कानूनको आँखाबाट ‘भाँगो’ लागूऔषध र यसको खेती अवैधानिक नै हो । तर, भाँगोको अचारको स्वाद जिब्रोमा गडेकाहरुको लागि यो मीठो खाद्यपदार्थ नै हो । बागलुङ जिल्लाको प्रसिद्ध उत्पादन मानिने भाँगोको फल अचार बन्छ भने यसको बोक्रा(लोक्ता) डोरी बनाउन प्रयोग गरिन्छ । आयुर्वेदले भाँगोलाई औषधीय गुणयुक्त वनस्पति मानेको छ । खासमा पोथी भाँगो चरेस र गाँजा बनाउन प्रयोग नहुने होइन तर गाउँलेहरुको भाँगोप्रतिको मोह अचारसँग मात्रै जोडिएको छ । ताराखोलालगायतका स्थानमा लगाइएको खेती पटक–पटक नष्ट गर्ने प्रहरी अधिकारीहरु स्वयंं पनि अचारका भने पारखी रहेको पाइएको छ । परापूर्वकालदेखि जिब्रोमा गडेको स्वाद छाडुन स्थानीयहरुलाई कठिन छ तर कानूनले उनीहरुको भावना बुझ्दैन र भाँगो खेतीलाई अवैधानिक दर्ज गर्छ ।
आयुर्वेद वा औषधि विज्ञान अनौठो छ । यसले काूननले वर्जित गरिएका बस्तुमा पनि औषधीय गुण देख्छ । त्यसको प्रवद्र्धन र उत्पादान गर्नुपर्ने मत जाहेर गर्छ । यही परिपेक्ष्यमा संघीय सांसददेखि नागरिक अभियन्ताहरुले गााँजा खेतीलाई नै वैधानिक दिनुपर्ने मत जाहेर गरेका छन् । विभिन्न देशमा गाँजालाई वैधानिकता दिइएको तथ्य पेश गर्दै उनीहरुले परापूर्वकालदेखि प्रयोगमा आएको गाँजा नियमनसँगै उत्पादन गर्नुपर्ने बताएका छन् । यो अभियानको नेतृत्व गर्दै सांसद शेरबहादुर तामाङले संसदमा गैरसरकारी विधेयक दर्ता गराए । उनले गाँजा निकासीबाट नेपाल र नेपाली धनी हुने तर्क गर्दै गाँजालाई वैधानिकता दिन ढिला भएको तर्क गरिरहेका छन् । विधेयकमाथि छलफल अघिबढेको छैन । उनको अभियानको पक्ष र विपक्षमा मतहरु जाहेर भएका छन् । लागूपदार्थ बेचेर देश धनी बन्ने हैन, लागूपदार्थको दुव्र्यसनले युवाहरु पथभ्रष्ट हुने उनीहरुको मत छ भने केहीले नियमनसहितको उत्पादन र औषधिमा प्रयोग गर्दा केही नबिग्रने बताइरहेका छन् । नेपालमा कुनै बेला गाँजा वैधानिक थियो । हिप्पीकालीन समयमा गाँजा खुल्ला भएकाले नै उनीहरु नेपाल भित्रिएका थिए । काठमाडौंमा गाँजा पाइने पसलहरु निर्वाध चलेका थिए । पछि अमेरिकी दवावमा गाँजा र चरेसमाथि प्रतिबन्ध लगाइएको थियो । शेरबहादुरले गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भनिरहँदा नाताले उनकी श्रीमती तथा प्रदेश नम्बर १ की सभासद उषाकला राई नेपाली रक्सीलाई पनि वैधाकिता दिँदै ब्राण्ड बनाउनुपर्ने तर्क गरेकी छन् । नेपालका केही जातजातिहरुले धार्मिक प्रयोजनमा वर्षौँदेखि रक्सी प्रयोग गर्दै आइरहेको र नेपाली उत्पादनलाई गुणस्तर कायम गर्दै ब्राण्डिङ गरिए यसले विदेशबाट हुने मदिरा आयात घट्ने तर्क गरिएको छ । उनको जस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पनि कोदो खेतीलाई प्रोत्साहित गर्दै कोदोको रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
लागूऔषध र रक्सी दुबै सामाजिक विकृति जड हुन् । यी बस्तुहरुको जथाभावी प्रयोग र सेवनमा बन्देज लगाउनै पर्छ । तर, नेपालमा रक्सी वैधानिक मानिन्छ । औषधिजस्तै रक्सी मज्जाले बेच्न पाइन्छ । भला, राजश्व चाहिँ तिर्नुपर्छ । गाँजा भने गैरकानूनी नै छ । साँच्चिकै औषधीय गुण भएको गाँजालाई नियमनसँगै बेच्न सकिन्छ र असल काममा प्रयोग हुन्छ भने गाँजा खेतीप्रति सरकार नरम बन्दा केही बिग्रँदैन । तर, गाँजा र चरेसको खुलेआम सेवनले समाज नै बिग्रने सम्भावनालाई नजरअन्दाज गर्न भने मिल्दैन । रक्सीको हकमा चाहिँ दक्षिण कोरियाले आफ्नै देशमा उत्पादित सुजुलाई ब्राण्डिङ गरेकोबाट नेपालले सिक्न सक्छ । नेपाली रक्सीलाई गुणस्तरीय बनाउन सकियो भने साँच्चिकै यसले विदेशबाट हुने करोडौंको रक्सी आयात घटाउँछ ।

