म सानै थिएँ र कक्षाको पहिलो विद्यार्थी । एकदिन लमजुङको उदीपुरस्थित जनकल्याण निमावि ( हाल मावि) सँगैको चौतारामा एकहुल मान्छे आए । हार्मोनियम र मादल बोकेका उनीहरुले गीत गाउन थालेपछि हामी कक्षा छाडेर त्यता दौडियौँ । त्यार्लुङ पुरानकोट, पृथ्वीसुब्बालाई दिनुस् आफ्नो भोट दुष्ट शोषकलाई पर्नेछ, ठूलो चोट ! सुरिलो स्वरमा कसले गायो ? त्यो बेला थाहा हुने कुुरै भएन । थाहा त एउटा कुराको मात्रै छ ,त्यहाँ आएकाहरुले कक्षाको फष्र्टवाईलाई एउटा किताब दिने घोषणा गरे । म कक्षाको पहिलो थिएँ, भीडमा हात त उठाएँ तर सानै भएकाले त्यो किताब मेरो हातमा परेन । किताब नपरेर के भो त ? गीत सम्झनामा ताजै छ । अहिले आएर थाहा भयो, त्यो गीत २०४२ सालको अन्त्यतिर हुन लागेको राष्ट्रिय पञ्चायत चुनावमा जनपक्षीय उम्मेवार बनेका पृथ्वीसुब्बा गुरुङको पक्षमा गाइएको रहेछ । उनी अहिले गण्डकीकै मुख्यमन्त्री छन्, गण्डकीलाई ‘ब्राण्ड’ बनाउन जुटेका छन् ।
राष्ट्रिय पञ्चायतको अन्तिम चुनावमा को–को उठेका थिए ? हेक्का छैन तर चुनाव आउँदै गर्दा स्कूल जाने बाटो छेउका भित्ता र ढुंगाहरुमा ठूला अक्षर र चित्रहरुले रंगिदै गए । तीमध्ये सम्झनामा भएको एउटा विम्व छ,‘डाक्टर हर्क, लमजुङ फर्क र हर्क गुरुङ,फर्क लमजुङ ।’ हर्क गुरुङलाई किन लमजुङ फर्क भनियो ? उनी को हुन् भन्ने हाम्रो दिमागले भ्याउने कुरै भएन । यी मान्छे ठूला रहेछन् भन्ने चाहिँ मानियो ।
‘हो उहाँ ( हर्क गुरुङ) त्यो बेला उम्मेदवार हुनुहुन्थ्यो’, गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भने,‘ त्यो बेला पृथ्वीसुब्बा पनि उम्मेदवार हुनुहुन्थ्यो, चुनाव भने अर्का जनपक्षीय उम्मेदवार लेखनाथ अधिकारीले जित्नुभयो ।’ सांसद दवाडीका अनुसार हर्क बहुआयामिक व्यक्तित्व थिए । नेपालमा उत्तर–दक्षिण विकासे अवधारणा उनकै दिमागको उपज थियो । त्यो बेला ४ विकास क्षेत्र ( पछि ५ ) उनकै सोचेको उपज थियो । धनञ्जय सही छन् । साँच्चिैक हर्ककै भाषामा विकास रेखाको मुख्य ध्येय विकासोन्मुख तराई र उपेक्षित पहाडीको अर्थव्यवस्थालाई जोड्नु नै थियो ।
चुनावपछि इनामेलका ती भित्ते प्रचारहरु मेटिँदै गए । हर्क पनि स्मृतिबाट हराउन थाले । कहिलेकाहिँ सम्झे पनि बुझ्ने बेलासम्म उनको ‘म्याप्स अफ नेपाल ः इन्भेन्ट्री एन्ड इभ्यालुएसन’ नेपाल ः एटलस एन्ड स्टाटिस्टिक्स’ ‘नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँ सराइ प्रतिवेदन’ जस्ता गहन रचना पढ्ने जाँगर चलाइएन । मैले देखेको नेपाल भने ओल्टाइपल्टाइ गरियो । भूगोलविदको रुपमा उनले गरेका योगदान, संरक्षणबारेका उनका धारणाबारे तेस्रो व्यक्तिले सुनाएका कुरामै भर परियो । पर्यटनमन्त्री हुँदाताकाका गलैंचा काण्डलगायतका विषय चाहिँ भाषण टिप्ने पत्रकारिता गर्दा ज्यादा सुनियो । योजनाकार, भूगोलविद्, लेखक, चित्रकार,खेलाडी,अभियन्ताजस्ता उनका वहुआयामिक व्यक्तित्वबारे सुनिएको मिथकले नै काम चलाइयो । देशमा पहिचानको आन्दोलन चलेका बेला उनी पुनः मुखरित भए । होंचो कदका हर्कले पहिचानबारे दिएका केही प्रवचन सुन्ने अवसर मिल्यो । बुझ्न बाँकी छँदै उनी धर्तीमा विलीन भए । तर, विलीन हुनुअघि नै उनले आममान्छेले भन्दा बढी काम गरिसकेका थिए । आफ्नो गाउँको परिचय बदल्ने भइसकेका थिए ।
