अवस्थामा किसानले अंगालेको नयाँ सोचलाई बिस्थापन गर्न सजिलो छैन । बजारमा विषादी प्रयोग गरिएको र प्राङ्गारिक उत्पादनको एउटै भाउ हुँदासम्म यो सम्भव पनि छैन । अत ः सरकारले खेतीको यो सिजनमा किसानलाई निरास पार्नु हुँदैन । आवश्यक सामग्री समयमै उपलब्ध हुने व्यवस्था गर्नैपर्छ ।

