शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अविछिन्न योद्धा रामचन्द्र पौडेल

अविछिन्न योद्धा रामचन्द्र पौडेल

ढोरपाटन दैनिकको १८ औं बार्षिकोत्सव विशेष सामग्री


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७७, बुधबार

जुँगाको रेखी बस्दै राजनीतिमा होमिएका र निरन्तर सक्रिय नेता हुन्, रामचन्द्र पौडेल । रामचन्द्र बिपी कोइरालाको निर्वाचित सरकार हटाइएपछि राजनीतिमा सक्रिय बनेका हुन् । २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारका यी सदस्यले लामो जेलनेल भोगेका छन्, राजनीतिक रूपले लाभको पद पनि पाएका छन् अनि सबैभन्दा ठूलो कुरा उनी समयक्रमसँगै पछाडि पारिएका पनि छन् ।
रामचन्द्रसँग के छैन ? विचारमा सुस्पष्टता, भरोसा गर्ने कांग्रेसको पुरानो पुस्ता र निष्ठा अनि इमानदारिता चाहने युवाहरूको बलियो साथ छ । १३ वर्षे लामो जेलजीवन, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, निरन्तर केन्द्रीय सदस्य, पार्टीको महामन्त्री, उपसभापति र कार्यवाहक अध्यक्षजस्ता उपमा पनि उनीसँग जोडिएकै छन् ।
राजकीय रूपले २०४८ सालमा कृष्णप्रसाद भट्टराई मन्त्रिमण्डलमा शिक्षामन्त्री, गिरिजाप्रसाद कोइरालाको पालामा उपप्रधानमन्त्री, २०५१ सालमा सभामुख, २०५७ सालमा उपप्रधान तथा गृहमन्त्री, २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्रीजस्ता लाभको पदमा पनि उनी पुगिसकेका छन् । राजकीय रूपले प्रधानमन्त्री र पार्टीमा सभापति उनको मनभित्रको आकांक्षा हो । दुवै पदका लागि उनी काविल छन्, तर समय उनीअनुकूल भएकै छैन । २०६५ सालमा कांग्रेस संसदीय दलको नेता चुनिए पनि उनको भाग्यमा प्रधानमन्त्री जुरेन । २०६७ सालमा उनले प्रधानमन्त्रीका रूपमा १७औँ पटकसम्म पराजय व्यहोरे । सभापतिको उम्मेदवारका रूपमा २०७२ सालमा उनी पार्टी सभापतिको चुनावमा पनि पराजित बने ।
पार्टीमा निरन्तर संस्थापनसँग नजिक रहनु उनको विशेषता हो । उनी स्वयं भने आफूलाई समन्वयकारी नेताका रूपमा चिनाउँछन् । २०३३ सालमा मेलमिलाप नीतिसहित बिपी नेपाल फर्कँदा होस् कि पार्टीलाई संकट परेको पछिल्ला कालखण्डमा, उनी साँच्चिकै मध्यमार्गी नेताका रूपमा क्रियाशील रहे । पार्टी फुटका बेला वर्तमान सभापति शेरबहादुर देउवातिर लाग्न खोजेको आरोप खेपेका उनले सुशील कोइराला सभापति हुँदा उनले कांग्रेसमा ‘लेगेसी’ बोक्ने कोइराला परिवारसँगको सानिध्यता पुष्टि गरे ।
गण्डकीमा राजनीति, शिक्षण र वकालतसँग जोडिएका अनेकौँ किस्सा छन् । विद्यार्थीकालमा पोखरा बस्दाको उनको दैनिकीबारे पनि अक्सर कुरा उठिरहन्छन् । समाजवादको व्याख्याता पौडेललाई चिन्नेहरू उनी सादगी र निष्ठाका पर्याय हुन् भन्छन् । तर, उनी दोषबाट मुक्त छैनन् । कार्यकर्ता संरक्षण गर्न नसक्ने, अरूको भलो नचिताउने र लाभका लागि सम्झौता गरिहाल्ने स्वभावका कारण उनी राजनीतिक रूपले पछि परेको ठान्नेहरूको कमी छैन । तनहुँकै अर्का नेता गोविन्दराज जोशीसँग दुस्मनी साँधेर आफ्नो खुट्टामा आफैँ बन्चरो हानेको आरोप पनि उनीमाथि लागिरहन्छ । पछिल्लो संसदीय चुनावमा हार व्यहोरेपछि गोविन्दसँगको दुस्मनी रामचन्द्रको लागि साँच्चिकै महँगो सावित भयो ।
पहिलो संविधानसभामा पार्टी पराजित भएपछि उनले नै कार्यकर्तामा उत्साह भर्दै पार्टीलाई पहिलो बनाएका थिए । तर, यसको जस लिनबाट भने उनी वञ्चित रहे । भ्रष्टाचारमा नमुछिएका, पार्टीको आधिकारिक धारणा स्पष्ट राख्न सक्ने र पुराना पुस्ताले रुचाइएका नेता हुन्, रामचन्द्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा स्वाभाविक रूपले उनी सभापतिका दाबेदार हुन् । तर, हिजो मियो मानेको कोइराला परिवार, असन्तुष्ट कृष्ण सिटौला समूह तथा कांग्रेसमै रहेको स्वर्गीय खुमबहादुरलाई नेता मान्ने समूहको साझा नेता उम्मेदवार बन्न उनले पापड बेल्नैपर्छ ।
कांग्रेसले नवजीवन खोजका बेला युवाहरूलाई साथ लिनु पनि उनको चुनौती हो । कांग्रेसमा यत्तिका सादगी नेता छैनन्, अविछिन्न राजनीतिका यी योद्धा आफैँमा गण्डकी प्रदेशका गहना हुन् । तर, राजनीतिमा निर्णय तहमा पुगेपछि मात्रै मान्छेको परीक्षण हुन्छ । उमेर ढल्कँदै गर्दा रामचन्द्र राष्ट्रको कार्यकारी र पार्टीको सभापति बने गण्डकीले गर्व गर्नेछ । यसका लागि उनले आफूलाई सुधार्नुपर्छ, प्रतिस्पर्धी बन्नुपर्छ अनि सतिसाल बनेर सम्झौतापरस्त व्यवहार छाड्नुपर्छ । उनले कहीँ आफ्नैबारे भनेका पनि छन्, ‘म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदाखेरि पनि लोकतन्त्रको दियो निभ्न दिएको छैन । कांग्रेस संकटमा पर्दा मेरो वरिपरिबाट थुपै्र साथीहरू भागे । तर, म कहिल्यै पनि विचलित भइनँ ।’ हो, साँच्चै उनले आफ्नै भनाइ प्रमाणित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->