कोरोना संक्रमण र मृत्युको दर दिनानुदिन उकालो लागेको छ । कोरोना आधिकारिक रुपमा संक्रमण समुदायमा फैलिएको नस्वीकारिए पनि सत्य त्यही हो भन्नेमा सबै स्पष्ट छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना समुदायमा फैलिएको र स्थिति भयावह बन्नसक्ने भन्दै नगरबासीलाई सचेत गराएका छन् । संक्रमण समुदायमा फैलिँदा भएका पूर्वाधारहरु अपुग हुने र यसले भयावह स्थिति उत्पन्न गराउन सक्ने उनको आंकलन गलत छैन र हैन । उनले महामारीको बेला नियमित ओखती सेवन गरिरहेका दीर्घरोगी, बृद्धबृद्धा तथा बालबालिकाहरुको विशेष ख्याल गर्न आग्रह गरेका छन् । उनको भनाई युवावस्थाका नागरिकको दायित्यवोधको आह्वान पनि निहितार्थ छ । सबैको घरमा बृद्धाबृद्ध र बालबालिका हुन्छन् नै । उनीहरुलाई सुरक्षित राख्नु भनेको बाहिर हिँडडुल गर्ने युवाहरुले परेज राख्नु पनि हो । स्थिति भयावह भएपछि कसैलाई दोष दिएर उन्मुक्ति पाइँदैन । अत ः कोरोनाबाट बच्न अब आफै सचेत बन्नैपर्छ । किनकि, यतिबेला लकडाउन छैन । सार्वजनिक यातायात संचालनमा आएका छन् । आवत–जावत् बढेको छ र निश्चितबाहेकका सेवाहरु संचालनमा छन् । पोखराकै कुरा गर्दा, यहाँ समुदायमा कोरोना फैलिएको पुष्टि भएको छ । स्याङ्जा, तनहुँ, बागलुङको अवस्था पनि त्यही छ । भला, रोगलाई जित्नेको संख्याले मान्छेलाई निराश बनाएको छैन ।
कोरोनाको पहिलो संक्रमण देखिएपछि लकडाउनको घोषणा भयो । लकडाउनले ंसंक्रमण फैलन दिएन । लकडाउनको बीचमा विदेशबाट नागरिकहरु घर फर्केनन् । जसै नागरिक फर्कने क्रम सुरु भयो, लकडाउन पनि खुल्ला भयो । दीर्घकालीन लकडाउन सम्भव थिएन र छैन । तर, संक्रमणको ओखती पनि बनिसकेको छैन । परेजमा बस्नुबाहेक विकल्प नभएको अवस्थामा सार्वजनिक जीवनमा जथाभावी हिँड्दाको परिणाम डरलाग्दो हुने संकेतहरु देखिएका छन् । अत ः आफ्नो सुरक्षा आफै गर्नुपर्ने दायित्व नागरिकको काँधमै फर्किएको छ । कोरोनाबारे धेरै जानकारी दिइसकिएको छ । नागरिकहरुले यो रोगको लक्षण र संक्रमण फैलने तरिकाबारे जानकारी पाइसकेका छन् । रोगबाट जोगिने उपाय पनि उनीहरुलाई थाहा छ तर विवशता पनि छ । कति दिन घरभित्र बस्ने ? काम नगरे के खाने ? भन्नेजस्ता प्रश्नहरुकै कारण सडकमा चहलपहल भएको सोझै अनुमान लगाउन सकिन्छ । सरकारले एक चरणमा राहत वितरण गरिसकेकाले फेरि राहत पाउने सम्भावना कम छ । काममा निस्कनु मान्छेको बाध्यता हो । अब बाध्यता र व्यवहारमा तादाम्यता मिलाउनुपर्ने भएको छ । सकेसम्म दूरी कायम गर्ने, परिवारको ख्याल गर्ने अनि संक्रमण फैलन नदिन सचेतता अपनाउने काम नागरिकस्तरबाट हुनैपर्छ । हामीसँग सीमित साधन र स्रोत रहेका छन् । विश्वका मै हुँ भन्ने राष्ट्रले नसकेको कुरा नेपाल सरकारले गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नु अहिलेको बुद्धिमानी हुनेछ । यसो भनिरहँदा सुदूरको आंकलन गर्दै स्वास्थ्यका पूर्वाधार र जनशक्तिलाई तम्तयार अवस्थामा राख्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । संक्रमण बढ्दै जाँदा कठोर निर्णय लिन पछि पर्नु हुँदैन र आफ्नो स्रोत तथा साधन जनताको ज्यान बचाउनकै लागि खर्चनुपर्छ ।

