गण्डकी लोकसंस्कृतिको पर्यावाची प्रदेशभन्दा फरक पर्दैन । गण्डकीका संस्कृति तिब्बत र भारतसँग केही मिल्दाजुल्दा छन् । हिमाली काखमा रहेको पहाडी शृंखला, खोला र नदीकिनारमा बनेका साना उपत्यकामा आदिमकालदेखि बसोबास गर्दै आएका गण्डकी प्रदेशका गुरुङ र मगर जाति हुन् । उनीहरूको आफ्नै भाषा, जीवनशैली र लोकसंस्कृति छन् ।
गण्डकी प्रदेशको एक सुन्दर पक्ष लोकसंस्कृतिको विविधता हो । त्यसमध्ये गण्डकी प्रदेशका गुरुङ र मगर जातिको लोकसंस्कृतिले छुट्टै पहिचान र महत्व बोकेको छ । लोकसंस्कृतिको हिसाबमा हेर्दा गण्डकी प्रदेशको पहिचान फरक छ ।
गण्डकी प्रदेशको पहिचान बोकेका यानीमाया, ठाडो भाका, सालैजो, सोरठी लगायतका गाइने गीतले प्रदेशको पहिचानलाई सीधै चिनाउँछ । गुरुङ, मगर जातिको दैनिक जीवन निर्वाहका चालचलन र रीतिरिवाजसँगै सांगीतिक पक्ष बलियो छ ।
……..
गुरुङ जाति
अन्नपूर्ण, माछापुच्छ«े हिमालको काख र हिमचुलीको दक्षिण पाखोमा बसोवास गर्छन् गुरुङ जाति । करिब पाँच सय वर्षदेखि लमजुङको लेकाली डाँडाकाँडामा पशुपालन गरी गुरुङ तथा घले जातिको बसोवास गरेको देखिन्छ । लमजुङ गुरुङहरूको पुख्र्याैली थलो हो । लमजुङमा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात् गुरुङ जातिको त्यो क्षेत्र जस्तै घले गाउँ, भुजुङ गाउँलगायतका भूगोल गुरुङहरूको मुख्य थलो हो ।
गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सती र बाह्रमासे गरी घाटु नाच दुई प्रकारको हुन्छन् । सती घाटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुनसुकैवेला नाच्ने गरिन्छ ।
गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य गाउँअनुसार फरक भए पनि सबै गाउँमा नाचिने घाटुको कथा भने एउटै हुन्छ । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ ।
घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृंगार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समुदायको महत्वपूर्ण संस्कृतिको रूपमा रहेको घाटु नाच पछिल्लो समय उत्सवको रूपमा पनि मनाउन थालिएको छ ।
विशेष गरी लमजुङ, गोरखाको गुरुङ गाउँहरूमा ठाडो भाकाको गीत गाइन्छ । दिनभरि मेलापात गर्ने, साँझपख थाकेर लखतरान परेको शरीर उकालीको चौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न एकैछिन भने पनि ठाडो भाकाको स्वरले थकाइ मार्दछन् । खेतबारीको मेलापात र गाईबस्तु चराउँदा मनोरञ्जनका लागि गीत गाउने प्रचलन छ ।
गाउँठाउँमा गाएको लोकगीत अर्थात् ठाडो भाकामा निजी कुरा हुँदैन । ठाडो भाकामा लोकको आफ्नो गीत हुन्छ । जुन गीत परम्परामा गाँसिन्छ र परम्पराले समय–समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ । समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको ठाडो भाका वा अन्य भाकाका गीतहरू नै लोकगीत हुन् । लोकगीत भनेको लोकजीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति पनि हो । ठाडो भाकामा लोक जीवनको दुःख–सुख, आँसु–हाँसो, आशा–निराशाका साथै लोकका चालचलन, विधि व्यवहार, आस्था र मान्यताहरूको चित्रण पाइन्छ । साधारण शब्दमा लोकले अथवा सबैले गाउने गीत नै लोकगीत भन्ने गरिन्छ । तर, अहिले यो संस्कृतिलाई बचाउन गाह्रो हुन थालेको छ ।
……..
