बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्राकृतिक विपत्ति कि संरचनागत हिंसा ?

प्राकृतिक विपत्ति कि संरचनागत हिंसा ?


  • Dhorpatan News
  • भाद्र २५ २०७७, बिहिबार

‘हिजो नि उस्तै आज नि उस्तै, भोलि के हुनी हो
न दिन राम्रो न साँझ हाम्रो, कतिन्जेल रुनी हो…’
चरी लैजा समाचार, हामी भयौं बेघरबार….
कवि संगीत स्रोताको गीतमा जस्तै ढोरपाटनको भुजिखोला किनारका बासिन्दालाई बाढी पहिरोको डरले कहिल्यै छोडेन । सम्भावित विपत्तिलाई अनदेखा गर्दै उनीहरु खोलाको सुसाइ सुनेर बस्न बाध्य भए । जाउन पनि कहाँ जाउँन् ? हुने हार, दैव नटार भनेजस्तै एक दिन खोला सोहोरिएर आयो । बाढीपहिरोले पुरिएका २१ जनाको शव भेटियो । १७ जनालाई कता दम्पच बनाएको छ थाहा छैन ।
ढोरपाटनमा ज्यान गुमाउने र वेपत्ता हुने दलित र जनजाति समुदायका छन् । गण्डकी प्रदेशका म्याग्दी, कास्की, तनहुँ लगायत जिल्लामा यो मनसुनमा आएको बाढीपहिरोबाट ज्यान गुमाउनको आँकडा हेर्ने हो भने दलित र जनजातिकै सख्या धेरै छ । अन्य प्रदेशमा आएका बाढीपहिरोमा ज्यान गुमाउने र वेपत्ता हुनेको तथ्यांक लगभग उस्तै हो । तराईको बाढीमा बग्ने मधेशी दलितकै संख्या धेरै हुन्छ । ज्यालामजदुरी, खेतीकिसानी गरेर हातमुख जोर्दै आएकाहरु विपतमा परेपछि जीवनयापत झनै कठिन बनेको छ ।
कमजोर आर्थिक अवस्था र सामाजिक हैसियतका कारण डाँडापाखा, खोला किनार, पहिरोको मुनि बस्नुपर्ने उनीहरुको बाध्यता छ । पीडित सबैतिरबाट पीडित छन् । जो कमजोर छ, उसैमाथि प्राकृतिक प्रकोप पर्छ । जहाँ साह्रो, त्यही गाह्रो भनेजस्तै छ । राज्यले समेत शक्तिशाली व्यक्ति बसोबास गर्ने सहर, राजधानीमा मात्रै ध्यान दिँदा हरेक वर्ष विपत दोहोरिने गरेको छ । विपत आइपरेपछि पीडितको व्यवस्थापनमा हुने ढिलासुस्तीको अवस्था झन् कहालिलाग्दो छ । स्थानीय तहको मात्रै क्षमताले नभ्याउने ठाउँमा संघ र प्रदेश सरकारको आँखा पर्दैन । न त बेलैमा राहत नै पुग्छ, न त राहत पु¥याउँने बाटाघाटा नै समयमा बन्छन् । संघका गृहमन्त्री र प्रदेशका मुख्यमन्त्री हेलिकप्टर चढेर घटनास्थलसम्म त पुग्छन् तर उनीहरु फर्किनासाथ पीडितले के खाने, के लाउने, कहाँ बस्ने भन्ने चिन्ता सुरु भइसक्छ ।
समाजमा शोषित, पीडितमाथि नै प्राकृतिक विपतमा पर्नु संरचनागत हिंसा नै हो । यति ठूलो मानवीय क्षति नितान्त प्राकृतिक विपत्तिका कारण मात्रै हुनै सक्दैन । सरकारले पहुँचवालालाई मात्रै ध्यान दिने र कमजोर सधैं कमजोर भइरहने संरचनागत कुचक्र तोड्न दीर्घकालिन समस्या समाधानका उपाय अपनाउनुपर्ने देखिन्छ । होइन भने दुरदराजमा बसेका ती गरिबले संगीत स्रोताको गीतमा जस्तै शासकलाई सधैं प्रश्न गरिरहने छन् :
‘सुखी ज्यानलाई कस्तो छ ?
यता पहिरो पसेर
फेरि हामी दुःखीकै
खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार, हामी भयौं बेघरबार ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->