पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको आइतबार राती स्याङ्जाका ५९ वर्षे बृद्धले मृत्युवरण गरे । मृत्युले सबैभन्दा बढी पीडा आफन्तलाई दिन्छ । कोरोना संक्रमण देखिएका ती वृद्धको मृत्युले आफन्तलाई पीडासँगै एउटा गहिरो घाउ पनि लगायो । मृत्युको झण्डै १९ घण्टासम्म उनको शव उठेन । उनको शव व्यवस्थापको लागि ठाउँ खोजियो । कोरोना संक्रमित भएकाले विशेष विधि अनुसार शवको व्यवस्थापन गरिनुपथ्र्यो । त्यसको लागि शव बाहन र गाडीको व्यवस्था पनि हुनैपथ्र्यो । संस्कार अनुसारको अन्त्येष्टि नै कहाँ र कसरी गर्ने द्धिविधा सृजना भयो । अन्त्येष्टिको लागि बनाइएको कार्यविधि अनुसारका सम्पूर्ण तयारी गरिएको भन्ने प्रदेश सरकारको भनाई झुटो सावित् भयो । लामो प्रयत्नपछि पोखरा महानगरपालिका–११मा रहेको मणिपाल अस्पताल तलको घाटमा शव दफन गर्ने निर्णय गरियो । त्यहाँसम्म ठीकै थियो ।
तर, स्थानीयले विरोध गरे । संक्रमित व्यक्तिको शवको अन्त्येष्टि त्यहाँ गरिँदा संक्रमण फैलनसक्ने भन्दै गरिएको विरोध साम्य पार्न प्रहरीले लाठीचार्ज ग¥यो । केहीलाई पक्राउ पनि गरियो । स्थानीयवासीहरुले सेतीमा बाढी आउनसक्ने र त्यो शव बगाउन सक्ने तथा संक्रमितको शव किन जलाइएन ? भन्ने प्रश्न गरे । प्रशासन र राज्य संयन्त्रले संस्कार अनुसार नै लास दफन गरिएको तर्क ग¥यो । अन्त्येष्टिमा भएको अवरोधलाई मानवीयता हराएको क्षणको रुपमा चित्रित गरियो । कोरोना संक्रमित भएकै कारण लासलाई छुन पनि नपाएका आफन्तहरु अन्तिम संस्कारमा भएको अवरोधले कति विक्षिप्त बने होलान् ? भन्नेतर्फ केही सोचिएन । साँच्चिकै मानवीयताको दृष्टिले हेर्दा,त्यो अवरोध अक्षम्य नै थियो÷ हो । यो घटनाले शवलाई ढोग्ने र अन्तिम बिदाई गर्ने नेपाली परम्पराको खिल्ली उडाँयो । मृत्यु स्वाश्वत हुन्छ । जन्मेपछि सबैले मनुपर्छ । लासमाथि घृणाले संवेदनहीनता देखाउँछ ।
यसो भनिरहँदा राज्य संयन्त्रको कमजोरीप्रति नजरअन्दाज गर्न सकिँदैन । चैत १५ गते गण्डकी प्रदेशमा कोरोना संक्रमण देखिएसँगै कोरोनाविरुद्धका तयारीहरु थालियो । लकडाउनैबीच संक्रमण नियन्त्रण र उपचार अनि यसले निम्त्याउने अनिष्टको आँकलन पनि गरियो । कथंकदाचित कसैको मृत्यु भएमा अन्त्येष्टि कसरी गर्ने भन्ने विश्व स्वास्थ्य संगठनको सुझाव समेटेर कार्यविधि बनाइयो । शव व्यवस्थापनको अभ्यासहरु पनि भए । तर, जब साँच्चिकै विपत्ति आयो, ती सबै तयारीहरुले कुनै काम गरेन । सक्दो छिटो व्यवस्थापन गर्नुपर्नेमा १९ घण्टासम्म शव अस्पतालमै राखियो । आइसोलेसनमा शवसँगै अन्य तीनजना पनि छन् भन्ने कुरालाई पनि ख्याल गरिएन । विषम परिस्थितिमा संस्कारभन्दा सुरक्षा महत्वपूर्ण हुन्छ । आफैले बनाएको कार्यविधि अनुसार शवलाई खरानी बनाउने निर्णय पनि हुन सकेन । यसले गर्दा आफन्तको मृत्युले शोकमा डुबेकाहरुलाई अर्को चोट दियो भने समाज संवदेनहीन बन्दै गएको प्रमाणित भयो । दुखद घटनाले सरकारी निर्लज्जता सतहमा ल्याइदियो । आफैले बनाएको कार्यविधि अनुसारको कतव्र्यबाट च्यूत हुनु भनेको सरकारको निर्लज्जता हो । कामना गरौं, आउँदा दिनमा मृत्युका यस्ता घटना नदोहोरियून् अनि सरकार आफ्नो कर्तव्यबाट च्यूत भएको सुन्नु नपरोस् ।

