२०५२ सालको मंसिर २२ गते काठमाडौंमा भएको सभामा गीताको श्लोक भट्याउँदै क्रान्तिको उद्घोष गर्दा, त्यही माघको २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय मागपत्र बुझाउँदा, तत्कालीन सत्ताले बाबुराम भट्टराईलाई गम्भीरतापूर्वक लिनै चाहेन । मरे स्वर्ग र बाँचे धर्तीको राज गरौंलँ भन्ने उद्घोष गरेका उनै बाबुराम २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको ‘ब्रान्ड एम्बेसडर’ बने ।
पार्टी सुप्रिमो प्रचण्ड रहस्यमयी पात्रका रूपमा रहँदा बाबुरामको तिलस्मी व्यक्तित्वका कारण धेरै युवा जनयुद्धप्रति आकर्षित बने । भलै, युद्धको नेतृत्वमा प्रचण्ड थिए, तर बाबुरामको सार्वजनिक छविले जनयुद्धलाई एउटा उचाइमा पु¥यायो । संयोग कस्तो भने, पार्टीभित्र अपमान, घेराबन्दी र कारबाही भोगेका उनै बाबुराम आफैँले घोषणा गरेजस्तो बाँचेर देशको प्रधानमन्त्री बने । २०६८ भदौदेखि २०६९ फागुनसम्म नेपालको ३५औँ प्रधानमन्त्री बनेका थिए ।
गोर्खाको खोप्लाङको वेलबासमा २०११ साल असार ४ गते जन्मेका बाबुराम पहिलेको नाम मुक्तिराम हो । २०२६ सालको एसएलसी बोर्डफस्र्ट रेकर्ड कायम गरे । गाउँको ठिटोले बोर्ड टप गरेपछि चर्चा हुने नै भयो । उच्च शिक्षा अध्ययनको क्रममा पनि उनी दोस्रो बनेनन् । कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाएर पन्जाब युनिभर्सिटी जाँदासम्म उनमा राजनीतिक चेत पलाइसकेको थियो । सुरुवाती दिनमा नेपाली कांग्रेसप्रति झुकाव राख्ने उनै बाबुराम समयक्रममा कम्युनिस्ट पार्टीतिर आकर्षित भए । मोहनविक्रम सिंहको पार्टी नेकपा (मसाल)मा आबद्धता जनाए ।
उनको जीवन मोडियो । आर्किटेक्ट इन्जिनियरका रूपमा सहर र घरका नक्सा बनाउनुपर्ने व्यक्ति देशमा व्याप्त असमानता अन्त्यको नक्सातिर तानियो । उनी राजनीतिक विद्रोहतिर लागे । उनीद्वारा लिखित ‘बेलाबखतका कुरा’ नामक पुस्तकका अनुसार देशले दिएको छात्रवृत्तिमा इन्जिनियर बनेको व्यक्ति राज्य विप्लवमा किन लागेको भन्दै पुलिसले उनको गालामा थप्पड नै लगायो । तर, उनी पछि हटेनन् ।
२०४६ सालको आन्दोलमा संयुक्त राष्ट्रिय जनआन्दोलनका प्रवक्ता बनेका बाबुराम संयुक्त जनमोर्चाका अध्यक्ष हुँदै माओवादी पार्टीसम्म आइपुगे । जनयुद्ध सुरु भएसँगै भूमिगत भए । पढाइमा अब्बल भट्टराई दोस्रो शान्तिवार्ता निम्ति पार्टीका तर्फबाट नेतृत्व गर्दै २०५९ फागुनदेखि २०६० श्रावणसम्म खुला जीवनमा आए । फेरि भूमिगत भए र प्रचण्डसँगै खैरो वस्त्रमा २०६३ असार २ गते बालुवाटारमा देखिए ।
