शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी सेरोफेरोको लोकगीत र संस्कृति

गण्डकी सेरोफेरोको लोकगीत र संस्कृति


  • प्रा. डा. कुशुमाकर न्यौपाने
  • भाद्र २ २०७७, मंगलबार

लोक संस्कृति भनेको धेरै ठूलो पारिभाषिक शब्द हो । यसभित्र समग्र जीवन जगतका (जन्मदेखि मृत्युसम्मका) सारा सृष्टिका कुरा लुकेका हुन्छन् । बुझाइमा लोकसंस्कृति भन्नेबित्तिकै गाउने, नाच्ने, बजाउनेलाई बुझिएको छ । यथार्थमा त्यतिमा मात्रै लोकसंस्कृति सीमित हुँदैन ।
लोकसंस्कृतिभित्रको महत्वपूर्ण पाटो लोकगीत हो । लोकगीत पनि अमूर्त संस्कृति हो । संस्कृति दुई भागमा विभाजित हुन्छ । एउटा मूर्त संस्कृति । अर्को अमूत संस्कृति । मूर्त संस्कृति भनेको जसलाई छोइन्छ, समातेर लिन सकिन्छ । त्यो मूर्त संस्कृति । अमूर्त संस्कृति जसलाई छुन सकिँदैन । जसलाई हृदयले मष्तिस्कले मात्र छुन्छ । त्यो अमूर्त संस्कृति हो ।
मूर्त संस्कृतिहरू भाँडाकुँडा भए । जस्तै ठेकी । हाम्रो नेपाली संस्कृति आने भए, ठेकी भए । कामीले बनाउने भाँडाकुँडा, सार्कीले बनाउने जुत्ताचप्पल भए । दमाईले बनाउने कपडाहरू भए ती मूर्त संस्कृति भए । अमूर्त संस्कृतिका पनि धेरै पाटाहरू छन् । त्योमध्येको एउटा हाँगो लोकगीत हो ।
लोकगीत पनि विभिन्न आधारमा वर्गीकृत हुन्छन् । यति धेरै छन् कि तिनलाई एउटै आधारमा वर्गीकरण गरेर छुट्याउन पनि गाह्रो छ । एउटा पाटो के छ भने हामीभित्र भएको लोकसंस्कृतिको आधार भनेको गायन अवसर पनि हो । गायन अवसरका रूपमा हेर्नुभयो भने लोकगीत एउटा बाह्रै महिना गाउन मिल्ने लोकगीत हुन्छ । जुन जतिवेला पनि बिहानदेखि बेलुकासम्म गाउन मिल्छ । जहाँ पनि जसरी पनि गाउन सकिन्छ बाह्रमासे लोकगीत । जस्तै, सालैजो । बागलुङ, धौलागिरितिर बढी प्रचलित बाह्रै महिना जतिवेला पनि गाइदिन्छन् । यानी माया जतिवेला पनि गाइदिन्छन् । सुनि माया जतिवेला पनि गाइदिन्छन् । साइलोलाई जतिवेला पनि गाइदिन्छन् । यस्ताखालका गीतहरू बाह्रमासे गीत हुन् । भजन, चुट्का, ख्याली यी पनि बाह्रमासे गीत हुन् । र, ती बाह्रैमहिना गाइने गीत पनि हाम्रो गण्डकी प्रदेशमा भयंकर छन् । धेरै छन् ।
अहिले केही परिवर्तन पनि आइरहेको छ । सालैजोमा पनि फरक भएको छ । सालैजो टुक्कायुक्त र टुक्काविहीन पनि हुन्छ । लामो र छोटो लयको पनि हुन्छ । ठाडो भाकाको पनि हुन्छ । यस्ता विभिन्न शैलीका लयका सालैजो गीत पनि छन् ।
