भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो २ वर्षे कार्यकालमा ४ पटक नेपाल भ्रमण गरिसकेका छन् । त्यसो त उनी ‘पथिक’ को रुपमा यसअघि नै नेपाल आइसकेका थिए । भारतमा प्रचलित हिन्दु सम्प्रदायमध्ये बलियो मानिने स्वामी नारायण सम्प्रदायका चेला हुन्,मोदी । उनका गुरु स्वामी नारायणले राजा रणबहादुर शाहको पालातिर नेपाल भ्रमण गरेका थिए । ज्ञानको खोजीमा आएका उनी तराईको घना जंगल छिचोल्दै कालीगण्डकीको तिरैतिरको बाटोबाट मुक्तिनाथ पुगेका थिए । बाघ,भालु अनि सर्पहरुसँग पौँठेजोरी खेल्दै मुस्ताङ पुगेका स्वामी नारायणले त्यहीँ ज्ञान प्राप्त गरेका थिए, ईश्वरसँग साक्षात्कार भएका थिए । आफ्ना गुरु स्वामी नारायणले भगवान शिवसँग साक्षात्कार गरेको ठाउँ भएकैले भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आएका हुन् । म्ुक्तिनाथ दर्शनको क्रममा मोदीमा देखिएको समपर्ण वास्तवमै सच्चा थियो । नेपालका राजनेताहरु पनि मन्दिर÷धार्मिक स्थल जान्छन् तर उनीहरुको त्यो यात्रा राजसी देखिन्छ । मुक्तिनाथको पूजाआजाको क्रममा मोदीमा राजकीय ठाँट हैन कि भक्तीको भाव थियो । भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुगेको थियो । धार्मिक पर्यटन प्रवद्र्धनमा मोदीको मुक्तिनाथ यात्रा आफैमा ब्राण्ड बनेको थियो ।
नेपालभन्दा धेरै टाढा गुजरातमा जन्मेका भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ यात्राले नेपालमा धेरै धार्मिक केन्द्रहरु छन् भन्ने प्रष्ट भयो । प्रधानमन्त्रीको रुपमा मोदीसँग समय थिएन र उनी हवाई यात्रामार्फत् मुक्तिनाथको पुगे । मोदीले मुक्तिनाथको प्रवद्र्धन गर्दा उनका गुरु स्वामी नारायणको यात्राको प्रसंग अनि उनी हिँडेको बाटोबारे जति चर्चा हुनुपर्ने त्यति हुन सकेन । कालीगण्डकी आफैमा अलौकिक नदी हो । भगवान विष्णुको साक्षात रुप शालिकग्राम पाइने नदीको महिमा धेरै हिन्दुग्रन्थमा गरिएको छ । कालीमा नुहाउँदा मोक्ष पाइन्छ भन्ने सबै हिन्दुहरुको विश्वास हो । कालीगण्डकीको उद्गम हिमालय हो । मुक्तिक्षेत्र हुँदै बग्ने यी पवित्र मात्र हैनन्, सभ्यताकी जननी पनि हुन् । कालीगण्डकीलाई नेपालले जति चिन्नुपर्ने हो, सकेको छैन । त्रिवेणीदेखि कालीगण्डकीको मुहानसम्मको धार्मिक पर्यटकीय यात्राबारे कुरा उठे पनि त्यसको कार्यान्वन हुन सकेको छैन ।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले त्रिवेणीदेखि मुक्तिनाथसम्मको पदयात्रा मार्ग निर्माणको पहल गरेका थिए । उनको पहलले सार्थकता पाएको भए पवित्र कालीगण्डकी सिंचित भूभागको अवलोकन गर्दै हुने मुक्तिनाथ यात्रा आफैमा अलौकिक बन्थ्यो । ढिला भएको छ तर बिग्रेको छैन । कालीगण्डकीको तिरैतिरको यात्रा नेपालको धार्मिक पर्यटनको लागि कोषेढुंगा हुनेमा दुईमत छैन । तराईको प्रचण्ड गर्मीबाट सुरु हुने यात्राको उदेश्य मोक्ष नै हुन्छ । त्रिवेणीबाट सुरु हुने कालीगण्डकी तिरैतिरको यात्रालाई मोक्ष मार्गको रुपमा विकास गर्न सकिन्छ । महाभारत सर्किटदेखि अनेकौं सर्किटको कुरा गरिरहँदा सम्भ्यताको जननी कालीगण्डकी छायाँमा पर्नु हुँदैन । यसो भनिरहँदा नदीबाट सृजित सभ्यता र अन्य पर्यटकीय केन्द्रहरुको विकास हुनै पर्छ । पर्यटकको नेपाल बसाई लब्याउन अनि विदेशी मुद्रा आर्जन गर्न यो पदयात्रा मार्ग कोषेढुंगा नै हुनेछ । यसर्थ, कालीगण्डकी तिरैतिरको यात्रालाई मोक्षमार्गको रुपमा विकास गर्नुपर्छ । मोक्षमार्गको यात्राबाट व्यक्तिले मोक्ष प्राप्त गर्दा पर्यटनबाट नेपालले ठूलो लाभ लिनसक्छ ।

