लटरम्म फलेको स्याउ, राता दाना सबैको रोजाइमा पर्ने । रूखैमा खरिद गर्न आइपुगेका व्यापारीले समेत रोजेको मात्रै लान्थे । मुस्ताङको मार्फामा फलेको स्याउ बजारमा जति चर्चित छ त्यो सबै रोजेका दाना हुन् ।
वर्षमा एकपटक फसल लिन मिल्ने रूखका लागि किसानले कोपिलादेखि फलको ठेट्ना झर्नेबेलासम्म निकै मिहिनेत गर्नुपर्छ । वर्षभरि मिहिनेत गरेको स्याउको रूख अर्को वर्ष फल्नका लागि रूख निखार्नुपर्छ । रोजेका दाना त बजार जान्थे, तर छोडेका के गर्ने ?
२०२३ सालमा लगाएको पहिलो बिरुवाले ०२७ सालमा पहिलो उत्पादन दियो । पहिलोपटक स्याउको स्वाद पाएका मुस्ताङीले बारीभरि स्याउ लगाए । दश वर्षकै अन्तरमा आफूले खाएर बेच्न मिल्ने स्याउ त फल्यो, सबै बिक्री भने भएन ।
रंग नमिलेको, केही दाग लागेको, रोगहरूको सिकार बनेर चाम्रिएका तथा स्वाद कम भएका स्याउ पनि किसानका बगानमा फले । रोजेको स्याउले मात्रै किसानको दुःख उठ्दैन । रूखमा फलेको स्याउ सबै सदुपयोग हुँदा मात्रै किसानले मुनाफा आर्जन गर्थे । कैयौँ वर्ष यहाँ रोजेर छाडेको स्याउ कालीमा बगाइयो । गाईगोठ र खर्कका छेउछाउमा पुरिए । कामै नदिएका स्याउ त्यहीँका बिरुवाका लागि मल बने ।
फापर, जौलगायतका उब्जनीबाट घरेलु मदिरा उत्पादन गर्न यहाँको थकाली समुदाय माहिर नै थियो । स्याउबाट पनि मदिराजन्य वस्तु उत्पादन गर्न सकिन्छ भन्ने पत्तो थकाली समुदायले पायो । मुस्ताङे स्याउ अब फलमा मात्र सीमित छैन । यो बोतलमा जुस र रक्सीमा परिणत भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ह्विस्की, ब्रान्डी, वाइन बनेर स्याउ फैलिएको छ । मुस्ताङे स्याउको सबैभन्दा धेरै लोकप्रिय ब्रान्डी हो । ३३ वर्षअघि तिनै रोजा लिने र काम नलाग्ने छाडेका स्याउको सदुपयोग गर्ने विधि अपनाउने विष्णुराज हिराचन भन्छन्– ‘स्याउलाई स्थानीय प्रविधिकै प्रयोग गरेर ब्रान्डी बनाए । स्याउको मदिरा बनाउँदा काम नलाग्ने भनेर छाडेका दाना सदुपयोग भए ।’
हिराचनले थालेको अभियानमा अहिले ६ वटा कम्पनी जोडिएका छन् । कानुनी प्रक्रिया पूरा गरेका यी घरेलु उद्योगहरूले स्याउको ब्रान्डी, सुकुटी, जुस र वाइन उत्पादन गर्छन् । मार्फा र जोमसोममा रहेका घरेलु प्रविधिका यी कम्पनीहरूले स्थानीय स्वादकै ब्रान्डी उत्पादन गर्छन् ।
यहाँको मार्फा ब्रान्डी नेपालका सानादेखि ठूला सहरहरूमा लोकप्रिय छ । मुस्ताङको स्याउ र मुस्ताङसँग ब्रान्डी जोडिएको छ । जिल्लाको परिचयमा ब्रान्डीले थप सहयोग गरेको मात्रै छैन किसान र उत्पादक दुवैलाई आम्दानीसँग जोडेको छ । यहाँ ब्रान्डी उत्पादन गर्ने कम्पनीमा २० देखि २२ जना मजदुर तथा प्राविधिक जनशक्तिले काम पाएका छन् । रोजगारी र उत्पादन दुवैसँगै जोडिएकोे स्थानीय ब्रान्डी उत्पादक चन्द्र थकाली बताउँछन् ।
……….
यहाँको मार्फा ब्रान्डी स्याउकै स्वादको अर्गानिक हो । व्यवसायीका अनुसार, स्थानीय प्रविधिको प्रयोग हुने भएकाले यसमा केमिकलको प्रयोग हुँदैन । स्याउकै प्रयोगमा निर्भर ब्रान्डीको बजारीकरण देशभर भएको छ ।
एकाध विदेशमा समेत ब्रान्डी पुग्छ । साना–ठूला सबै मदिरा उत्पादकहरूलाई लगाउने एकैखालको करका कारण उत्पादककर्ता भने मर्कामा छन् । विदेशी ब्रान्डीभन्दा मुस्ताङको खोजी हुने बजारहरूमा यसको व्यावसायिकतामा आधारित सहयोगको अपेक्षा व्यवसायी गर्छन् ।
एक लिटर मुस्ताङको मार्फा ब्रान्डीलाई स्थानीय बजारमा ७ सय ५० रुपैयाँ पर्छ । काठमाडौं, पोखरालगायतका सहरमा पुग्दा यसको मूल्य १ हजार ५ सयदेखि २ हजारसम्म प्रतिलिटरमा बिक्री हुने गरेको छ ।
किसान र उत्पादकलाई सरल विधि बनाएर उत्पादनमा जोड्ने र त्यसबाट हुने राजस्वको उचित प्रयोग गर्ने हो भने गण्डकी प्रदेशको गतिलो ब्रान्ड मार्फा बन्न सक्छ । यसमा गण्डकी प्रदेश सरकारको ध्यान पुग्नैपर्दछ । मार्फा ब्रान्ड उत्पादनसँग जोडिएको गण्डकीको ब्रान्ड हो ।
तस्विरः सुन्दर कुमार थकाली






