भूपी सेरचनले उहिल्यै भनेका थिए–
यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी हो, काठमाडौं । धेरैले यसलाई सपनाको सहरको रुपमा अथ्र्याउँछन् । सामाजिक सञ्जाल र सूचना प्रविधिले संसारलाई जोड्दा काठमाडौंको विकल्प रोज्ने अधिकार नेपालका दूरदराजका नागरिकसँग पनि छ तर उनीहरु अभिषप्त छन् । उनीहरुको लागि काठमाडौं खाल्डो सबैथोक हो । त्यसैले काठमाडौंप्रतिको आकर्षण घटेको छैन । काठमाडौं स्वरुपमा हिजोको जस्तो छैन तर प्रवृत्ति उही देखाउँछ । बाहिरबाट सपना बोकेर आउनेहरुलाई अनागरिक मान्न पनि छाड्दैन, अरु त अरु, काँठतिरकालाई हेप्न पनि भ्याउँछ । पुरानो सत्ता र राज्य संरचना भत्किएर के भयो त ? काठमाडौंको सत्तामा बस्नेहरु आफूलाई त्यही पुरानो साम्राज्यको प्रतिनिधि सम्झन्छ । हिजो आफै आएको बाटो भुल्छ, संघर्षका कथाहरु सम्झँदैन र चिसो एष्टे«को चिसो मान्छे बनिदिन्छ । यसको उदाहरण खोज्न पर जानै पर्दैन । अहिले देखिएको कोरोना कहर र राजधानी काठमाडौंले अवलम्बन गरेको फरक व्यवस्था हेरे पुग्छ । अहिले काठमाण्डौं सजिलै छिर्न पाइँदैन । पसिना बगाउन राजधानी छिर्न चाहनेहरु सजिलै काठमाडौं छिर्न नपाइने नियम बनाइएको छ । उनीहरुले अनिवार्य आफू निरोगी भएको प्रमाणपत्र पेश गर्नुपर्छ । लाइनमा उभिएर पीसीआर परीक्षणबाट उत्र्तीण हुनुपर्छ । राजधानीको शक्तिकेन्द्र वरपर आफन्त छन् भने फरक कुरा हो नभए झुत्रा कपडा लगाउने तथा सामथ्र्य देखाउन नसक्नेलाई काठमाडौं स्वीकार्दैन । लाग्छ, यो देशभित्रको अर्को देश हो । त्यहाँको कानून नै फरक छ । काठमाडौंको सत्तामा बस्नेहरु देशका अन्य भागमा बस्नेहरुलाई नागरिक नै मान्दैनन् । काठमाडौंबाट बाहिरिनेहरुको परीक्षण गर्नै पर्दैन । लाग्छ, बाहिरिनेहरु नागरिक नै होइनन् । खाल्डोभन्दा बाहिर बस्नेहरुको सुरक्षाप्रति उनीहरुसँग रत्तिभर संवेदना छैन । जे चाहिएको छ, उनीहरुलाई नै चाहिएको छ । नत्र, सिंगो देश कोरोना कहरबाट गुज्रदाँ काठमाडौंलाई मात्रै किन बढी सुरक्षा चाहिन्छ ? के देशका अन्य भागमा बस्नेहरुको कोरोना परीक्षण गर्नुपर्दैन ? यी र यावत् अनुत्तरीत प्रश्नहरुलाई तर्कको भरमा जित्न सकिएला । घना बस्ती भएकैले थप सुरक्षा प्रबन्ध गरिनुपर्ने बताइला तर त्यो काफी हैन । अहिले काठमाडौंले जुन प्रवृत्ति देखाएको छ, त्यो केन्द्रीकृत मानशिकताकै उपज हो ।
सिंगो देश कोरोनाको त्रासमा बाँच्दा काठमाडौंको सत्तामा बस्नेहरुले गुणस्तरीय ओखतीको ख्याल राखेनन् । स्वास्थ्य सामग्री खरिद प्रकरणमै ¥याल चुहाउन पुगे । देशलाई रेमिट्यान्स दिने नागरिकहरुले सीमा र विदेशमा बसेको विलौना पनि काठमाडौंले सुनेन । काठमाडौं खासमा त्यही खाल्डोभन्दा बाहिर संसार नै छैन र आफ्नो दायित्व नै छैन भन्ने सम्झन्छ । देश संघीयतामा गइसकेपछि पनि उसको मानशिकता बदलिएको छैन । त्यसैले ऊ प्रदेश र स्थानीय तहहरुलाई अधिकार दिन कञ्जुस्याइँ गरिरहेको छ । अहिले सतहमा स्वास्थ्य प्रबन्धजस्तो देखिए पनि नागरिकलाई असुरक्षित तवरले सडकमा रोकेर जसरी हुर्मत लिइएको छ , त्यो सरासर गलत छ । काठमाडौं छुट्टै व्यवस्थासहितको ठाउँ हुनै सक्दैन । काठमाडौंले समग्र देशको दुःख र पीडा देख्नुपर्छ । जबसम्म काठमाडौं स्वार्थी भइरहन्छ,त्यो बेलासम्म संघीयता पनि बलियो बन्दैन ।

