बेल्जियम बाट कतार हुदै नेपाल आएका मध्ये बागलुङका एक युवती र एक बृद्धा गरी २ जना चैतको दोश्रो सातामै संक्रमित भए । उनीहरु धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएर निको समेत भैसकेका छन् । त्यसपछि डेढ महिना सम्म बागलुङमा कोही संक्रमित भेटिएनन् । दोश्रो संक्रमित भेटिएको ५५ दिनपछि मात्र जिल्लाको तेस्रो संक्रमित भेटिएका थिए । तर यतिको लामो समय सम्म अस्पताल र जिल्ला संकट व्यवस्थापन समितिले सुरक्षा रणनीति कमजोर बनाएको देखिएको छ ।
संक्रमित नहुन्जेल काम गरेको चर्चा गर्ने समितिले केही संक्रमित भेटिना साथ कसरी ल्याउने, को गएर ल्याउने, कति छिटो ल्याउनु पर्छ वा पर्दैन भन्ने बिषय चटक्कै भुलेको देखियो । जसको कारण निसीखोलाका संक्रमितले दुइदिन पछि मात्र आइसोलेसनमा भर्ना गर्ने अवसर पाए । कोरोना संक्रमण भएको ५ दिन पछि मात्रै रिर्पोट आउने, रिर्पोट आएर पुष्टी भएपछि अर्को दुइ दिन सम्म आइसोलेसनमा पनि जान नपाउने अबस्थाले व्यवस्थापन फितलो र लापरवाही भएका प्रष्ट हुन्छ भने संक्रमण बढ्ने पनि उत्तिकै खतरा देखिन्छ ।
त्यसोत यो अभियानमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको भूमिका बिशिष्ट छ । उनीहरुले आफ्नो ज्यानकै जोखिम मोलेर बिरामीको सेवा गरेका छन् । तर व्यवस्थापकीय भूमिकामा रहेका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुख लगायतको टिमले भने समयमा निर्णय समेत गर्न नसक्दा संक्रमितबाट आम मानिसमा जोखिम बढीरहेका छ । त्यतिमात्र होइन चैत र बैसाख भर भारतको सिमानामा आफ्ना नागरिक रोकेर राख्ने संघिय र स्थानीय तहसम्मको लापरवाहीले अहिले देशमा चरम संकट निम्तिएको छ । चैत १ गते देखि १० गते सम्म जिल्लामा भित्रिएका झण्डै १ हजार थिए । ती मध्ये ७ सयको हाराहारीमा भारतबाट भित्रिएका थिए । उनीहरु कोहीपनि कोरोना संक्रमित थिएनन् । लकडाउन सुरु भए लगत्तै सिमानामा आएर पर्खेका हजारौं नेपाली थिए । उनीहरुलाई तत्कालै उद्दार गरेर क्वारेन्टाइनमा राख्न सकेको भए अहिले एकजना पनि संक्रमित रहने थिएनन् । अर्थात उनीहरु संक्रमित हुनेनै थिएनन् ।
भ्mण्डै साँढे २ महिना सम्म ४ सय जनाको क्वारेन्टाइन बनाएर बसेका स्थानीय तहपनि जेठ १० पछि मात्रै तातेर बढाउने अभियानमा लागे । जसले गर्दा हतारको काम असुरक्षित भयो । अहिले जिल्लामा भेटिएका २७ जना सबै भारतबाट आएर संक्रमित भएका हरु हुन् । २ जना बेल्जियमबाट आएका थिए । उनीहरु निको भएर घरमै छन् । अझै धेरै संक्रमितको संख्या बढ्ने अनुमान छ । बढ्दा पनि भारतबाट लामो समय बोर्डरमा अलमलिएर आउन बाध्य भएकाहरुनै छन् । उनीहरुमा संक्रमण भेटियो भनेपनि नौलो मान्नुपर्ने छैन । किनकी यो संभावना अधिक छ । तर समयमा आफ्ना नागरिक उद्दार गरेर ल्याउन सकेको भए यो अबस्था आउने थिएन । सामान्य जनजीवन बनिसकेको धौलागिरी क्षेत्र ग्रिनजोनको रुपमा रहेर लकडाउन खुलाउने मत्र नभई आर्थिक क्रियाकलापमा अगाडि बढ्न धेरै सहज हुने थियो । अझैपनि व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको संख्या बढाएर संक्रमण पुष्टी हुनासाथ स्थानान्तरण गर्ने काममा व्यवस्थापन पक्ष जुट्न आवस्यक देखिन्छ ।