अर्को कर्म गीत भन्ने छ । कर्मगीत भनेको काम गर्दा गाइने गीत । काम गर्दा गाइने गीतलाई श्रमगीत पनि भनिन्छ । श्रम गर्दा गाइने । त्यस्ता गीत पनि हाम्रो प्रदेशमा प्रशस्त छन् । उदाहरणकै लागि असार महिनामा असारेगीत । जेठमा घैया गोड्दा जेठेगीत गाउँथे । अनि साउन महिनामा कोदो रोप्दा साउनेगीत गाउने चलन छ । भदौ महिनामा कोदो गोड्दा भदौरेगीत गाउने चलन छ । असोजमा ठ्याक्कै देखिँदैन । असोज मंसिरमा दाइँ हाल्ने गीत हुन्छ । र, यस्ता काम गर्दा गाइने गीत पनि हाम्रो नेपालमा छन् ।
अहिले पनि केही लोपोन्मुख अवस्थामा भए पनि केही जीवत छन् । पर्वको अवसरमा गाइने गीत पनि छन् । तिजका बेला गाइने गीतलाई तिजेगीत भनिन्छ । दसैँको बेला गाइने मालश्री गीत । घुम्टेको लेकतिर ताराखोला पाण्डवखानीतिर मालश्री गाइन्छ ।
गुुल्मीतिर दसैँ सेलाउने गीत गाउँछन् । त्यसलाई दसैँगीत भन्छन् । गुुल्मीको धुर्कोटमा तुरीगीत गाइन्छ । त्यसलाई तुरीगीत भन्छन् । तर, मैले धुरीगीत भन्ने गरेको छु । सराय खेल्नुभन्दा अघि गाइनेहरूले सारङ्गी बजाएर एकल दोहोरी गाउँछन् । त्यस्तो गीतलाई तुरीगीत भन्छन् । तुरी, शब्दा सुन्दा आफैँमा नमज्जा लाग्ने भएकाले धुर्कोटको आसपासमा गाइने भएकाले धुरीगीत भनेको हुँ । सराय पाँच नम्बर प्रदेशमा छ ।
तिहारमा देउसीभैलो खेल्ने गरिन्छ । यसरी बाह्रमासेगीत, कर्मगीत, पर्वगीत र अब अर्को भेद् हामीसँग संस्कारगीत भन्ने छ । संस्कारगीत भनेको जन्मदेखि मृत्युसम्म संस्कारका बेलामा मात्र गाइन्छ । जस्तै, छैठीको बेलामा गाइने गीतहरू छन् । छैठीमा गाइने गीत बच्चाहरूलाई राम्रो होस् शुभ होस् उन्नति होस् भन्ने कामना गरेर गाइएका गीतहरू छन् ।
विवाह संस्कार गर्दा रत्यौली खेल्ने चलन छ । रत्यौली अरू बेला गाइँदैन । व्रतबन्धको बेला गाइने मागलहरू छन् । सगुनहरू छन् । सगुन छैन हाम्रो प्रदेशमा मांगल छ । यस्तै अर्को मृत्यु संस्कार गर्दा गाइने गीत माझी बोटे जातिहरूमा प्रचलित छ । गुरुङ जातिहरूमध्ये केहीमा भेलौरे गाउने संस्कार छ ।यसरी, बाह्रमासे, कर्म, पर्व र संस्कार गरेर गण्डकी प्रदेशमा अथवा नेपालमै लोकगीतहरू ४ प्रकारका लोकगीतहरू प्रचलित छन् । र ती गीतका साथसाथै गीतलाई तागत दिने शक्ति भनेको बाजाहरू हुन् । गण्डकी प्रदेशमा यी गीतसँग सम्बन्धित बाजाहरूमा तारबाजा, चर्मबाजा, सुसिरबाजा, घनबाजा गरेर ४ प्रकारका बाजा बजाइन्छ ।
