कोरोना महामारीबाट विश्वका सबैजसो देश प्रताडित छन् । शक्तिसम्पन्न राष्ट्रहरुलाई पनि कोरोना संक्रमणबाट नागरिक जोगाउन हम्मेहम्मे परेको छ । यद्यपि, उनीहरुले आफ्नो सम्पूर्ण शक्ति कोरोनाविरुद्धको अभियानमा लगाएका छन् । अहिलेसम्म भ्याक्सिन नबनेकाले यो कहर कति लम्बिँन्छ भन्ने निश्चित छैन । संक्रमण जारी रहँदा स्वास्थ्य क्षेत्रका पूर्वाधारसहित नागरिकको चुल्हो बाल्नेसम्मका गतिविधिमा यथेष्ट लगानी आवश्यक देखिएको छ । नेपालमा चैत १० गते पहिलो संक्रमण देखियो । चैत १५ गते गण्डकीमा संक्रमण देखिएपछि स्वास्थ्य क्षेत्रका पूर्वाधारबारे बल्ल प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित भयो । रातारात बागलुको धौलागिरी अस्पतालमा भेण्टिलेटर र आइसीयू निर्माण गरियो । स्थानीय तहहरुले पनि गच्छे अनुसारका क्वारेण्टिन निर्माण गरे । राहत बितरणको लहर चल्यो । यतिसम्म ठीकै थियो तर कोरोना संक्रमणको दर घटेन । लकडाउनको अन्त्यसँगै गण्डकीमै पनि संक्रमणको दर ह्वात्तै माथि आयो । संक्रमण बढेसँगै धेरैजसो स्थानीय तहलले निषेधाज्ञा जारी गरे । केही ठाउँमा यो अद्यावधि छँदैछ । संक्रमणबाट दिनहुँ नागरिकले ज्यान गुमाएका छन् । विदेशबाट आउनेहरुमा मात्रै देखिएको संक्रमण यतिबेला समुदायमा प्रवेश गरेको छ । सबैभन्दा बढी चहलपहल हुने अस्पताल, बैंक तथा वित्तीय क्षेत्रमा कोरोना पसेको छ । कोरोना समुदायमा फैलिँदा गम्भीर प्रकृतिका बिरामीहरु बढ्न थालेका छन् । गम्भीर प्रकृतिका बिरामी बढेसँगै यहाँका अस्पतालहरुमा आइसोलेसन कक्षको अभाव देखिएको छ ।
गण्डकीको सबैभन्दा ठूलो पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बिरामी बढ्दै गर्दा आइसोलेसन अभाव हुनसक्ने बताइएको छ । स्वास्थ्यकर्मीमा संक्रमण देखिँदा अस्पतालले प्रदान गर्ने सेवा प्रवाहमा अवरोध उत्पन्न भएको छ । पोखराको शिशुवामा रहेको सामुदायिक अस्पताल प्रदेश सरकार मातहतमा आएको छ । त्यसलाई १ सय बेडको बनाउने गरि प्रदेश सरकारले संघीय सरकारसँग बजेट माग गरेको छ । संक्रामक रोग अस्पताल घोषित सो अस्पतालसहित गण्डकी अस्पतालमा पूर्वाधार नथप्ने हो भने जुनसुकै बेला पनि स्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएको छ । नागरिकले उपचार नै नपाइ मृत्युवरण गर्ने जोखिम बढेको छ । गण्डकीमा ४० बेडको आइसोलेसन कक्ष रहेको छ । संक्रमण बढ्दा त्यो अपुग हुनसक्छ । त्यहाँ रहेको १० वटा आइसीयू बेड भरियो भने बिरामी कहाँ पठाउने भन्नेबारे तयारी थालिए पनि त्यसले मूर्तरुप लिएको छैन । गण्डकी प्रदेशमा दैनिकजसो १ हजार जनाको स्वाब परीक्षण क्षमता छ । स्वाब परीक्षण एउटा पाटो हो भने संक्रमितलाई उपचार गर्नुपर्ने दायित्व अर्को कुरा हो । आइसीयू नै चाहिने गम्भीर प्रकृतिका बिरामी थपिने आंकलन भएकाले तत्काल मातृशिुशु, संक्रामक रोग अस्पताल र गण्डकीमा आइसोलेसन कक्ष, आइसीयू र भेण्टिलेटरको व्यवस्था गरिनुपर्छ । यसका अलावा जिल्ला अस्पतालको स्तरोन्नतिको काम पनि तत्काल थालिनुपर्छ । कतियप जिल्ला अस्पतालहरुमा दक्ष जनशक्ति अभाव हुँदा पूर्वाधार प्रयोगमा आउन सकेका छैनन् । ती ठाउँमा तत्काल जनशक्ति व्यवस्थापन गरिनुपर्छ । स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो र यसलाई नारामा हैन कि व्यवहारमा कार्यान्वनय गर्न अब ढिला गरिनु हुँदैन ।

