बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिपत्ती अघि र पछिको व्यवस्थापन

बिपत्ती अघि र पछिको व्यवस्थापन


  • Dhorpatan News
  • भाद्र २३ २०७७, मंगलबार

ढोरपाटन नगरपालिका वड नं. ९ मा बुधवार राती भिषण बाढीपहिरो गयो । त्यसले १७ जनाको ज्यान लिएको छ । २१ जना बेपत्ता छन् । १३० घरहरु भत्केका छन् । सडक क्षतविक्षत भएको छ । पशुबस्तुको क्षति बिवरणको कुनै लेखाजोखानै छैन । महाभयानक बिपत्तीले ढोरपाटनबासी अहिले आहत छन् । उनीहरु मध्ये कसैका परिवारै सखाप भएका छन् भने कतिपयका घरमा एकदुइजना मात्रै बाँचेका छन् ।
खानेबस्ने, जीवन गुजारा गर्ने जटिल परिस्थिति त्यहाँका मानिसमा आइपरेको छ । घर छैन भनेर बनाउने खर्च कताबाट ल्याउने ? परिवार छैनन् खोजी कता गर्ने ? तत्कालको गास र कपासको व्यवस्थापन कताबाट गर्ने ? यस्ता धेरै समस्या उनीहरुमाझ बल्झेका छन् । खोजी उद्दारमा प्रहरी, सेना लगायतले साथ दिएको छ । तर दुइचारदिन राहत लिएर आउने मानिस र उद्दारमा खटिएका देख्दा उनीहरुले सबै आफ्ना छन् भन्ने सोच्छन्, जव बिस्तारै खोजी सकिन्छ, राहतका पोका घट्दै जान्छन् त्यसपछि उनीहरुको पिडा बुझिदिने कोही हुँदैन । अर्थात बाढीपहिरो र असुरक्षित बस्तीलाई सुरक्षित बनाउने बिषयको आबाज कमजोर बन्दै जान्छ । तीन बर्ष अघि पनि अधिकारीचौर तर्फ ठूलो बाढीपहिरो आएको थियो । उक्त घटनामा समयमै फोन मार्फत सूचना दिएकोले ठूलो मानवीय क्षति भएन । तर भौतिक क्षति भने त्यतिबेलापनि ठूलो भएको थियो ।
अहिले पनि अचानक आएको बाढीपहिरोले ठूलो धनजनको क्षति गरेको छ । त्यसको यकिन तथ्यांक, क्षतिको बिवरण आउन धेरै समय लाग्ने निश्चित छ । तर क्षति भौतिक रुपमा देखिएको मात्र होइन । बरु दिर्घकालिन रुपमा ती बाँचेका परिवार, त्यो क्षेत्रमा थप बस्ती बिकास गर्ने वा नगर्ने, गर्ने भए कुन मापदण्डमा गर्ने, त्यसकालागि कसले साथ दिने लगायतका थुप्रै प्रश्नहरु आउन थालेका छन् । ती प्रश्नको समाधान गर्ने कसले हो भन्ने अहिले सम्म पत्तो छैन । बरु केही बर्ष अघिदेखिनै खतरा औल्याएरपनि समस्या समाधानमा चासो नदिएकोले घटना भएको चर्चा सुरु भैसकेको छ ।
ढोरपाटन पहिरो मात्र हैन, यो बर्षातका सिन्धुपाल्चोक, म्याग्दी र अन्य क्षेत्रका पहिरोले पनि राज्यसत्तालाई व्यवस्थित बस्ती बिकास, भुकम्पपछिका समस्या समाधानमा घचघच्याउनुपर्ने देखिन्छ । तर पुन निर्माण लगायतमा खर्चेको अर्बौ रकमको औचित्य पनि समाप्त हुने, समस्या ज्यूँकात्युँ हुने खतरापनि बढेर गएको छ । स्थानीय सरकारहरु मनोमानी ढंगले डोजर लगाएर सडक खन्दैछन् । जनताको जीउधनको सुरक्षामा एकरुपैयाँ लगानी गर्दैनन् । यो बिपत्तीको ऋखला नियमित बनाउने काममा प्राकृतिक समस्याको भन्दा मानवीय त्रुटी, लापरबाही र बेवास्तानै प्रमुख जिम्मेवार बन्दै गएको छ । यो बिषयमा अब गम्भिर बन्नैपर्छ ।
हरेक बर्ष बाढी पहिरोले मृत्यु भएका, अपांग भएका, बिस्थापित, घरबारबिहिन, अनाथहरुको संख्या र त्यसको सामाजिक आर्थिक मूल्य अब देशको सबै सम्पत्तीभन्दा बढी भैसकेको छ । हरेक बर्ष यस्ता सामाजिक मूल्यको भार बढीरहेको छ । त्यसतर्फ समयमै सोच्ने बेला भएको छ । अध्ययन गरिएका कैयौ फाइलहरु दरामा थन्क्याएको परिणामपनि यस्ता पहिरोको कारण भएको बताइन्छ । त्यसकालागि सरकारले चासो दिने दिन कहिले आउँछ भन्ने यक्ष प्रश्नलिएर पिडितहरु बसीरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->