४ प्रकारका बाजामध्ये बाह्रै महिना गाइने गीतमा मादल, खैजडी, मजुरा बढी बज्छ । गन्धर्वहरूले सारंगी बजाइरहेका हुन्छन् । तिनलाई तारबाजा भनेर भनिन्छ । खैजडी, मादल भनेको चर्म बादा हुन् । चर्मबाजा भनेको छाला हो । यी बाजाहरू गण्डकी प्रदेशमा छन् । अनि, अर्को सुसिर बाजा भनेर फुकेर बजाइने बाजाहरू हामीसित छन् । लोकगीतमा मुरली बजिरहेको हुन्छ । सहनाई बजाइरहेका हुन्छौँ । यसरी फुकेर बजाइने बाजा पनि हाम्रैमा छन् । चर्मबाजा दमाहा भयो, ट्याम्को भयो, ढोलकी भयो । खैजडी भयो, मजुरु भयो । यी चर्म बाजा पनि हाम्रा लोकगीतमा बज्छन् । ठोकेर बजाइने बाजा घन बाजा भए । यसरी चार प्रकारका बाजाहरू हाम्रा लोकगीतमा बजेका हुन्छन् । ती बाजाहरूले हाम्रा लोकगीतलाई शक्तिशाली बनाउन भूमिका खेलेका छन् ।
यहाँको लोकगीत र बाजाको धुनबाट प्रभावित भएर बसिरहेको मान्छे पनि जुरुक्क उठेर नाच्ने बनाएका छन् । त्यस्ता बाजा र गीतहरू छन् । मृत्युहरूमा झ्याउरे नाच छ, कौरा नाच छ । खेली नाच छ । सोरठी नाच छ । घाँटु नाच छ । यस्ता मौलिक प्रकृतिका नाचहरू गण्डकी प्रदेशमा छन् ।
गण्डकी प्रदेशमा भएका संस्कृति पाँच नम्बर पनि भेटिन्छ । कतिपय ३ नम्बर प्रदेशमा पनि पाउँछौँ । तर, ती गीतहरू पनि हाम्रै प्रदेशबाट गएको जस्तो देखिन्छ । किनभने यहाँ ती लोकगीतहरू दह्रो गरी बाँचेका छन्, हुर्किएका छन् ।

बाह्रमासे, कर्म, पर्व र संस्कार गरेर गण्डकी प्रदेशमा अथवा नेपालमै लोकगीतहरू ४ प्रकारका लोकगीतहरू प्रचलित छन् । र ती गीतका साथसाथै गीतलाई तागत दिने शक्ति भनेको बाजाहरू हुन् ।

त्यसको प्रभाव पनि हुन सक्छ यहाँका गायकगायिक अलि दह्रा भएर देखिएका छन् । अलि सशक्त भएर देखिएका छन् ।
त्यसकारण यहाँको लोकसंस्कृतिभित्रको लोकसंगीत । गीत बाजा र नाचलाई लोकसंगीत भनिन्छ । त्यो लोकसंगीत हाम्रोे गण्डकी प्रदेशभित्र सुन्दर बनेर अहिलेसम्म हुर्किरहेका छन् । केही लोप हुने अवस्थामा छन् केही विकृृत बनेर आइरहेका छन् । त्यसमा आमसञ्चार माध्यम र आमजनमानसले तिनको मौलिकता गुम्न नदिन गम्भीर भएर लाग्नुपर्ने अवस्था आएको छ ।
केही गीत लोप हुने अवस्थामा छन् । जस्तै जेठेगीत लोप हुने अवस्थामा छ । दाइँगीत पनि पहिलेको जस्तो छैन । सुन्न पाइन्न । असारेगीत अलिकति विकृत हुने हो कि भन्ने दिशामा छ । साउने, भदौरे अब ठ्याक्कै पहिचान गुमिसकेको छ । दाइँगीत हराउने अवस्थामा छ ।
कर्मगीतको पाटो हराउँदो अवस्थामा छ । पर्वगीतमा विकृत बस्ने अवस्थामा छ । मालश्री हराउँदो अवस्थामा छ । देउसीभैलो पनि विकृत बनेर आइरहेको छ । फागुगीत थियो । फागुगीत हराउँदो अवस्थामा छ ।
गीतहरू जस्तो बाह्रैमहिना गाइने गीतहरूमा नौतुने भाका हराउँदै छ, साइँलो दाइ भाका हराउँदै छ । दुर्लभ भइसक्यो । यी सबै हराउँदो अवस्थामा रहेका हाम्रा गीतहरू विवाहमा गाइने मागल पनि हराउँदै छ । मृत्यु संस्कारमा गाइने भेलौरे हराउँदै छ । कौरा भने अलि अग्र गतिमा आउँदै छ । मगरको पहिचान पनि हो । हाम्रा लोकसंस्कृति लोकगीतहरू हराउँदो अवस्थामा छन् ।
