शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

व्यापार, महेन्द्र र मनाङ !

व्यापार, महेन्द्र र मनाङ !

तिब्बती भाषा म्हनाङबाट अपभ्रंश भएर मनाङ बनेको ठानिन्छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार
????????????????????????????????????

मनाङेहरु सबैभन्दा बढी कमाउँछन् । तथ्याङ्क अनुसार मनानबासीको वार्षिक आम्दानी १९५९ डलर रहेको छ । मनाङेको यो आम्दानी प्रदेश सदरमुकाम पोखराको भन्दा बढी हो । हिमालको बीचमा रहे पनि हिमालपारिको जिल्ला हो, मनाङ । थोरै जनसंख्या, थोरै नै खेतबारी अनि हिउँसँगको पौँठेजारी यहाँको विशेषता हो । हिउँमा खेल्दै,हिउँ खाँदै हुर्केका मनाङेहरुको समृद्धिभित्रको कथा भने छुट्टै छ ।नेपालयको प्रकाशन तथा सु्जित मैनालीले मैना धितालको सहकार्यमा खिखित ‘अर्थात् अर्थतन्त्र, नेपाली इलम र उद्यमको यात्रा’ का अनुसार राणाकालीन समयमा पनि मनाङ व्यापार गथ्र्यो । उनीहरु तिब्बत पुग्थे, भारतका विभिन्न सहर चहार्थे अनि आफूलाइृ चाहिने सामानको जोहो गर्थे । कालान्तरमा राजा महेन्द्र मनाङ पुगे । मनाङका युवा व्यवसायी विनोद गुरुङका अनुसार त्यहाँका जनताले राजासँग ‘ व्यापार गरेर खान पाऊँ’ भन्ने बिन्ती बिसाए । राजाको पालो ‘ल हुन्छ’ भनिदिए ।
‘हामी पनि सुनेको हो, महेन्द्र सरकारको यता सवारी हुँदा यहाँ पर्यटन सुरु भएकै थिएन, एउटा बाली मात्र हुने, ६ महिना हिउँ पर्छ, खान लाउन पुग्दैन,व्यापार गर्न पाऊँ भनिएछ’,उनले भने,‘त्यो बेला नेपालको पासपोर्ट पनि चलेको रहेनछ, मनाङेहरुको पासपोर्ट बनाइएछ, व्यापार गर्न दिइएछ ।’
विनोद नजन्मँदै दिइएको यो सुविधाबाट मनाङेहरुले विशेष फाइदा लिए । सुजितकै किताबका अनुसार त्यो बेला नेपालको जनसंख्या भन्दा बढीका छाता हङकङबाट नेपाल आए । विनोद स्वयं पनि अग्रजहरुको पाइला पच्छ्याउँदै हङकङ व्यापारमा लागे । सन् १९८५ तिर हस्तकलाको व्यापार गर्न हङकङ गए । हङकङको सडकमा हस्तकलाका सामान बेचे । इतिहासका अनुसार मनाङेहरुलाई राजाले २०१७ सालपछि त्यो सुविधा दिएका थिए । त्यो सुविधा २०१८, २०२९ अनि २०३३ सालसम्म कायम रह्यो ।
लेखक केवी मसालका अनुसार १७८१ साल अर्थात् रणबहादुर शाहको पालामा मात्रै मनाङ नेपालमा गाभिएको हो । त्यो भन्दाअघि मनाङेहरु दलाई लामालाई नै राजा मान्थे । २०१७ सालमा १४ अञ्चल ७५ जिल्लामा विभक्त हुँदा पनि मनाङको सदरमुकाम लमजुङको बाहुनडाँडामा थियो । पछि सदरमुकाम थोँचे सारियो । थोँचेलाई उपल्लो मनाङकाले स्वीकारेनन् । राजा महेन्द्रले व्यापार गर्न छुट दिएपछि मात्रै सदरमुकाम पछि चामे पुग्यो । हुकुम प्रमाङ्गीको आदेशबाट तेस्रो मुलुकमा व्यापार गर्ने अधिकार उपल्लो मनाङकाले मात्रै पाए । नार, फू र तल्लो मनाङबासी यो सुविधाबाट बञ्चित भए । जे होस् व्यापारमा पाएको छुटपछि मनाङबासीहरुले भारतका विभिन्न सहरदेखि भियतनाम र हङकङसम्म नै पुगेर व्यापार÷व्यवसाय गरे ।