तलपट्टि एकसुरले सुसाउने मस्याङ्दी,माथ्लोपट्टि चट्टाने पहाड ! अहिले डुम्रे–बेसिसहर सडकखण्डको पारिपट्टि देखिने तराँचे गाउँको परिचय हो, यो । अहिले तराँचे आफ्नैले कम र हर्क गुरुङको जन्मगाउँको नामले बढी चिनिन्छ । हो,फरक क्षेत्रका व्यक्तिले फरक–फरक रुपले चिन्ने हर्क गुरुङ १९९५ साल प्ुस २१ गते त्यही गाउँमा जन्मेका थिए । पिता लाहुरे थिए तर गाउँ लाहुरजस्तो थिएन । उकाली–ओराली अनि भेँडीगोठको यात्रा अनिवार्यजस्तै थियो । ९ वर्षसम्म उनी गाउँमै रहे । स्कूल जाने कुरै भएन । मुग्लान यात्रा गरेका पिताको पछि लागेर उनी काठमाडौं आइपुगे । दरवार हाइस्कूलमा भर्ना भए । पछि भारतको जालान्धर पुगेर म्याट्रिक पूरा गरे । त्रिचन्द्रबाट आइए, पटना कलेजबाट बिए, बेलायतको एडनबरा विश्वविद्यालयबाट भौगोलिक अन्वेषणमा डाक्टरेट डिग्री लिए ।
कहाँको लमजुङको विकट गाउँ, कहाँको बेलायत ! उनी आफैले लेखेका छन्,‘ कहिलेकाहीं आफ्नो जीवनयात्रा केलाउँदा आफैँलाई हाँसो उठ्थ्यो, नौ वर्षको उमेरसम्म बाह्रपोखरी लेकमा भेँडा चराउने गुरुङ ठिटो बेलायतमा गुरु भएकोमा ।’उतै पढाउने मेसो मिलेकै थियो, चाहेको भए, हर्कले त्यतै घरजम गरेर सुखको जीवन जिउन सक्थे । तर, उनी नेपाल फर्के ।
यी भूगोल तथा योजनाविद् नेपाल आएपछि योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भए । २०३३ साल भदौ १७ गते डा.तुलसी गिरीको नेतृत्वमा बनेको सरकारमा उनी उद्योग, वाणिज्य र शिक्षा राज्यमन्त्री अनि २०३४ सालमा पर्यटन राज्यमन्त्री बने । देशदर्शनमा हिँडे अनि विकासका खाका कोरे । उनी जहाँ पुग्थे, त्यहाँको जानकारी डायरीमा टिप्थे । विकासका सम्भावनाहरु खोज्थे अनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ लागिहाल्थे ।
हुन त, तेजिला हर्कलाई पञ्चायतले उपयोग गरेको मान्नेहरु कमी छैन । विदेशका पढेका हर्कसँगै भेषबहादुर थापा, मोहनमान सैंजुजस्ता व्यक्तित्वहरुलाई विशेष अवसर दिएर राजा महेन्द्रले आफूलाई विकासप्रेमी देखाउन खोजेको उनीहरुको तर्क छ । पञ्चायतमा योजना आयोगको उपाध्यक्ष, मन्त्री हुँदा पनि डाक्टर हर्क त्यसमै लुटुपुटिएनन् । मैले देखेको नेपाल पुस्तकका सर्जक हर्क अन्तिम क्षणसम्म पनि संरक्षण र समतावादी विकासको पक्षधर रहँदै आए । हेपिएका, थिचिएका अनि जातीय र भौगोलिक रुपले पछि पारिएकाहरुको आवाज मुखरित गरिरहे । हो, संरक्षणमा उनको विशेष लगाव थियो, त्यही लगावले तानिएर उनी विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिन पुगेका थिए । हिमाल बुक्सबाट उनको मृत्युपछि प्रकाशित एउटा यात्रा संस्मरणमा बेलायतमा आफ्नी प्रेमिका त्रिससँग छुट्टिँदाको प्रसंगमा हर्क गुरुङले भनेका रहेछन्,‘‘बिदाइका बेला क्रिसले मलाई एउटा पोको थमाउँदै भनी— हर्क, यो मैले बुनेको स्विटर हिमाल चढ्दा लगाउनू । किनभने, हिउँमाथि आफ्नो चिहान तुल्याउने आफ्नो अभिलाषा उसलाई मैले धेरै खेप प्रकट गरिसकेको थिएँ ।’आखिर भयो त्यस्तै ! हिमालसँग उनको अग्घोरै माया थियो । विकास र पर्यावरणको तादाम्यता हुनुपर्ने धारणाका प्रवर्तक डाक्टर गुृरुङ अन्ततः २०६३ साल असोज ७ गते संरक्षणमा काम गर्नै अन्य २३ जनासँगै ताप्लेजुङको घुन्सा, फलेडाँडामा हिउँमै बिलाए । समग्रमा होँचो कदका हर्क,औषत मान्छेभन्दा अग्ला थिए, विचारमा सुस्पष्ट थिए । उनी स्वप्नद्रष्टा,अभियन्ता, विकासका भोका सबै थिए अनि समग्रमा गण्डकीका सुयोग्य धर्तीपुत्र थिए ।





