तत्कालिन धौलागिरी अञ्चलको क्षेत्र भित्र त्रिभूवन विश्व विद्यालयको एक मात्र आंगिक क्यामपस छ । धवलागिरि बहुमुखी क्याम्पसमा चारहजार बिद्यार्थी पढ्छन् । विश्वविद्यालयले सहमति दिएकै कारण पछिल्लो समय माग भएका बिबिए, बिबिएस र बिज्ञान संकाय संचालनमा छ । तर संचालन भएको ५ बर्ष पुग्दापनि विश्वविद्यालयले दरबन्दी दिएको छैन । दरबन्दी अभावमा आंशिक शिक्षकहरुको भरमा क्याम्पस चलाउनु परेको छ । कुल कक्षाभारको ७० प्रतिशत भार आंशिक शिक्षकमा छ । त्रिविको नियम अनुसार सातामा १५ पिरियड पढाएर पूर्णकालिन प्राध्यापकले तलब खान्छन् । तर आंशिकले सातामा ४९ पिरियड सम्म पढाउनुपर्छ । तर उनीहरु ज्यालादारी हुन् ।
ज्यालादारीले संगठित रुपमा बिरामीको बाहना बनाइदिने हो भने धवलागिरि बहुमुखी क्याम्पस ठप्पै हुन्छ । परीक्षाफलमा हेर्दापनि आंशिकले पढाएका संकाय र बिषयमा शतप्रतिशत उत्तिर्ण दर छ । स्थायी प्राध्यापकले पढाएको कक्षाको उत्तीर्णदर मुस्किलले ३२ प्रतिशत छ । आंशिक शिक्षकले हात झिक्दा क्यामपसको गरिमा पनि घट्नेछ । क्याम्पसको गरिमा घट्दा बजारको व्यवसायमा पनि नकारात्मक असर पर्ने देखिन्छ ।
नेपाल सरकराले चार बर्ष अघिनै एकबर्ष आंशिक भएका शिक्षकलाई करार गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पालना भएको छैन । त्रिविले भने स्वायत्ततामा गएका क्याम्पसले आफ्नै आबस्यकताको आधारमा प्राध्यापकहरु करार गर्न सक्ने प्रावधान राखेको छ । सोही प्रावधानलाई टेकेर धवलागिरि बहुमुखी क्याम्पसले एक बर्ष अघिनै स्वायत्तता जाने निर्णय लिइसकेको छ । उक्त निर्णयपछि त्रिविको कार्यकारी सभाले कार्यविधि पास गर्नुपर्ने थियो । तर लामो समयदेखि कार्यविधि पास नभएर अलपत्र छ । नयाँ नियुक्ती भएका पदाधिकारीले पनि आफ्नो कार्यसूचिमा स्वायत्तताको प्रावधान राखेका छैनन् । जसको कारण आंशिक शिक्षकहरु मारमा परेका छन् । उनीहरु मध्ये अधिकांसले १० देखि १५ बर्ष सम्म आंशिकमा पढाइसकेका छन् । प्रावधानले भने एक बर्षमै उनीहरुको आवस्यकता भए करार गर्ने, नभए घर फकाईदिने बोलेको छ ।
बर्षौदेखि क्यामपसमा अल्झेपछि उनीहरुको उमेर पनि गैसकेको छ । यो समयमा त्रिविले स्थायी दरबन्दीकालागि पनि प¥र्याप्त प्राध्यापक नमाग्दा युवाहरु अल्झिरहेका छन् । नत्र उनीहरुले अब पेशा परिवर्तन गर्छन्, तन त्रिविले अवसर दिएको छ । यो अबस्थाले क्यामपसमा आंशिक पढाएका शिक्षकहरु आसपासका निजीबिद्यालय देखि सरकारी बिद्यालयमा पनि आंशिक शिक्षणमा दर्गुछन् । कोरोना संकटका बेला सबै शिक्षण संस्था ठप्पै भएकोले स्नातकोत्तर र एमफिल गरेका युवाहरु बेरोजगार बन्नु दुर्भाग्यपूर्ण समेतछ । त्यसोत उनीहरुले अनलाइन मार्फत धवलागिरि बहुमुखी क्याम्पसका कतिपय कक्षा संचालन गरिरहेक छन् । तर त्यसको पारिश्रमिक पनि पाएका छैनन् । भोको पेट पाल्नकालागि कोरोना कहरमा पनि आन्दोलनमा उत्रनुपरेको बताउने शिक्षकहरुको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ । जहाँ बिद्वानहरुको रोजीरोटीकोपनि व्यस्था गर्न सकिंदैन, उनीहरुलाई राज्यको हितका काममा कसरी ल्याउने ? उनीहरुको प्रतिशोधले भोलीका दिनमा पनि राज्यको बिकास निर्माण र बौद्धिक संस्थाहरुमा प्रतिउत्पादक बन्ने खतरा देखिन्छ । तसर्थ त्रिवि र सरकारी पक्षले समयमै निष्कर्ष दिएर बौद्धिक युवालाई सहि काममा लगाउन सक्नुपर्छ ।

