भदौ लागेसँगै पर्वहरुको समय सुरु भएको छ । हिन्दु संस्कारअनुसार नेपाली नारीहरुको पर्व तिज, नेवार समुदायको गुँला पर्व, बाबुको मुख हेर्ने दिन (कुशेऔशी) लगायतका भीड जम्मा हुने पर्वहरु सम्मुखमा छन् । साँस्कृतिक परम्पराको रुपमा रहेका पर्वहरु मनाउने हाम्रा आ–आफ्नै विधि र प्रक्रियाहरु छन् । यी पर्वहरुलाई मनाउँदा एक ठाउँबाट अर्को ठाउँ र एक व्यक्तिबाट अर्को व्यक्तिको सम्पर्क कायम हुने कुरामा हामी सबै जगजाहेर छौं । मंगलबार मात्रै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् । यससँगै गण्डकीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । संक्रमित धेरै भए तर, ज्यान गुमाउने जोखिममा रहेका नागरिकहरु हुन् । दिर्घ रोगसँग लडिरहेकाहरु कोरोनाको शिकार बनिरहेका छन् । खानपानको व्यवस्थापन र दैनिक क्रियाकलापहरुको व्यवस्थापन गर्न नसकेका कारण कतिपय रोगको शिकार बनेकाहरु कोरोनाको उच्च जोखिममा छन् । जसको ज्वलन्त उदाहरण हो अहिलेसम्म गण्डकीमा मृत्यु हुनेहरुको मृत्यु पूर्व रहेका दिर्घ रोगको अवस्था । अहिले संक्रमण एकदुई जना होईन, एकदुई ठाउँ होईन सायदै नपुगेको ठाउँ होला । समुदायमा कोरोनाको संक्रमण भएको पुष्टि नहुने बेलासम्म हामीले त्यति ध्यान दिएनौं । अहिले समुदायमा कोरोना फैलिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा, छिमेकी जिल्ला तनहुँ र साविकको धौलागिरी अञ्चल मुकाम बागलुङ बजार तथा स्याङ्जामा समुदायमा कोरोना फैलिएका कारण सरकारले खुकुलो बनाएको लकडाउनलाई नयाँ रुपमा प्रस्तुत गर्नुपर्ने अवस्था आएको छ । सोमबार मात्रै तनहुँका केही स्थानीय तहमा निषेधाज्ञा जारी भयो । त्योभन्दा पहिले स्याङ्जामा निषेधाज्ञा जारी भएको थियोभने मंगलबार पोखरा महानगरपालिका र बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको छ । यसको अर्थ यो होईन कि हामी निषेधाज्ञाका लागि तयार भैसकेका छौं अथवा हामीले यो विकल्पबिना संकटको समाधान खोज्नै सक्दैनौं । तर हाम्रै दैनिक क्रियाकलापका कारण आज निषेधाज्ञा जस्तो असजिलो अवस्था सिर्जना भएको छ । पर्वको समय र निषेधाज्ञा एक अर्कामा सम्बन्ध राख्ने विषय बनेका छन् ।
तर, हामीले यसलाई सहज र सरल हिसाबले अपनाउनुपर्ने छ कि हाम्रोे बाँकी जीवनका स्वस्थ्य राख्नका लागि । पर्वका बेला ओहोरदोहोर बढी युवापुस्ता र निरोगीहरुको हुन्छ भने सम्पर्कमा रहने धेरै दिर्घरोगी र उमेर पुगेका नागरिक तथा बालबालिका हुन्छन् । यो बेला जारी भएका निषेधाज्ञा अवज्ञा गर्ने, आफ्नो र आफ्नाहरुको ख्याल नगर्ने हो भने एक पटकको कमजोरीका कारण आफ्ना आफन्तहरु गुमाउु पर्दाको क्षण कस्तो होला कल्पना गर्नुस त । त्यसैले हामी रहयौंं भने हाम्रा संस्कार, हाम्रा आफन्त, हाम्रा रितीरिवाज सबै रहन्छन् । यो पटक पर्वको समयमा संयमता अपनाउने, घरमै बस्ने र सुरक्षित रहनेबाहेक हामीसँग विकल्प छैन् । त्यसैले निषेधाज्ञाको पालना, स्वास्थ्य मापदण्डको पालना गर्न नागरिक सक्रिय जिम्मेबार हुनुपर्छ भने कठिन परिस्थितीलाई सहज बनाउँदै जनजिवनलाई सहज र सुरक्षित राख्ने जिम्मेवारी राज्यको हो । नागरिकले राज्यले बनाएको विधि पालना गर्ने र राज्यका निकायहरुले नागरिकका नैसर्गिक अधिकार बञ्चित नहुनेगरी विधिको कार्यान्वयन गराउनु नै सबै सुरक्षित रहने उत्तम उपाय हो ।