पढाइमा अब्बल भए पनि माओवादीमा हुँदा उनी सधैँ दोस्रो नेता रहे । उनले कहिले आलोचन गर्दै र कहिले आँसु झार्दै प्रचण्डको नेतृत्वलाई स्वीकारे । तर, समयक्रममा उनी प्रचण्डसँगै रहन सकेनन् । संविधानसभाबाट संविधान जारी भएलगत्तै २०७२ असोज ९ गते आफू उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यता त्यागेर नयाँ अभियान सुरु गरे । माओवादी पार्टीबाट बाँकी क्रान्ति पूरा नहुने उनको उद्घोष थियो । बाबुराम अहिले पनि आफ्नो विचारबाट डेग यताउता छैनन् । देखेको कुरा प्रस्ट भन्ने र आफ्नो विचारमा अरू हिँड्नुपर्छ भन्ने मान्यतालाई उनको कमजोरीका रूपमा अथ्र्याउनेहरूको कमी छैन, यहाँ । राजतन्त्रको विरोधमा सिंगो जीवन त्यागे पनि गोरखा र शाह राजाहरूबाट भएको नेपाल एकीकरणको उनी प्रशंसक हुन् ।
कुनैबेला जोगी बन्न चाहन्थे रे, बाबुराम । तर, उनी जोगी बनेनन्, धेरैका आदर्शचाहिँ पक्कै बने । आलोचनाबाट मुक्त छैनन्, उनी । कार्यकर्तालाई विचारले निर्देशित गर्छु भन्ने आदर्श बोक्ने, अव्याहारिक र अनावश्यक नारा उचाल्नेजस्ता उनीमाथि लाग्ने आरोपहरू हुन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामले संघीय समाजवादी फोरमसँग एकता गरे । चुनावमा गए, तर उनको पार्टीलाई जनताले पत्याएनन् ।
गोरखाबाट उनी संसद्मा त पुगे तर सानो पार्टीको नेता हुँदा पूर्वप्रधानमन्त्री भट्टराईको राजनीतिक रूपमा पुँजीवादी क्रान्ति सम्पन्न भएको र बाँकी कार्यभार पूरा गर्न नयाँ शक्ति चाहिने उनको विचार स्थापित हुन सकेन । ‘विभिन्न भाषा, जाति र क्षेत्र आफैँमा अलगअलग ‘नेसनालिटी’हरू हुन्, इन्द्रधनुषी र ‘कम्पोजिट’ नेपाली राष्ट्रिय राज्यका अभिन्न ‘बिल्डिङ् ब्लक’ हुन् । अब यी सबै नेसनलिटिजसहितको ‘कम्पोजिट नेसन स्टेट’का रूपमा नेपाललाई परिभाषित गर्नुपर्छ । त्यसो भए मात्र नेपाल आन्तरिक रूपमा बलियो हुन्छ ।’ भन्ने मान्यताबाट उनी पछि हटेका छैनन् ।
कपियले उनको यही विचारलाई जातीय राजनीतिबाट सत्ताको अभीष्ट पूरा गर्ने ध्येयका रूपमा अथ्र्याउँछन्, मिलेको समाजलाई फेरि बिगार्न खोजेको आरोप लगाउँछन् । तर, बाबुराम आफ्नो विचारमा बगेकोबग्यै छन् । अहिले उनी जनता समाजवादीका नेता छन् । आफ्नो कदअनुसारको पद नपाए पनि, असन्तुष्टिहरूलाई मनमै दबाए पनि एजेन्डाबाट पछि नहटेको दाबी गर्छन् । मान्छेका रूपमा भट्टराईका कमी÷कमजोरी छन् नै । पूर्वमाओवादी नेता राम कार्कीको विचारमा उनी परिस्थितिको विश्लेषण नगर्ने र आफूले मात्रै सबै जानेको छु भन्ने भ्रममा छन् । भन्न त उनी देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्री पाइसकेकोले समाज परिवर्तनको ध्येय मात्र आफूसँग रहेको बताउँछन् तर, जीवनमा ठूलो महत्वकांक्षा बोर्डफस्र्ट बाबुरामको माओवादीदेखि जनता समाजवादीसम्म आइपुग्दा पनि उनको महत्वाकांक्षा मरेको देखिँदैन । गोरखा र गण्डकीले नै गर्व गर्ने ठाउँ बाँकी रहनका लागि पनि महत्वाकांक्षा नमरेकै राम्रो !