तिब्बती भाषा म्हनाङबाट अपभ्रंश भएर मनाङ बनेको ठानिन्छ । तिब्बती भाषामा म्हको अर्थ सहयोग र नाङको अर्थ देऊ भन्ने हुन्छ । हो, मनाङेहरु सहयोग दिन र लिन माहिर मानिन्छन् । जिम्बु र जडिबुटी होस् वा हस्तकलाका सामान नै किन नहोस् ,व्यापारको सिलसिलामा उनीहरु मित लगाउँथे । साथी बनाउँथे र सहयोग आदानप्रदान गर्थे । धानको गेडो नफल्ने जिल्लामा जन्मिएका उनीहरुलाइृ अभावले संघर्ष सिकायो, संघर्षले समृद्धि दिलायो ।
संयोग, पहिलो महिला सगरमाथ आरोही जुन्को तावेइले सगरमाथाभन्दा पहिलो मनाङकै गंगापूर्ण हिमाल आरोहण गरिन् । त्यसअघि नै मनोरम भूधरातल तथा गुम्बा नै गुम्बाको यो जिल्लालाई विदेशी पर्यटकले मन पराइसकेका थिए । थोरङ्लापास खुलेपछि मनाङले आफ्नो पहिचान बदल्यो ।
मनाङमा यति होटल चलाउँदै आएका विनोदका अनुसार करिब ४५ वर्षअघि पर्यटन सुरु भए पनि सुविधा थिएन । छिरिङ वाग्देल गुुरुङले मनाङको पुरानो घरमा होटल चलाए । होटल बनाउने क्रम सुरु भयो । पर्यटकहरु आउन थालेपछि काठमाडौं बसाइँ सरेकाहरु जिल्ला फर्किए । ‘अहिले मनाङमा सुविधासम्पन्न १८ वटाभन्दा बढी होटल छन्, याकखर्कदेखि थोरङ्ला बेसक्याम्पसम्म नै होटलहरु छन्’, विनोदले भने,‘अहिले त आन्तरिक पर्यटक पनि आउन थालेका छन्, पर्यटनसँगै मनाङले कृषितर्फ पनि हात हालेको छ, स्याउ खेती थालिएको छ । ’
लमजुङ सदरमुका बेसिसहर हुँदै मनाङ पुगिन्छ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा परेकाले मात्रै हैन, तिलिचो ताललगायतका पर्यटकीय संरचनाले पनि मनाङ धेरैको लागि आकर्षणको केन्द्र बनेको हो । गोर्खाको सामागाउँ लार्के हुँदै मुस्ताङबाट पनि त्यहाँ पुग्न सकिन्छ तर हिउँ पर्दा यी बाटा चल्दैनन् । नार–फूबाट तिब्बत पुग्ने बाटो पनि रहेकै छ । २ हजार १५३ हेक्टर खेतीयोग्य जमिनसँगै यार्चागुम्वा, पाँचऔले, जटामसी, शिलाजीत, जिम्वु, सिबाकथ्रोन, कुटकी, निरमसि, तिक्का, सुगन्धवाला, पदमचाल, चिराइतो, गुच्छेच्याउ, कुरीलो जस्ता वहुमूल्य जडीबुटीले पनि भरथेग गरेकै छ । तर, धनी र गरीबबीचको खाडल पुर्न यी कुरा मात्रै काफी चाहिँ पक्कै छैनन् ।

तस्वीरः किसान संगीत

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->