पछिल्लो समय लोकगीत संगीतमा नयाँ पुस्ताको सक्रियता बढे पनि मौलिकतामा आँच आउनेखालका गतिविधि पनि भएको हामी देख्न पाउछौँ । राम्रो गर्ने भाइबैनी पनि प्रशस्त छन् ।
लोकगीत लोकसंस्कृतिभित्रको एउटा शाखा हो । लोकसंस्कृति र लोकगीत फरक कुरा होइनन् । लोकसंस्कृतिभित्रको एउटा सन्तान, एउटा हाँगो हो, लोकगीत । त्यसो हुँदा यी दुई भिन्न कुरा होइनन् । एउटै कुरा हुन् । लोकसंस्कृति भन्दा धेरै कुरा आउँछन् । लोकगीत, लोककथा, लोकनाटक आउँछ धेरै कुरा आउँछ ।
त्यसकारण संस्कृति साझा हो । त्योभित्रको पाटो लोकगीत पनि हो । संस्कृतिको धेरै पाटोमध्यको एक लोकगीत हो ।
नेपालमा लोकसंस्कृति भने पनि लोकगीत भने सबल प्रदेशका रूपमा चिनिन्छ । यसमा त्यस्तो कमीकमजोरी केही पनि देखिन्न । सुदूरपश्चिममा जानुभयो भने त्यहाँ पनि सबल छ । गण्डकी प्रदेश बलियो लोकसंस्कृति भएको प्रदेश हो ।
अहिले दमाईले बजाउने बाजा बाहुनसम्म पनि पुग्न थालेको छ । मिक्स भइसक्यो । नृत्य पनि सबैले गर्न थाले । गाउन पनि सबैले गाउन थाले । सालैजो, यानि माया गुरुङ, मगरले मात्र गाउने हो भन्थे । अहिले सबैले गाउन थाले । त्यसो हुँदा सांस्कृतिक हिसाबले एकता बनेको छ नेपालमा ।
पछिल्लो समयमा केही पुस्ता मौलिक संस्कृति जोगाउन सक्रिय भएको देख्न सकिन्छ । त्योखालको चेतनाको विकास भएको देख्न सकिन्छ ।
जुनसुकै ठाउँमा पनि ठूलाठालुको प्रभाव पर्छ । कस्तो खायो ? कस्तो खानुपर्ने ? कस्तो लगायो ? कस्तो लगाउनुपर्ने ? हाम्रो मनोवृत्ति तपाईंको ढंगले नबाँच्ने । तपाईं अर्को ठूला मान्छेको ढंगले बाँच्ने प्रवृत्ति छ ।
हाम्रो संस्कृतिमा पनि सारंगीभन्दा प्यारो भ्वाइलेन्स हुन्छ । सारंगी मीठो मान्दिए पनि हुन्थ्यो नि । भ्वाइलेन विदेशीहरूले बजाए । गितार बजाए, यहाँको अबार्जे बाजा गाइनेहरूले बजाउने अबार्जे बाजा गितारकै एउटा रूप हो । त्यसलाई होइन उसलाई बजाउनुपर्ने । त्यसपछि आएर आयातीत बाजामा रमाइलो मान्न थाले । नौमती बाजा घन्किँदाखेरि स्वाद र ड्रमसेट बजाउँदाखेरिको स्वादमा कुन मीठो हुन्छ । मीठो त यही हुन्थ्यो नि । तर, त्यसमा अलि ठूलाठालु गोराहरूले बजाएको हुनाले यो राम्रो हो भनेर त्यतातिर बढी ढल्केको देखिन्छ । त्यसले गर्दाखेरि आफ्नोपन बिर्सने स्वभाव हुन्छ ।
(प्राध्यापक डाक्टर कुशुमाकर न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->