गत बर्ष सन् २०१९ को अन्त्यमा चीनमा कोरोना भाइरस देखियो भनियो । यसलाई विश्वले उति चासो दिएन । चीन एक्लै भइरससँग संघर्ष गर्यो । चीनले कोरोना जित्यो भन्दा भन्दै यो विश्वभर फैलियो । महाशक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोभिड १९ लाई नाम राखे– चाइना भाइरस । अमेरिका र चीन व्यापारिक युद्धमा छँदै थिए । आलोचनलाई थेग्न नसकेपछि ट्रम्पले कुरा सच्याए । सुरुमा भाइरस सम्बन्धी फाट्टफुट्ट अन्तर्राष्ट्रिय संचार माध्यममा आएको समाचार विश्वभरि फैलिएपछि यो चासोको विषय भयो । शक्ति राष्ट्रहरुमा भाइरस छिरेपछि यो झनै जल्दो विषय भयो ।
विश्वभरका पत्रकारले प्राथमिकताका साथ आफ्ना संचार माध्यममा समाचार लेख्न बाध्य भए । यो उनीहरुको दायित्व पनि हुँदै हो । भाइरस फैलिएर यसले असर गर्न थालेको अब साढे आठ महिना भएको छ । यसको चरित्र के हो ? यसले कसरी असर गर्छ ? यो भाइरसको अन्त्य कहिले हो ? कसैले ठोस रुपमा भन्न सकेका छैनन । डाक्टरहरुले पनि सकेनन् । यो भाइरसले पत्रकार भनेर पनि छाड्ने कुरा भएर । कोभिडकै कारण केही पत्रकारले विदेशमा ज्यान पनि गुमाए । तर यसले आफ्नो तागत भने गज्जव गरी देखायो । संचार माध्यमलाई यसले प्रत्यक्ष असर पार्यो । धेरै पत्रकार वेरोजगार भए । संचार माध्यमका साहुजीले आफ्ना कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भयो । दिएकाले आधा दिए । अझै कतिले दिएकै छैनन्, यो नेपालको कुरा भयो । विदेशमा पनि अवस्था यो भन्दा फरक छैन । आफूलाई सुपर स्मार्ट शोच्ने पत्रकारको हालत किन यस्तो भयो ? यसका केही कारण छन् । अहिले सजिलोका लागि भाइरसलाई दोष दिएर उम्कन सकिएला तर विषय त्यस्तो होइन । पहिलो कुरा छापा माध्यम उसै पनि
प्रविधिलाई नचिन्दा संकटमा थियो । प्रविधिलाई पछ्याउदै अगाडि बढ्दामा मात्रै सहज हुन्छ । कुनै पनि सञ्चार माध्यम वन्द हुनु राम्रो होइन् । छापा कमजोर भए डिजिटल माध्यम अगाडि आउला । आउन पनि थालि सक्यो ।
उदाहरणका लागि नेपालको सूचना विभागमा दुई हजार हाराहारी अनलाइन समाचार पोर्टल दर्ता भइसके । तर यिनको नियमन भने जरुरी छ, प्रेस स्वतन्त्रताको घाँटी ननिमोठिने गरी । अवस्थाले गर्दा ढोरपाटन दैनिक जस्तो निरन्तर अरु सबै पत्रिका अहिले प्रकाशनमा छैनन् । विज्ञापन नहुँदा उनीहरु संकटमा छन् भनिएको छ । यस्तै कारणले गर्दा पत्रकार वेरोजगार भएका हुन् । तर हरेक कालो वादलमा चाँदिको घेरा हुन्छ भन्ने उदाहरण समाचार लेख्दा धेरै संचारकर्मीले लेखेका छन् । त्यसको उदाहरण बन्न भने उनीहरु सके जस्तो देखिंदैन । तर पनि कोरोना भाइरस पत्रकारका लागि नयाँ अवसर र नयाँ जीवन लिएर आएको पनि हुन सक्छ । संचारकर्मी आफूले आफैंलाई चिन्न भने सक्नु पर्छ । नयाँ प्रविधि, अंग्रेजीमा न्यू मिडिया भनिने सामाजिक संजाल, नागरिक पत्रकारिता र पछिल्ला संचार उपकरणर र नयाँ पुस्ताको समाचार भोक कस्तो छ भन्ने बुझेर अगाडि भने बढ्न सक्नु पर्छ । एउटा सामान्य मोवाइल र क्यामेराकै भरमा एक मिलियन बढी अर्थात् १० लाख बढी सदस्य बनाउने युट्युव च्यानलको कुरा गर्दा परम्परागत मिडियाका साथीहरुलाई अन्यथा लाग्ला तर प्रविधि सँग चल्न नसक्ने तर जो सुकै होस् असान्दर्भिक हुन्छ वा आफैं सकिन्छ । यो त जम्माजम्मी एउटा उदाहरण मात्र हो । तर नियमन भने जरुरी छ । नयाँ युग र नयाँ प्रविधि चिन्दै नयाँ क्षमता विकास गरे संचारकर्मी संकटमा पर्ने कुरै छैन ।