मगर जाति
नेपालको मध्यपहाडी भेगमा बसोबास गर्ने भूमिपुत्र प्रकृतिपूजक जाति मगर । मगर समुदाय मुख्यतः रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू बाग्लुङ, स्याङ्जा, तनहुँमा आदिमकालदेखि नै बस्दै आएका छन् ।
मगर बस्तीहरूमा विशेष गरी सोरठी, नचरी, झोरा, सुनिमाया, यानिमाया, मुच भाखा, ठाडो भाखा, झ्याउरे, सालैजो, जिउ मामै र कौह्रा आदि नृत्यहरू नचाउने गरिन्छ । यी नृत्यहरूमध्ये कौह्रालाई मगर जातिको मौलिक नृत्यका रूपमा लिने गरिएको छ । कौह्रा शब्द, मगर भाषामा कान राहा अर्थात् हामी आयौँ शब्दबाट कौह्रा हुन गएको मानिन्छ । यस नृत्यमा पुरुषहरू एउटै समूहमा बसी खैँजडी र झ्याली बजाउँदै गीत गाउँदछन् । युवतीहरू लस्करै खैँजडीको तालमा नाच्ने गर्दछन् । सोरठी सोह्र शृंगारभित्र बाँधिएको प्राचीन लोकनाटक हो । सोरठी शब्द प्राचीन राजा जैसिङ्गेका १६ वटी रानीबाट आएको शब्द सोह्रौटीबाट अपभ्रंश भएर सोरठी भएको हो । सोरठी लोकनाटक सुरुवात गरेपछि चौध दिनसम्म निरन्तर प्रस्तुत गर्नुपर्दछ । तर, आजभोलि सोरठी नाच कुनै मेला उत्सवमा पनि छोटो समयमा थोरै झल्को दिने गरिन्छ ।
मानिसका दैनिक जीवन निर्वाहका चालचलन, रीतिरिवाज आ–आफ्नै जातीय, धार्मिक एवं वातावरणीय हिसाबले निर्धारण भएका हुन्छन् । संस्कृति प्राकृतिक वातावरणको प्रभावका कारण विशिष्ट रूपमा उत्पन्न हुने प्रक्रिया हो । यसको उत्पत्ति र विकासको प्रक्रियामा हाम्रो समाजमा आएका र आउने परिवर्तनहरूले प्रत्यक्ष एवं परोक्ष प्रभाव पारेको हुन्छ ।
संस्कृतिले स्थानीय मानिसले आफ्ना पूर्वजदेखि अंगीकार गर्दै आएको भाषा, धर्म र रीतिरिवाजसँग सम्बन्ध राख्दछ । संस्कृति आफैँमा स्वतन्त्र अस्तित्वको सामाजिक यथार्थ हुन सक्दैन । यो आफैँमा न शक्तिशाली हुन्छ, न त परिवर्तनशील नै । यो त प्राकृतिक वातावरणसँग आश्रित भई प्राकृतिक वातावरणले निर्धारण गर्ने समाजमा विकसित हुने सामाजिक यथार्थता हो ।
प्रत्यक्ष रूपमा संस्कृतिले मानिसको व्यक्तित्व निर्माणमा सघाउ पु¥याउँछ भने अर्कोतिर यसले मानव व्यक्तित्वसहितको संस्कृतिको निर्माण, परिवर्तन र विकासमा पनि प्रत्यक्ष प्रभाव पार्दछ । संस्कृति र मानव व्यक्तित्व एकअर्काको एकल अस्तित्व र प्रभावभन्दा पनि पारस्परिक अस्तित्वका रूपमा निर्माण भएका हुन्छन् । मानिसले प्रकृतिलाई आफ्नो अनुकूल बनाउन सक्दैन । बरु ऊ आफैँ प्रकृतिअनुरूपको चालचलन बानीव्यवहारको अनुशरण गरी संस्कृतिको विकास गर्दछ । हिजोको जंगली युगीन संस्कृतिदेखि आजको आधुनिक युगको समाजभित्रको संस्कृतिका आ–आफ्नै विशेषता भए पनि मानव र संस्कृति एकअर्काका परिपूरक हुन् ।
गुरुङ, मगर मात्र होइन, नेपालमा प्रत्येक जातिको आ–आफ्नै संस्कार, संस्कृति रहेको छ । आफ्नो संस्कृति अरूको भन्दा राम्रो तथा उत्कृष्ट छ भनी जाँच्ने कुनै एकाइ छैन । गण्डकी प्रदेशको विविध संस्कृतिले सजिएको सांस्कृतिक पक्षमा धनी मानिन्छ । कुनै पनि जातिको संस्कृति भनेको त्यस जातिको सम्पत्ति हो । गुरुङ र मगर जातिको विविध लोकसंस्कृति रहेको गण्डकी प्रदेश सांस्कृतिक रूपमा आफ्नो छुट्टै पहिचान छ । गुरुङ र मगर जातिको आ–आफ्नै संस्कार र संस्कृति रहेका छन् । उनीहरूको आफ्नै लोकसंगीत, लोकसंस्कार, लोकसंस्कृति रहेको छ ।
२७ श्रावण २०७७ दाङ





